Play

वर्षापछिको बाढी, पहिरो र चट्यांगमा परि कास्की सहित विभिन्न जिल्लामा १४ को मृत्यु, १८ बढी घाइते

पोखरा -७ गैरीखेत र पोखरा - ३३ बाघमारामा केहि घर डुबानमा, प्रहरीद्वारा उद्दार


गुरुकुल खबर


पोखरा,  देशका विभिन्न भागमा अविरल वर्षापछिको बाढी र पहिरोमा परेर कास्की जिल्लामा सहित देशभर १४ जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा गएको पहिरोबाट ८ जना, चट्याङबाट ४ जना र बाढीले बगाएर दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

अविरल वर्षाका कारण कास्की जिल्ला सहित लमजुङ, कैलाली, विराटनगर, कपिलवस्तु, तनहुँ र ओखलढुंगामा १८ जना घाइते भएका छन् ।

कास्कीको मादी गाउँपालिकामा पहिरोमा परेर दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिका घर हुने १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका २३ वर्षीय अनमोल सुनार छन् । पहिरोका कारण दुई जना घाइते भएका छन् ।

मादी गाँउपालिका वडा नं. ५ चितेपानी घुम्तीमा रहेको प्रकाश रानाभाटको व्लक र टिनले बनेको तिन कोठे घरको पछाडी पट्टी माटोको ढिस्को खस्न गई घरको पछाडी पट्टीको भाग भत्किएको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ।

शिशुवाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्दार गर्दा कोठाभित्र सुतिरहेका दुई जना मध्ये १३ बर्षीय आयुष्मा रानाभाटलाई पहिरोले पुरिएको र मृत अवस्थामा फेला परेको तथा उनकी हजुरआमा ७० बर्षीय लालमाया बन्जारालाई सकुशल उद्दार गरिएको कास्की प्रहरीले जनाएको छ ।

यसै गरि पोखरा महानगरपालिका वडा नं.२७ आरूपाटामा हरी सुनारको ढुङ्गा माटोले बनेको दुई कोठाको कच्ची घर पनि घर माथिबाट आएको पहिरोका कारण भत्किन पुगेको र सोहि घरमा सुतेका हरी सुनारको छोरा तिन बर्षीय अनमोल सुनार मृत अवस्थामा फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ।

उक्त घरका धनि हरी सुनारकी श्रीमती वर्ष २७ की रितु सुनार घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेजमा लागिएको छ । उनको अबस्था गम्भीर रहेको बुझिएको छ । सोहि घरबाट निज हरी सुनारकी छोरी ९ बर्षीय अन्जली सुनारलाई सकुशल उद्दार गरिएको कास्की प्रहरीका सूचना अधिकारी बसन्त कुमार शर्माले गुरुकुल खबरलाई जानकारी दिए ।

वर्षा संगै आएको बाढी र पहिरोका कारण  पोखरा महानगरपालिका वडा नं. १४ चाउथे आनन्द टोल स्थित घट्टेकुलोको पानी बाहव बढ्नगई पृथ्वी राजमार्ग सडक खण्ड पनि भासिएको छ । पृथ्वीराजमार्ग अन्तर्गतको सो सडक क्षतिग्रस्त बनेपछि पोखराबाट पृथ्वीराजमार्ग हुँदै काठमाडौँ लगायत देशका विभिन्न स्थानमा आवागमन गर्ने सवारी साधन अबरुद्द बनेका थिए । सडक मर्मत गरेपछि एकतर्फी रुपमा सवारी साधन संचालनममा आएका छन।

यसै गरि पोखरा महानगरपालिका वडा नं. ७ गैरीखेत भन्ने स्थानमा अबिरल वर्षाको कारण घरमा पानी पसी डुबान भएको भन्ने सूचनापछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले त्यहाँ पुगेर उद्दार गरेको बुझिएको छ । स्थानीय कुमार सुनार र रेशम गुरूङको घरमा पानी पसेर डुबानमा परेको भएपनि मानबिय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३३ बागमारा सिप्लिङ तारा टोलमा पनि अबिरल बर्षाको कारण घरमा पानी  पस्दा डुबानमा परेको बताइएको छ । डुबानमा पर्ने घरहरुमा राम्जी बास्तोलाको व्लक र टिनले बनेको कच्ची घर, सुमन बि.क.को व्लक र टिनले बनेको कच्ची घर र बाबुराम बस्नेतको व्लक र टिनले बनेको कच्ची घर भित्र पानी पसेको थियो । प्रहरीले घरभित्रको पानि फालेर उद्दार गरेको जनाएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ मा आँधीखोलाले बगाउँदा ३५ वर्षीय युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी (डीएसपी) इन्द्र बहादुर रानाका अनुसार मृत्यु हुनेमा सूर्य भण्डारी छन् । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ ।

लमजुङको दोर्दी गाउँपालिका–९ मा मंगलबार राति गएको पहिरोका कारण घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार छन् । पहिरोमा परेर १८ वर्षीय मिलन सुनार घाइते भए । पहिरोका कारण बेसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

लमजुङको क्वहोलासोथर गाउँपालिका–३ मा पहिरोमा परेर ६९ वर्षीय रुद्रमान गुरुङसहित ४ जनाको मृत्यु भएको छ । बगुमस्थित पच्युटोलमा पहिरो जाँदा ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनकी पाँच वर्षीय छोरी नम्रता र ७ वर्षीय इच्छा गुरुङको मृत्यु भएको छ ।

कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–३ भितरिया बस्ने ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय शालिम चौधरी छन् । खेतमा काम गर्दा चट्याङ परेर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

कैलालीमा चट्याङ पर्दा ६ जना घाइते भएका छन् । घाइते हुनेमा जानकी गाउँपालिका–४ बस्ने २९ वर्षीय रिता कठरिया, २३ वर्षीय सुस्मा डगौरा, भजनी नगरपालिका घर भएका ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी बस्ने ९ वर्षीय सरस्वती भुल र ७ वर्षीय पारु कठायत छन् । घोडाघोडी–९ घर भएकी १० वर्षीय खिमा काठायत पनि घाइते भएकी छन् ।

मोरङको रंगेली नगरपालिका वडा नम्बर–४ मा घाङी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । ४५ वर्षीय नागेन मण्डलको मृत्यु भएको मोरङका एसपी नवराज कार्कीले रातोपाटीलाई बताए । मंगलबार बुढी खोलाले बगाएको दुई जनाको अवस्था अझै अज्ञात छ ।

अविरल वर्षासँगै आएको बाढी विराटनगर महानगरपालिका–६ स्थित बस्तीमा पसेको छ । बाढीका कारण करिब ५ सय परिवार विस्थापित भएका छन् । विराटनगर–१२ मा ६० वटा घर डुबेका छन् ।

चितवनको माडीस्थित मगै खोलाले बगाएर एक जनालाई बेपत्ता बनाएको छ । माडी नगरपालिका–५ बस्ने ४५ वर्षीय रणबहादुर कामी बेपत्ता भएको चितवनका एसपी भावेश रिमालले रातोपाटीलाई बताए ।

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ थुम्कीमा पहिरो जाँदा ३५ वर्षीय देव कुमारी खत्रीको मृत्यु भएको छ । ओखलढुंगामा पहिरोका कारण दुई जना घाइते भएका छन् ।

कपिलवस्तुमा चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यशोधरा गाउँपालिका–८ घर भएका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका घर भएका १८ वर्षीय राजु ठाकुर छन् । नवलपरासी पूर्वमा पनि चट्याङ परेर एक जना घाइते भएका छन् ।

दैलेखस्थित भैरवी गाउँपालिकामा चट्याङ लागेर ५५ वर्षीय धीरबहादुर शाही र २६ वर्षीय कुसुम शाही घाइते भएका छन्।

१३ असार २०८१, बुधबार २२:०५ मा प्रकाशित
Nabintech