पोखरा, कास्की जिल्ला भित्र संचालनमा रहेका मन्टेश्वरीहरुको छाता संस्था मन्टेश्वरी एसोसिएसन कास्कीको ११औँ साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ । कास्की जिल्ला भित्र संचालित ३४ वटा मन्टेश्वरीहरुलाई आबद्ध गराएर मन्टेश्वरी एसोसिएसन कास्कीको स्थापना २०७२ सालमा गरिएको थियो।
हाल कास्की जिल्लाभित्र करिब ८० वटा मन्टेश्वरी संचालनमा रहेको र ति मन्टेश्वरीमा ३ बर्षदेखि करिब ११ बर्षको उमेरसम्मका करिब ५ हजार बिधार्थी अध्ययनरत रहेको भएपनि एसोसिएसनमा भने ५५ वटा मन्टेश्वरी स्कुलमात्र आबद्ध रहेका छन।
तत्कालिन अबस्थामा बिभिन्न मन्टेश्वरीका संचालकहरु अप्सरा अधिकारी, सावित्री थापा मोक्तान, रिता पौडेल, शर्मिला प्रधानांग, रितादेबी सुबेदी र बिमला बराल लगायतको पहलमा संस्थाको स्थापाना गरिएको संस्थाकी बर्तमान अध्यक्ष रिता पौडेल ऋतुले गुरुकुल खबरलाई जानकारी दिईन ।
एसोसिएसनको साधारण सभा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा. कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यता र पोखरा महानगर[पालिका अन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

साधारण सभाको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले मन्टेश्वरी शिक्षाको महत्व, प्रारम्भिक बालविकासमा यसको भूमिका, बालमैत्री शिक्षण पद्दति तथा गुणस्तरीय शिक्षाका लागि सरोकारवालाहरू बीचको सहकार्य लगायतका विषयमा आंफ्नो भनाई सहित बिभिन्न सुझाब दिएका थिए।
साधारण सभामा सहभागी एबम अतिथिहरुले ब्यक्त गरेका बिचार र सुझाबको कारण प्रारम्भिक बालशिक्षाको विकास, संस्थागत एकता, आपसी सहकार्य तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा थप ऊर्जा र योगदान पुग्ने अपेक्षा गरिएको एसोसिएसनकी अध्यक्ष रिता पौडेल ‘ऋतु’ ले गुरुकुल खबरलाई जानकारी दिईन।
मन्टेश्वरी एसोसिएसन कास्कीका अध्यक्ष ऋतु पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अरुणा शेरचन, निवर्तमान अध्यक्ष भवानी अधिकारी बराल, कार्यक्रम संयोजक रिना पौडेल सहित विभिन्न विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरू र संस्थाका पदाधिकारी एवं कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष रितादेबी सुबेदीले स्वागत मन्तब्य र संस्थाका सचिव अप्सरा अधिकारीले कार्यक्रम संचालन गरेको संस्थाले जनाएको छ।














