कतार, कतारमा सामाजिक क्षेत्रमा सक्रिय कास्की आदर्श समाज कतारले बडादसैँ तथा शुभदीपावलीको अवसर पारेर गृहजिल्ला कास्कीमा दोस्रो पटक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रक्तदान कार्यक्रमको प्रमुख अतिथि कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिब बानिया रहेको बुझिएको छ परिषद्को महाधिबेशनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको कास्की समाजका रामदास भुर्तेलले गुरुकुल खबरलाई जानकारी दिए
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् र कास्की आदर्श समाज नेपालसँगको समन्वयमा आगामी कात्तिक १३ गते शुक्रबार बिहान पोखराको चिप्लेढुङ्गास्थित मानव अधिकार चोकमा कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘तपाईंको एक थोपा रगत, कसैको जीवनको अमूल्य उपहार’ भन्ने नारासहित बिहान ८ बजेदेखि सञ्चालन हुने कार्यक्रममा सहभागी भई रक्तदान गर्न आदर्श समाज कतारले आग्रह समेत गरेको छ।
परोपकारी कार्यक्रमको अवसरमा समाजमा आबद्ध आजीवन सदस्यका छोराछोरीमध्ये २०८२ सालको एसएलसी परीक्षामा सहभागी तथा उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिने र उत्कृष्ट नतिजा हासिल गर्ने एक छात्र र एक छात्रालाई नगद पुरस्कारसहित विशेष सम्मान रहेको समाजका अध्यक्ष अमृत विश्वकर्माले जानकारी दिए ।
कास्की आदर्श समाज कतारले कतार तथा गृहजिल्ला कास्कीमा विभिन्न सामाजिक र परोपकारी गतिविधि सञ्चालन गर्दै आएको छ । समाजले विपद्मा परेकालाई सहयोग गर्नुका साथै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान र सामाजिक सद्भाव अभिवृद्धिका कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ ।













