पोखरा, नवआदर्श सामुदायिक विकास समाज, लामाचौरको नयाँ कार्यसमितिको निर्बाचनबाट संस्थाको अध्यक्षमा सुशील केसी निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको ३० औं वार्षिक साधारणसभा तथा १६ औं अधिवेशनको क्रममा भएको निर्बाचनमा केसीले अध्यक्षका अर्का उमेदवार अर्जुन भण्डारीलाई ३२ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन ।
अध्यक्षमा निर्बाचित केसीले यस अगाडी कोषाध्यक्ष, सहसचिव र द्वितीय उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए । नयाँ कार्यसमितिको कार्यकाल दुई बर्षको रहेको छ। निर्बाचनमा २७७ मत खसेकोमा अध्यक्षमा बिजयी केसीले १५० र भण्डारीले ११८ मत पाएका थिए ।

संस्थाको प्रथम उपाध्यक्षमा हरिबहादुर थापालाई पराजित गर्दै शोभा बानियाँ बिजयी भइन् । बानियाँले १८० मत प्राप्त गर्दा थापाले ९० मत मात्र पाएका थिए । द्वितीय उपाध्यक्षमा विष्णुमाया बानियाँ, सचिवमा राजकुमार पौडेल, कोषाध्यक्ष निर्मल पौडेल, सहसचिव गीता भण्डारी, सह- कोषाध्यक्ष विकल सिजापति थापा मगरनिर्बिरोध निर्बाचित बनेका थिए ।
कार्यसमितिको सदस्यहरुमा शान्ता केसी, ई. सुजन आचार्य, बलराम थापा, राजकुमार केसी लाई चयन गरिएको र १५ सदस्यीय कार्यसमितिमा रिक्त चार जना सदस्य पछि मनोनीत गर्ने व्यवस्था छ । अधिवेशनका लागि वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्माको संयोजकत्वमा गठित निर्वाचन समितिका सदस्यमा केशवप्रसाद अचार्य र छवेन्द्रबहादुर थापालाई राखिएको थियो।
अधिबेशनको उद्घाटन समारोह संस्थाका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको थियो । पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरुले नव आदर्श बिकास समाजले सामुदायिक कार्यदेखि कला, संस्कृतिको संरक्षण, खेलकुद, शिक्षा र ज्येष्ठ नागरिकको हितमा अनुकरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । सोही अवसरमा संस्थाले प्रकाशन गरेको ‘नव आदर्श स्मारिका–२०८३’ विमोचन गरिएको थियो अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा २५ लाख बचत गर्न सफल भएको जानकारी गराए। कार्यक्रमको संचालन समाजकी सचिव शोभा बानियाँले गरेकी थिईन ।














