Play

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै पहल गर्नुपर्छ – मन्त्री चौधरी

गुरुकुल खबर


ललितपुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलाको महिनावारिलाई मर्यादित बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्ने बताएकी छन।

अन्तर्राष्ट्रिय महिनावारी दिवसको सन्दर्भमा आयोजना गरिएको महिनावारी मैत्री विश्व कार्यक्रममा बोल्दै मन्त्री चौधरीले  मर्यादित महिनावारी बनाउनका निम्ति महिला मन्त्रालयले निर्देशिका पनि बनाएको र त्यसलाई यथोचित रूपमा राज्यका सबै निकाय, सबै क्षेत्रमा लागू गर्न प्रयास गरिने बताइन ।

सामुदायिक विद्यालय, कलेजहरूमा यी कुराको विशेष ध्यान दिइनुपर्ने भन्दै उनले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई कुनै पाप वा गलत कुराको रूपमा लिने प्रवृत्तिको अन्त्य गर्नका निम्ति सचेतनाका कार्यक्रम बढाउनुपर्नेमा जोड दिईन। ‘सामुदायिक विद्यालयहरूमा बिदाको व्यवस्था, प्याड, सरसफाइको अवस्था के छ ती कुराको पनि अनुगमन गर्नुपर्ने उनको भनाई छ।

यो प्राकृतिक प्रक्रिया हो । यसलाई कसरी हुन्छ सुरक्षित र सरसफाइमा विशेष ख्याल गर्नुपर्छ’, मन्त्री चौधरीले भनिन, ‘कतिपय ठाउँहरूमा छोरीहरूलाई महिनावारीको बेला घरबाहिर राख्ने प्रवृत्ति छ । घरपरिवारको मुख हेर्न नदिने, भान्सामा जान नदिने जस्ता कुराहरू छन् ।त्यसलाई हामीले जनचेतना फैलाउँदै यो कुरा गलत होइन यो प्राकृतिक प्रक्रिया हो घरभित्रै राख्नुपर्छ भन्ने ढङ्गले हामीले जनचेतना फैलाउन आवश्यक छ ।’

कुरीतिहरूलाई चिर्नका लागि यस्ता अभियानहरूले गलत मान्यताहरूलाई परिवर्तन गर्न मद्दत पुग्ने भन्दै उहाँले नागरिक समाज जस्ता संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने समेत उनले बताईंन ।

महिनावारी कुनै फोहर वा नकारात्मक विषय होइन भन्ने कुरा सबैतिर फैलाउन आवश्यक रहेको उनको भनाई थियो ।

महिनावारीको समयमा कार्यस्थलमा बिदाको व्यवस्था गर्नुपर्ने कुरा उठिरहेको भन्दै यस विषयमा केही न केही व्यवस्था गर्न आवश्यक रहेकोमा उनले जोड दिईन। कार्यक्रम ज्ञान महर्जनको अध्यक्षतामा भएको थियो ।

१६ जेष्ठ २०८१, बुधबार ०६:४७ मा प्रकाशित
Nabintech