Play

गण्डकी प्रज्ञा-प्रतिष्ठानको १३ बुँदे कार्ययोजना: भाषा संरक्षणदेखि कला, साहित्य र संस्कृतिको प्रवर्द्धनमा जोड

गुरुकुल खबर


पोखरा, गण्डकी प्रज्ञा-प्रतिष्ठानले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानले भाषिक शुद्धता, साहित्य, लोकसंस्कृति, कला तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्षका लागि १३ शीर्षकमा विभिन्न कार्यक्रम अघि सारेको हो।

प्रतिष्ठानले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत कार्ययोजना सार्वजनिक गर्दै अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जानकारी दिएको हो। कार्यक्रममा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेले भावी पुस्ताले गर्व गर्न सक्ने काम गर्ने उद्देश्यसहित २४ जनाको समिति परिचालन गरिएको बताए। जनतामाझ विश्वसनीय ढङ्गले काम गर्न कार्ययोजना सहित अघि बढ्न लागिएको उनको भनाइ थियो।

प्रतिष्ठानले ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान अघि सारेपछि विभिन्न कोणबाट प्रश्न उठ्न थालेको उल्लेख गर्दै कुलपति न्यौपानेले ती प्रश्नलाई सुधारका लागि सान्दर्भिक रूपमा लिएको बताए। भाषिक त्रुटिका कारण सर्वसाधारणमा अन्योल सिर्जना भइरहेको अवस्थामा अभियानले धेरैलाई सचेत गराएको उनको भनाइ थियो।

प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार प्राज्ञ सभाको मंसिर ११ र १२ गते बसेको दशौँ बैठकले १३ शीर्षकका प्रस्तावित कार्यक्रम पारित गरेको हो। केही कार्यक्रम दीर्घकालीन र महत्वाकाङ्क्षी रहेकाले तिनको सफल कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने उनले बताए।

श्रेष्ठले प्रतिष्ठानले यसअघि सञ्चालन गर्दै आएका पुरस्कार, स्रष्टाको स्वास्थ्य बिमा, स्रष्टाको बायोग्राफी प्रकाशन लगायतका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए। प्रकाशन तथा अनुसन्धानका कार्यक्रम पनि प्राथमिकतामा रहेको उनले बताए। सार्वजनिक कार्ययोजनामा भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला, सङ्गीत, जग्गा प्राप्ति तथा निर्माण, डिजिटल र विविध गरी विभिन्न क्षेत्रका कार्यक्रम समेटिएका छन्।

भाषातर्फ शुद्ध बोल्ने र लेख्ने अभियान सञ्चालन गर्नुका साथै लोकभाषा तथा विभिन्न भाषिक समुदायका शब्दको अनुसन्धान, शब्दकोश निर्माण र भाषिक सम्पदाको अभिलेखीकरण गर्ने योजना छ। साहित्यतर्फ ‘स्मृतिमा स्रष्टा, धुनमा कविता’ कार्यक्रम, गण्डकी साहित्यको डिजिटल अभिलेखीकरण, सिर्जनात्मक लेखनसम्बन्धी गतिविधि, प्रतिभा प्रोत्साहन तथा पुस्तक लेखनमा अनुदान दिने कार्यक्रम समेटिएका छन्।

त्यसैगरी गण्डकीका लोकप्रतिभा पहिचान, लोकगीत तथा लोकभाकाको संकलन, लोककविता, लोककथा, लोकगाथा र उखान–टुक्काको अभिलेखीकरण गर्ने योजना प्रतिष्ठानले अघि सारेको छ। संस्कृतितर्फ किंवदन्ती तथा जनश्रुति संकलन, लोकमन्त्रहरु संकलन, होमस्टे संस्कृतिको दस्तावेजीकरण तथा विभिन्न जातजातिका सांस्कृतिक सम्पदाको सर्वेक्षण र पहिचान गर्ने कार्यक्रम छन्।

ललितकलातर्फ ‘रङमा लोमान्थाङ’ कार्यक्रम, ‘कला अङ्कुर अभियान’, प्रादेशिक ललितकला प्रदर्शनी तथा प्रयोगात्मक जलरङ चित्रकला र शिलालेख लेखनसम्बन्धी कार्यशाला सञ्चालन गर्ने योजना छ। कोमागाने पार्कलाई खुला आर्ट ग्यालरीका रूपमा विकास गर्ने पहलसमेत कार्ययोजनामा समेटिएको छ।

नाट्यकलातर्फ नाटक लेखन तथा निर्देशन कार्यशाला, विद्यालय रंगमञ्च अभियान र नाटकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रयास गरिने उल्लेख छ। संगीत विधामा गण्डकी प्रज्ञा संगीत स्टुडियो सञ्चालन, लोक तथा आधुनिक संगीत उत्सव, लोपोन्मुख लोकभाकाको संरक्षण, भाका पुस्तान्तरण र एकल तथा दोहोरी गीत संरक्षणका कार्यक्रम छन्।

यसका अतिरिक्त ‘गण्डकीका मौलिक नाच पर्यटकसँग’ र ‘गण्डकीका लोकतारा’ कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न नाचबारे कार्यशाला आयोजना गरिने कार्ययोजनामा उल्लेख छ। प्रतिष्ठानले आफ्नै भौतिक पूर्वाधार विकासलाई पनि कार्ययोजनामा समेटेको छ। डिजिटलतर्फ लोपोन्मुख संस्कृतिको डकुमेन्ट्री निर्माण, युट्युब वाङ्मयको विकास तथा संस्थाका गतिविधिलाई डिजिटल प्रविधिमा अभिलेखीकरण गर्ने कार्यक्रम छन्।

गण्डकीका लेखकद्वारा प्रकाशित पुस्तकको प्रवर्द्धन, उत्कृष्ट पुस्तकलाई ‘गण्डकी वर्ष पुस्तक’ घोषणा गरी पुरस्कृत गर्ने, विषयगत छलफल तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, महोत्सव, प्रदर्शनी र प्रतियोगिता आयोजना गर्ने योजना समेटिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र प्रतिष्ठानका उपकुलपति शंकर वीरही गुरुङले पनि पत्रकार सम्मेलनमा बोलेका थिए।

१३ मंसिर २०८३, आईतवार २२:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा