पोखरा, मुग्लिन–नारायणगढ सडकखण्डको तुईनखोलामा आएको पहिरोका कारण मुग्लिंग- नारायणगढ सडक मात्र नभएर पोखराबाट काठमाडौँजाने पृथ्वीराजमार्ग समेत करिब पूर्ण अबरुद्ध बनेको छ। पहिरोका कारण मुग्लिंग – नारायणगढ सडक खण्ड शुक्रबार बेलुकादेखि अर्थात करिब ४० घण्टा देखि अबरुद्ध छ भने पोखरा -काठमाडौँ अर्थात पृथ्वीराजमार्ग पनि शनिबार बिहान अर्थात् करिब २४ घण्टा देखि अबरुद्ध छ ।

शनिबार बिहान पोखराबाट काठमाडौँको लागि पर्यटक बसमा हिंडेका शिसुकला पराजुली लगायतका हजारौं यात्रु मुग्लिंग नपुग्दै सडकमा रात बिताउन बाध्य भए ।’नारायणगढ तर्फ त पहिरो गएकोले सडक अबरुद्ध बन्यो, तर मुग्लिंग – काठमाडौँ सडकमा पहिरो नभएपनि २४ घण्टा बढी सडक अबरुद्ध बनेको छ। सडक खुलाउने तर्फ सरकारको कुनै संयन्त्रको पहल देखिएको छैन’।’
पराजुलीले आइतबार बिहान गुरुकुल खबरसंग कुरा गर्दै भनिन “पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि अवरुद्ध भएको सडक त बन्द हुने नै भयो तर सवारीसाधनको कारण जाम भएको सडक खुलाउन नसक्दा पृथ्वीराजमार्ग समेत अबरुद्ध बन्न पुगेको कारण २४ घण्टा देखि सडकमा हजारौं यात्रुहरु अलपत्र बन्नुपरेको छ।”

मुग्लिंग – नारायणगढ सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको छ । पहिरो पन्छाउन प्रयास गरिएको भएपनि रातिको समयमा भने रोकिएको सडक डिभिजन भरतपुरले जनाएको छ । बिहानदेखि बेलुकासम्म पहिरो पन्छाउन टोली खटिए पनि सफल हुन नसकेको र ढुंगा खस्ने क्रम निरन्तर भइरहेकाले निर्बाध रूपमा पहिरो हटाउन समस्या भएको सडक डिभिजनले जनाएको छ ।
आइतबार पनि बिहानदेखि पहिरो पन्छाउने कार्य थालिएको छ । ढुंगा झर्ने क्रम अझै नरोकिएको सडक डिभिजनले जनाएको छ । “ढुंगा झर्ने क्रम अझसम्म पनि रोकिएको छैन । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढतर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुचारु भइसकेको जानकारी गराउँछौँ,” सडक डिभिजनले आइतबार जारी गरेको सूचनामा भनिएको छ, “थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन कटिबद्ध रहेका छौँ ।”
पहिरो हटाएर आज बिहान १०/११ बजेसम्म बाटो खुलाउन सकिने प्रारम्भिक अनुमान छ । “पहिरो झर्ने क्रम रोकियो भने भोलि (आज) बिहान १०/११ बजेसम्म बाटो खुलाउन सकिने प्रारम्भिक अनुमान गरेका छौँ,” सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले शनिबार भनेका थिए ।

सडक अवरुद्ध हुँदा यात्रु बीचबाटोमा अलपत्र परेका छन् । सयौँको संख्यामा सवारीसाधन उक्त स्थान आसपास क्षेत्रमा रोकिएका छन् । त्यो सडक भएर दैनिक हजारौँ सवारीसाधन ओहरदोहर गर्ने गरेका छन् । त्यसको वैकल्पिक सडक त छन्, तर निकै साँघुरा र लामो दूरी पार गर्नुपर्ने हुन्छ ।
संघीय राजधानी काठमाडौंलगायत स्थानबाट पूर्व–पश्चिम राजमार्गसम्म पुग्ने यो प्रमुख सडक हो । अधिकांश मालवाहक सवारीसाधन यही बाटो भएर काठमाडौं प्रवेश गर्छन् । बर्खाको समयमा उक्त सडकमा पहिरोका कारण बेलाबेला समस्या हुने गरेको छ । तुइन खोला पुल नजिकै यो वर्ष पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
सम्बन्धित समाचार..
मुग्लिंग-नारायणगढ सडकमा पहिरो: पृथ्वीराजमार्गमा सैयौं सवारी साधन र हजारौं यात्रु अलपत्र
मुग्लिंग- नारायणगढ सडक खण्डको तुईनखोलामा निरन्तर पहिरो, शनिबार सडक खुल्ने सम्भावना कम
दशैंको आगमनसंगै यात्रुबाहक सवारी साधनको लागि सोमबारदेखि रुट परमिट खुला














