पोखरा, नेपाली काँग्रेसको संस्थापन पक्षसंग नजिक मानिएका केहि केन्द्रिय सदस्यहरुको सोमबार काठमाडौँमा सम्पन्न भेलाले पार्टीको केन्द्रीय समितिको बैठकमा महाधिबेशनको प्रक्रिया सहित अन्य केहि बिषयमा छुट्टै प्रस्ताब लैजाने निर्णय गरेको छ ।
गत असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक चल्दै र स्थगित हुँदै आएको छ। शुक्रबार र आइतबार बस्ने भनिएको बैठक शुरु नै नभई स्थगित भएको र भोलि मंगलवारको लागि तय गरिएको छ। पटक पटक बैठक बोलाउने र बस्दै नबसिकन स्थगित गर्ने प्रवृतिका कारण केन्द्रीय समितिसमेत अनिर्णयको बन्दि बनेको भन्दै संस्थापन पक्षधर केन्द्रीय सदस्यहरुले सोमबार भेला गरेका हुन।
पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित सबै तहको कार्यकाल सकिन लागेको र यथाशिघ्र महाधिबेशन गर्नुपर्ने कुरालाई आत्मसात गर्दै आगामी पुष १५ गते भित्रमा क्रियाशील सदस्यताको नबिकरण एबम नयाँ सदस्यता वितरण कार्य सक्नुपर्नेमा भेलाले जोड दिएको छ ।
त्यसपछि वडा तह हुँदै पार्टीको बिभिन्न तहका कार्यसमितिको अधिबेशन सकेर र पार्टीको १५ औं राष्ट्रिय महाधिबेशन आगामी बैशाख महिनाको २५,२६,२७ र २८ गते अर्थात प्रतिनिधि सभाको निर्बाचन भन्दापछि गर्नेगरी भेलाले कार्यतालिका तयार गरेको बताइएको छ। सोहि कार्यतालिका लाई केन्द्रिय समितिको बैठकमा प्रस्तुत गरिने भेलाका सहभागी केन्द्रीय सदस्य गुरु बरालले गुरुकुल खबरलाई जानकारी दिए ।
भेलामा फागुन २१ को प्रतिनिधि सभा चुनाव अघि वा पछि महाधिवेशन गर्ने बारेमा फरक फरक धारणा आएको थियो। ‘फागुन २१ को प्रतिनिधि सभा चुनावमा जाने हो भने त्यसको तयारी गर्नुपर्छ, त्यसअघि राष्ट्रिय सभा चुनाव पनि छ,’ बरालले भने, ‘हामीले प्रतिनिधि सभा विघटन असंवैधानिक भनेका छौं तैपनि चुनावबाट भाग्न त सक्दैनौं, त्यसैले चुनावमा भाग लिने हो भने वैशाखमा महाधिवेशन गरौं भन्ने एउटा मत छ भने चुनावमा भाग नलिने हो भने पुसतिर पनि महाधिवेशन गर्न सकिन्छ भन्ने मत छ।’
उनले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन गर्नुपर्नेमा आफूहरू रहेको बताए। विशेष महाधिवेशनले केन्द्रीय समिति मात्रै परिवर्तन गर्ने तर नियमित महाधिवेशनले पार्टीका सबै तहको रूपान्तरण सम्भव रहेकोले पार्टीमा तल्लो तहबाट नै नयाँ उर्जा सहितको नेतृत्व आउने उनले बताए।

बिभिन्न जिल्लामा पार्टीको क्रियाशील सदस्यता सम्बन्धि बिबाद समेत रहेको र सदस्यताको वितरण एबम नबिकरणको क्रममा आउन सक्ने बिबादलाई निरुपण गर्न केन्द्रिय समितिले तत्काल क्रियाशील सदस्यता छानबिन समिति बनाउन र पार्टीको बिधानमा आबश्यकता अनुसारको संसोधन गर्नको लागि बिधान संसोधन समिति समेत तत्काल बनाउन पनि केन्द्रिय समितिको बैठकमा प्रस्ताब लैजाने निर्णय भेलाले गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने र केन्द्रीय समिति भित्र युवाको रुपमा चिनिन चाहने ७० भन्दा बढी केन्द्रीय सदस्यहरुको सहभागिता रहेको उक्त भेलाले फागुन २१ गते प्रतिनिधि सभाको निर्बाचन घोषणा भैसकेको कारण उक्त निर्बाचनमा भाग लिन र नेपाली काँग्रेसको पक्षमा माहौल बनाउनको लागी सबै तहको पार्टी पंक्तिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
पार्टीको तल्लो तहमा घरदैलो गरेर निर्वाचनको लागि जागरण अभियान संचालन गर्ने र संगठनलाई चुनाबको लागि तयारी अबस्थामा राख्नको लागि उपयुक्त बातावरण तयार गर्नुपर्ने निष्कर्ष भेलाले निकालेको पनि केन्द्रिय सदस्य बरालले बताए । पार्टीले चुनाबमा भाग नलिने भए पार्टीको महाधिबेशन आगामी पुष महिलाको अन्त्यसम्ममा गर्नुपर्ने बिषयमा भेलाका सहभागी केन्द्रीय सदस्यहरुले जोड दिएका बुझिएको छ ।
यसैगरी निर्बाचन आयोगमा प्रतिनिधिसभा तर्फ प्रत्यक्ष र समानुपातिक उमेद्वारको नामावली सिफारिस गर्ने र राष्ट्रिय सभाको आसन्न निर्बाचनको लागि उमेदवार सिफारिस समयमै गर्नुपर्नेमा पनि भेलाले जोड दिएको छ।
उमेदवार सिफारिस गर्दा पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरु वाहेक हालसम्म कुनै अवसर नपाएकाहरूलाई सिफारिस गरिनुपर्ने र केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिमा पनि यस अगाडी अवसर नपाएका युवाहरुमध्येबाट नै उचित प्रतिनिधित्व गराउनुपर्नेमा पनि संस्थापन पक्षका केन्द्रिय सदस्यहरु एकमत बनेको छन।
पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्का र दुईजना महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कारण केन्द्रीय समिति नै बन्धक बन्न पुगेको भन्दै भेलामा सहभागी केन्द्रिय सदस्य गुरु बरालले पार्टीको क्रियाशील सदस्यता टुंगो लगाएर सातवटा तहको अधिबेशन गर्न करिब ६ महिना लाग्ने बताए ।
केन्द्रीय समिति सहित अन्य समितिको कार्यकाल सकिन लाग्दा समेत पार्टीको क्रियाशील सदस्यता समेत टुंगिन नसक्नु दुर्भाग्यपूर्ण अबस्थाको रुपमा चित्रण गर्दै बरालले भने, “पदाधिकारीहरुले आंफुले पाएको जिम्मेवारी प्रभावकारी ढंगले पुरा गर्न नसक्दा अहिले जटिल समस्या उत्पन्न भएको हो। ”
उक्त भेलामा मिन बिश्वकर्मा, शंकर भण्डारी, नैनसिंह महर, पुष्पा भुषाल, जितजंग बस्नेत, राजिब ढुंगाना, कल्याणी रिजाल, शान्ति परियार, सरस्वति अर्याल तिवारी, शारदा पौडेल, चम्पा खड्का, सिता देबकोटा लगायतका केन्द्रिय सदस्यहरु सहभागि थिए।
सम्बन्धित समाचार..
महाधिबेशनको बिषयमा कांग्रेसमा अन्योल यथाबत, केन्द्रिय समितिको बैठक आजपनि, बिशेष भेला मंगलवार
कांग्रेसमा महाधिबेशनको विषय पेचिलो बन्दै, कार्यतालिकामा सहमति जुटाउन मागियो ‘दुईदिनको समय’
यथाशिघ्र महाधिबेशन गर्नुपर्ने पक्षमा कांग्रेसका महानगर समितिका सभापतिहरु















