पोखरा, लेखनाथका उधोगी व्यवसायीको साझा र छाता संस्थाको रुपमा रहेको लेखनाथ उद्योग बाणिज्य संघको निर्बाचन आउन अब एक साता मात्र बाँकी छ। चुनाबको दिन नजिकिंदै जाँदा नयाँ कार्यसमितिको लागि उमेदवारी दिएका हरु मतदाता ब्यबसायीहरुको घरदैलोमा मत माग्दै पुग्ने क्रम जारी छ। निर्बाचनमा मतदाता समक्ष पुग्दा उमेदवारहरुले विभिन्न प्रतिबद्दता समेत सार्बजनिक गरेका छन। यहि भदौ २० र २१ गते हुने संघको २९ औं साधारण सभा एबम १५ औं अधिबेशनमा संघका दुई हजार भन्दा बढी सदस्यहरु मतदाताको रुपमा रहेका छन ।

यसैक्रममा संघको निर्बाचनमा अध्यक्षको उमेदवार जानुका पराजुली अधिकारी नेतृत्वमा रहेको प्यानलले बिहिबार लेखनाथमा एक पत्रकार सम्मेलनको आयोजना गरि आंफ्नो समुहको २३ बुंदे प्रतिद्दता सार्बजनिक गरेको छ। प्रतिबद्दता सार्बजनिक गर्ने आयोजित समारोहमा अध्यक्ष पराजुली सहित सबै पदका उमेदवारहरु र संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र निबर्तमान अध्य्यक्ष छत्रधर आत्रेय समेत सहभागी थिए। संघको यसपटकको निर्बाचनमा संघका पुर्ब अध्यक्षहरु मध्ये अधिकांश पुर्ब अध्यक्षहरुको समर्थन जानुकाको प्यानलमा रहेको बताइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदका उमेद्वार पराजुलीले संघको स्थापनाकाल देखि अग्रजहरुले संस्थालाई अगाडी बढाउन महत्वपुर्ण योगदान गरेकोकारण संस्थाले राष्ट्रिय एबम अन्तराष्ट्रियस्तरमा समेत प्रतिष्ठा आर्जन गर्न सफल भएको बताईन। उनले संस्थालाई विधिसम्मत ढंगले संचालन गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्दै आफ्नो प्यानलले गरेका प्रतिबद्दता पुरा गर्नको लागि सक्षम साथीहरु उमेदवारको रुपमा रहेकोले सबैलाई बिजयी गराउन मतदाता समक्ष आग्रह गरिन।

अध्यक्ष पदमा संघको बर्तमान महासचिब जानुका पराजुली अधिकारी र बर्तमान बरिष्ठ उपाध्य्क्ष राजेन्द्र ओझाको बिचमा प्रतिष्पर्धा हुँदैछ। अध्यक्ष पदमा उमेद्वारी दिएका दुबैजनाले आआफ्नो नेतृत्वमा कार्यसमितिको पदाधिकारी एबम सदस्यहरुमा उमेदवार तयार गरेर चुनाबी अभियानलाई तिब्रता दिएका छन।
जानुका र राजेन्द्र दुवै जना लेखनाथ उद्योग बाणिज्य संघको सदस्यमा एकै समयमा प्रवेश गरेका हुन जानुका महिला सदस्यबाट र राजेन्द्र खुला सदस्यबाट कार्यसमितिमा भित्रिएकोमा त्यसपछिको समयमा जानुकाले कोषाध्यक्ष र उपमहासचिब र महासचिब हुँदै अहिले अध्यक्षको प्रतिष्पर्धामा उत्रिएकी छन भने राजेन्द्र पनि कोषाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष भएर अहिले अध्यक्षको प्रतिष्पर्धामा उत्रिएका हुन। राजेन्द्र ओझालाई नेकपा एमालेको निकट र जानुकालाई नेपाली काँग्रेसको निकट रहेको मानिन्छ। सोहि अनुरुप राजेन्द्रको प्यानलमा नेकपा एमाले समर्थकहरुको बाहुल्यता रहेको छ भने जानुकाको प्यानलमा कांग्रेस र माओबादी समर्थक ब्यबसायीहरुको बाहुल्यता छ माओबादी निकट मानिने गोपिचन्द्र बाँस्तोला जानुकाको प्यानलमा बरिष्ठ उपाध्यक्षको उमेदवार छन ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उमेदवार जानुकाले स्थापनाको तीन दशक नजिक पुगेको लेखनाथ उद्योग वाणिज्य संघले यस क्षेत्रका उद्योगी र व्यवसायीहरुका बिचमा थुप्रै राम्रा कामहरुको शुरुवात गर्दै, नेपालकै उत्कृष्ट “क” वर्गको उद्योग वाणिज्य संघको रुपमा स्थापित भएको भन्दै संस्थाको गरिमालाई उच्च राख्न महत्वपूर्ण भूमिका खेल्ने, स्थापनाकालका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यदेखि हालसम्मका अग्रज एवम् सम्पूर्ण उद्योगी व्यवसायीहरु प्रति आभार प्रकट गरेकी थिईन।
लेखनाथ उद्योग वाणिज्य संघमा रुपा, मादी र साविक लेखनाथका सम्पूर्ण व्यवसायीहरुलाई एउटै छाता मुनी अट्न सक्ने गरी दायरा र वातावरण सिर्जना गर्नुपर्ने आँफुहरुको मान्यता रहेको भन्दै उनले व्यवसाय र व्यवसायीसामु आइपर्ने समस्याको समाधानका लागि एकता र आत्मविश्वासको आवश्यकता पर्ने र त्यसका लागि अनुभवी, बौद्धिक एबम परिपक्क समावेशी नेतृत्व आबश्यक भएको उनले स्पष्ट पारिन।
‘हामी विकासका कुरा गर्दैनौ, हामी नीतिका कुरा गछौं, हामी समस्या देखाउँदैनौं समाधान खोज्छौं । हामी सरोकारवालासँग समन्वय गर्छौं र संभावनाका आधारहरु खोज्दछौं र त्यही आधारबाट उद्यमशीलता र रोजगारी सिर्जनाका योजना वुन्दछौं ।’ पराजुलीले पत्रकार सम्मेलनमा भनिन। कहिलेकाहीं समस्याले अवसर र चुनौतीसँगै लिएर आएको हुन्छ र कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने जस्तै अहिले अर्थतन्त्रका केही सूचकहरुमा सुधार हुँदै आएको उनले बताईन। पत्रकार सम्मेलनमा लेखनाथका उद्योगी ब्यबसायिहरु समेत सहभागी थिए ।

जानुकाको प्यानलले अगाडी सारेका २३ बुंदे प्रतिबद्दताहरुमा संघमा आवद्ध ८ बस्तुगत, ५० एशोसियट र १९६१ साधारण सदस्य गरि जम्मा २०१९ सदस्यहरुको विद्युतीय तथ्याङ्क प्रणालीबाट पुरा विवरण सहितको अभिलेखीकरण गरिने, संघका सदस्यहरुको डिजिटल परिचयपत्र (प्रविधि मैत्री) लागु गरी नवीकरण गरिने, उद्यमशीलता र स्वरोजगारका लागि तिनै तहका सरकारसँग समन्वय गरी तालिमहरु सञ्चालन गरिने, परियोजना तयारी सहायता कक्षको व्यवस्थापन गरी व्यवसाय र उद्यमशीलता प्रबर्द्दन गरिने, साना तथा स्वरोजगार हुने लघु व्यवसाय र उद्यमशीलताका लागि स्थानीय पालिकाहरुसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिने जस्ता कुरा उल्लेख छन।
यसैगरी, स्थानीय उत्पादनलाई जोड दिदै लेखनाथलाई उत्पादनमूलक क्षेत्रको रुपमा विकास गरी ‘मेड ईन नेपाल’ अवधारणालाई प्राथमिकता दिईने, स्थानीय कृषकहरुले उत्पादन गरेका सामग्रीहरुको ब्राण्डिङ, प्याकेजिङ र प्रचारप्रसार कार्यक्रम मार्फत उत्पादनलाई बजारीकरणमा सहयोग गरिने, सिप र दक्षता भएका व्यक्ति र रोजगारदाताको अभिलेख तयार गरी सेवा प्रदान गर्ने र सिप तथा रोजगार बैंकको स्थापना गरिने, नयाँ व्यवसायी र उद्यमीहरुको विकासका लागि आईडिया बैंकको स्थापना गरी परियोजना तयार गर्न सहयोग गरिने, सरकारका निकायमा दर्ता भै कारोबार गरेका डिजिटल बजारलाई व्यवस्थित गरी संघमा आवद्धता गरिने पनि प्रतिबद्दता पत्रमा उल्लेख गरिएको छ।
गैरकानूनी रुपमा संचालनमा रहेका पोके तथा फुटपाथ व्यापारीलाई निरुत्साहित गरिने, संघले लामो समय देखि सञ्चालन गर्दै आएको लेखनाथ महोत्सवलाई परिमार्जित र व्यवस्थित गरी स्थानीय व्यवसायीहरुलाई आफ्नो वस्तु तथा सेवा र उत्पादनको बजारीकरणका लागि प्रोत्साहन गरिने, स्थानीय सामग्रीको प्रयोग गरी उत्पादन गरिएका हस्तकलाका सामग्रीमार्फत लेखनाथ उद्योग वाणिज्य संघको पहिचानलाई जोड्ने गरी कोसेली घरको व्यवस्थापन गरिने, पोखरा म.न.पा.–३३ र शुक्लागण्डकी न.पा.–०९ मा अवस्थित पूँडिटार प्रदेश औधोघिक क्षेत्रको निर्माणका लागि भौतिक पूर्वाधार तयार गरी सुरु गर्न तिनै तहका सरकारसँग समन्वय गरिने जस्ता प्रतिबद्दता पनि जानुकाको प्यानलले अगाडी सारेको छ।
व्यवसाय मैत्री कर नीति र लगानीका संभावनाका बारेमा तिनै तहका सरकार र व्यवसायीहरुका बिचमा विशेष कार्यक्रम संचालन गरिने, लेखनाथमा संभावनाको रुपमा रहेको पर्यटन व्यवसाय सञ्चालनकालागि लगानीकर्ता र स्थानीय श्रोत साधनको प्रयोगमा समन्वय गरिनेछ । साथै पर्यटनका संभावना भएका बेगनासताल लगायत सम्पूर्ण तालहरु र विभिन्न ठाँउमा रहेका कोटहरु तथा बेगनासतालमा रहेको वराहा मन्दिर लगाएत सम्पूर्ण ठाँउका मठ–मन्दिरहरु, पचभैयामा रहेको खुल्ला चिडिया खाना, गुफा, होमस्टेलाई डिजिटल माध्यमवाट प्रवद्धर्न गरिने कुरा पनि प्रतिबद्दतापत्रमा उल्लेख गरिएको छ।
संस्थामा आवद्ध भएका व्यवसायीलाई पर्ने समस्याका सामाधानका लागि तत्काल रेस्पोन्स गर्ने टिम तयार गरी परिचालन गरिने, सदस्यहरुलाई लगानी संभावनाको नयाँ क्षेत्र पहिचानका लागि आन्तरिक तथा बाह्य भ्रमणका लागि सहजीकरण गरिने, पृथ्वीराजमार्ग र स्थानीय मार्गमा भएको सडक विस्तारसँगै विस्थापित भएका व्यवसायीलाई नयाँ गन्तव्य पहिचान गरी स्थानीय सरकारसँग सहकार्य गरी पुनस्थापनाको लागि समन्वय गरिने पनि जानुकाको प्यानलको प्रतिबद्दतामा उल्लेख छ।
यसैगरी सात तालको बगैचा शहरका रुपमा चिनिएको लेखनाथका तालहरुलाई पिपिपि मोडेलमा नयाँ लगानीकर्ता भित्र्याई ताल अनुसारको साहसिक पर्यटन प्रर्वद्धनका कार्यक्रम संचालन गर्न महानगर र वडापालिकासँग समन्वय गरिने, अर्थतन्त्र, उद्यमशीलता, बजारीकरण र पूँजी निर्माण एवम् लगानीको संभावना र परियोजनाका लागि सार्क ट्यांक नेपालसँग समन्वय र छलफल गरीने, सरकारले राष्ट्रिय स्टार्टअप उद्यम नीति २०७९ लागु गरेकाले नवप्रर्वदक उद्यमीलाई पूँजी व्यवस्थापन र वस्तुको बजारीकरणमा समन्वय गरिने, सघंद्धारा गठित सम्पूर्ण उपसमिति हरुलाई संघको उद्धेश्य प्राप्तिका लागि सक्रिय बनाईने पनि उनीहरुको प्रतिबद्दता पत्रमा उल्लेख छ । पत्रकार सम्मेलनमा संघको बरिष्ठ उपाध्यक्षका उमेदवार गोपिचन्द्र बाँस्तोला र महासचिवका उमेदवार भरत राज ओझा लगायतले पनि आआफ्नो भनाई राखेका थिए ।
तस्बिर – तिर्थ केसी / पोखरा
सम्बन्धित समाचार ..
लेखनाथ उबासंघको अधिबेशन: जानुका नेतृत्वको प्यानलका उमेदवारको टुंगो, चुनाबी प्रचारमा तिब्रता
लेखनाथ उबासंघ: अध्यक्ष र महासचिबले जिल्ला अदालत र कास्की प्रहरीमा दिएको उजुरी फिर्ता लिने सहमति
लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन भदौ २० र २१ गते हुने, प्यानल बनाएर चुनाबी अभियान शुरु
लेखनाथ उद्योग बाणिज्य संघमा चुनाबी प्रतिष्पर्धा: ओझा प्यानलको प्रतिबद्दता र उमेदवारहरु सार्बजनिक
लेखनाथ उबासंघको अध्यक्षमा जानुका र राजेन्द्र भिड्ने : दुवैजना प्यानल निर्माणको गृहकार्यमा













