Play

आज काग तिहार मनाइंदै, कागलाई मिठा परिकार दिने प्रचलन जारी

गुरुकुल खबर


पोखरा, यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज कात्तिक कृष्ण त्रयोदशीका अवसरमा काग तिहार श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। बिहानैदेखि घरआँगनमा कागलाई मनपर्ने खानेकुरा राखेर पूजा गर्ने परम्पराअनुसार नेपालीहरूले यो पर्व मनाइरहेका छन्। हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा लिने गरिन्छ। यमराजले कागमार्फत पृथ्वी लोकका खबर प्राप्त गर्ने विश्वास रहेकाले कागलाई सम्मानपूर्वक पूजा गरी मीठा खानेकुरा अर्पण गर्ने चलन बसेको हो।

कागले यमराजसमक्ष शुभ समाचार पुर्‍याओस् भन्ने कामनासहित आजको दिन दही, भातलगायत विभिन्न परिकार खुवाउने धार्मिक प्रचलन छ। लोकविश्वासमा काग घरको छत, आँगन वा वरपर आएर कराएमा कुनै खबर लिएर आएको संकेतका रूपमा समेत बुझ्ने गरिन्छ। काग कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने चलन नेपाली समाजमा अझै प्रचलित छ। काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित प्रसिद्ध कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना गरिँदैछ। यी मन्दिरमा कागको धार्मिक महत्त्व स्मरण गर्दै भक्तजनले पूजा गर्ने परम्परा छ।

यस वर्ष तिथिको घटबढका कारण तिहारका केही पर्वको मिति एकै दिन परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सूर्योदयका समयमा त्रयोदशी तिथि परेकाले आज काग तिहार मनाउने निर्णय गरिएको हो। समितिका अध्यक्ष डा। पुरुषोत्तम भट्टराईका अनुसार शुक्रबार साँझ त्रयोदशी तिथि परेकाले यमदीप दान भने शुक्रबार नै गरिएको थियो। धार्मिक मान्यताअनुसार यमराजको भय र यातनाबाट मुक्ति प्राप्त गर्ने उद्देश्यले परिवारका सदस्यका नाममा यमदीप दान गरिन्छ।

यमदीप दक्षिण दिशातर्फ फर्काएर बाल्ने वैदिक परम्परा रहेको छ। यसैगरी धनवन्तरी जयन्ती पनि आजै परेको छ। तिथिको घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइने भएको छ। कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ भने कात्तिक २४ गते मंगलबार गोरुपूजा, हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा तथा आत्म ९म्ह० पूजा मनाइने समितिले जनाएको छ।

तिहारको सबैभन्दा महत्त्वपूर्ण पारिवारिक पर्व भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटलाई निर्धारण गरेको छ।लगातारका सार्वजनिक बिदा र पर्वहरूको आगमनसँगै बजार, घरआँगन तथा सार्वजनिक स्थानमा तिहारको चहलपहलसमेत बढ्दै गएको छ। दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, पारिवारिक मिलन र धार्मिक आस्थाको प्रतीक मानिने तिहारले नेपाली समाजमा उत्साह र उमङ्ग थपेको छ।

२१ कार्तिक २०८३, शनिबार १२:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा