Play

कोइराला र थापासमूह पुष १६ मा महाधिबेशन गर्न सहमत, बैठकले मिति नतोके बिशेष महाधिबेशनको तयारी भेला गरिने

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समेतको समूहले आगामी निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ। नेता डा. शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा आज शुक्रबार बिहान बसेको इतर समूहको बैठकले २१ फागुनको निर्वाचन अगावै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

शेखर कोइरालासंगको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत सहभागी बैठकले उक्त निष्कर्ष निकालेको बुझिएको छ। ‘नियमित महाधिवेशन निर्वाचन अगाडि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र गरिसक्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ विशाल नगर बैठकमा सहभागी एक नेताले भने,

पुस १६ मा महाधिवेशनको मिति तोक्ने गरी भनेका छौं।’ उक्त समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको छ। पुस १६ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउने, कार्यवाहक सभापतिसँग कुरा गरेर आजकै बैठकमा प्रस्ताव पेस गर्ने सल्लाह भएको ति नेताले जानकारी दिए ।

यसैबीच विशेष महाधिवेशन माग गर्दै असोज २९ गते हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले भेला बोलाउने भएका छन । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरे पनि केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन कार्यतालिका ल्याउने सम्भावना नदेखिएको भन्दै विशेष महाधिवेशनको लागि काठमाडौंमा भेला गर्न लागेकाबताइएको छ। शेखर कोइराला निकट मानिने गुरूराज घिमिरेले आइतबार काठमाडौंमा महाधिवेशन प्रतिनिधिहरूको भेला हुने जानकारी दिए।

‘आज र भोलि केन्द्रीय समिति बैठक हेर्छौं, नियमित महाधिवेशन कार्यतालिकासहित महाधिवेशन सम्पन्न गर्ने सुनिश्चितता आएन भने पर्सी महाधिवेशन प्रतिनिधिहरूको भेला हुन्छ,’ घिमिरेले भने, ‘त्यसपछि विशेष महाधिवेशनको प्रक्रिया सुरू गर्न भन्छौं।’ पार्टी विधानको धारा १७ को २ अनुसार महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण खुलाई विशेष महाधिवेशन माग गरेका हुन्। उक्त धाराअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिन्छ। २०७८ मंसिर २४ देखि २८ गतेसम्म १४ औं महाधिवेशन भएको थियो। विधानमा नियमित कार्यकाल ४ वर्षको हुने उल्लेख छ भने विशेष परिस्थितिमा एक वर्ष म्याद पनि थप गर्न सकिने व्यवस्था छ। भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसमा पनि नीति र नेतृत्व परिवर्तन गर्दै पार्टीलाई रूपान्तरण गरेर जानुपर्ने माग छ।

महामन्त्री थापाले केन्द्रीय कार्यसम्पादन समितिमा महाधिवेशन कार्यतालिका प्रस्ताव पेस गरे पनि केन्द्रीय समितिमा पेस गर्न पाएका छैनन्। सभापति देउवा पक्षका नेताहरू महाधिवेशन कार्यतालिका ल्याउन तयार नदेखिँदा बिहीबारको केन्द्रीय समिति बैठक महामन्त्री थापा अनुपस्थित रहेका थिए।

आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ। यो बैठक असोज २८ गतेदेखि बसेको केन्द्रीय समिति बैठकको निरन्तरता हो। उक्त बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। सभापति देउवा हाल थप उपचारका लागि सिंगापुरमा रहेका छन।

१४ कार्तिक २०८२, शुक्रबार १२:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा