पोखरा, सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सम्मान गरिएको छ। ५० हजार रुपैयाँ एबम सम्मानपत्र सहितको उक्त पुरस्कार शनिबार पोखरामा आयोजित एक कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्य, अग्रज साहित्यकार सरुभक्त र पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले संयुक्त रुपमा रेग्मीलाई सो पुरस्कार प्रदान गरेका हुन्।
१६ वर्ष मुनिका बालप्रतिभाहरूलाई प्रदान गरिने यो पुरस्कार २०५७ सालमा स्थापना गरिएको हो। केही वर्ष पुरस्कार वितरण कार्य रोकिएकोमा सरुभक्त केन्द्र संस्थाको स्थापनासँगै गत बर्षदेखी पुरस्कार वितरण शुरु गरिएको छ। यसअघि यो पुरस्कार तेम्बाछिरी शेर्पा, ज्योति थापा, ऋतु लामा, शिखा कटुवाल, करुणा गुरुङ, सिपोरा गुरुङ, कुशल केसी, निमा छ्याङदी शेर्पा र सुप्रिम मल्ल ठकुरीले पाइसकेका छन्।
यस बर्ष पुरस्कार योग्य प्रतिभा छनोट गर्न डा ईश्वरमणि अधिकारी संयोजक रहेको समिति गठन गरिएको थियो। समितिले सानै उमेरदेखि सामाजिक क्षेत्रमा देखाएको सक्रियता, मानवीय संवेदना तथा सामाजिक र आर्थिक रूपमा पछाडि परेका समुदायको हितमा पुर्याएको योगदानको मूल्यांकन गर्दै प्रेन्सालाई उक्त पुरस्कारका लागि सिफारिस गरेको थियो।
पुरस्कार ग्रहण गरेपछि प्रेन्सा रेग्मीले परिवर्तनका लागि उमेर, पद वा ठूलो सम्पत्ति नचाहिने बताइन्। ‘हामी बालबालिका भविष्यका कर्णधार मात्र नभई वर्तमानका परिवर्तनकारी शक्ति हो,’ उनले भनिन्, ‘आज यदि कुनै बालकले आफ्नो साथीमा भइरहेको विभेद अन्त्य गर्नको लागि त्यसविरुद्ध आवाज उठाउँछ भने त्यो परिवर्तन हो।’ परिवर्तन सानो कदमबाट सुरु हुने बताउँदै उनले आफ्नो उमेर र परिस्थिति लाई आफ्नो सीमा वा पहिचान नबनाउन आग्रह गरिन्।
२०६९ साल फागुन ६ गते म्याग्दी जिल्लाको मंगला गाउँपालिका नम्बर ७ मा जन्मिएकी प्रेन्सा हाल पोखरा नम्बर ११ फूलबारीमा बसोबास गर्दै आएकी छन्। उनी पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्। सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय उनले समुदायका विभिन्न समस्या समाधानका लागि प्रयास गर्दै आएकी छन्। कोभिड-१९ महामारीका बेला मास्क तथा सेनिटाइजर वितरण, विपन्न परिवारका लागि खाद्यान्न व्यवस्थापन र कपडा उपलब्ध गराउने तथा लुगा बैंक स्थापना गरी विपन्न बालबालिकालाई सहयोग गर्ने, शैक्षिक सामग्री वितरण गर्ने र हिंसाविरुद्ध आवाज उठाउने काम गर्दै आएकी थिईन।
सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठको सभापतित्वमा आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै पोखराका मेयर आचार्य बालबालिकालाई आफ्नो इच्छा अनुसार काम गर्न दिनुपर्ने भनाइ राखे । साहित्यकार सरुभक्तले अन्य क्षेत्रमा प्रसस्त पुरस्कार भए पनि बालबालिकाका क्षेत्रमा कम भएकै कारण केन्द्रले यो थालनी गरेको उनको भनाइ थियो । बालबालिकालाई प्रेरणा र हौसला दिनु भनेको बिरुवामा पानी हाल्नु सरह रहेको उनको भनाइ थियो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिब तीर्थ श्रेष्ठ र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा कुसुमाकर न्यौपानेले शुभकामना व्यक्त गरेको कार्यक्रममा सरुभक्त केन्द्रका उपाध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले स्वागत मन्तव्य राखेकी थिइन् भने पुरस्कार छनोट समिति संयोजक डा ईश्वरमणि अधिकारीले स्रष्टाको परिचय दिएका थिए। कार्यक्रममा साहित्यकार उपेन्द्र पौडेल, गण्डकी बोर्डिङ स्कुलका प्राचार्य विश्वयुधीर पौडेल घर्ती लगायतले आआफ्नो भनाई राखेका थिए।















