Play

आफ्नो कर्मबाट परमात्मासंग जोडिने मार्ग ‘ताओ’ प्रति आकर्षण बढ्दो, पोखरामा ताओ सेन्टरको नयाँ कार्यालय

गुरुकुल खबर


गंगाधर पराजुली / पोखरा

संसारमा अदृश्य शक्ति छ र त्यो शक्तिको न त कुनै रुप छ, न त कुनै आकार छ तर पनि आम मानिसहरुले यो सत्यलाई सहजै स्वीकार्न सकिरहेका छैनन। कतिपयले भने यो तथ्यलाई स्वीकार गरेपनि उनीहरु भगवानको कारण यो सम्भव भएको बताउछन।  कतिपयले बुद्ध धर्म, कतिपयले हिन्दु धर्म वा कतिपयले क्रिस्चियन र मुश्लिम धर्म प्रति आस्था राखेर आफ्नो आफ्नो ढंगले भगवानको खोजि गर्ने गरेका छन ।

“सबै मानिसहरुमा आत्मा हुन्छ, आत्मा न त जन्मिन्छ, न त मर्छ नै । त्यसैले हरेक व्यक्ति भित्र भगवानरुपी आत्मा हुन्छ तर मानिसहरु त्यही कुरा नबुझेर भगवानको खोजीमा भौंतारिरहेको हुन्छन”। यस्तै बिचार हजारौं वर्षदेखि निरन्तर मानब जगतमा चल्दै आएको छ जसका कारण अहिले पनि मानिसहरु भगवानको खोजि अनि सुख र आनन्द प्राप्तिको लागि भन्दै विभिन्न धर्म र सम्प्रदायमा विभक्त छन।

यस्तो बिचारको बास्तबिकता खोजि गर्ने क्रममा चिनिया नागरिक लाओत्शेले इशापुर्व छैटौं शताब्दी अर्थात बुद्धकालीन समयमा “मानिस आफु नै भगवानको स्वरूप रहेकोले कुनै धर्म र सम्प्रदायमा लगेर भगवानको खोजि गर्नु भन्दा आँफु भित्रबाट नै भगवानको स्वरूप खोजि गर्न सकिन्छ” भन्ने कुरालाई एउटा दर्शनको रुपमा सार्बजनिक गरे र त्यहि दर्शनलाई नै ‘ताओ’ को नाम दिईयो।  मानिसले आफ्नो बोलि, व्यवहार र खानपानलाई सहि ढंगले उपयोग गर्न सके अदृश्य मार्गबाट नै परमात्मासंग वा भगवानसंग कनेक्सन हुन सक्छ भनेर लहोत्सेले प्रतिपादन गरेको मार्गलाई नै त्यसपछिको समयमा ताओ दर्शनको रुपमा मान्न थालिएको हो ।

मानिसले शिब, बिष्णु, कृष्ण, राम, बुद्ध, जिसस, अल्लाह लगायत विभिन्न नाममा भगवानलाई पुकार्ने गरेका छन तर उल्लिखित नामका भगवान बन्न सक्ने तर तपाईं हामी किन भगवान जस्तो बन्न नसक्ने ? यही प्रश्नको उत्तर ताओ दर्शनले दिने बताउछन, करिब ३ दशक देखि ताओ शिक्षामा लागेका ताओगुरु प्रकाश भट्टराइ ।

उनका अनुसार मानिसमा सुद्दता र पवित्रता भयो भने अर्थात मानिसको बोलि व्यवहार र आचरण संगै खानपान सुद्ध र मन पबित्र भयो भने हामी मानिसहरु नै परमात्मा वा भगवानको स्वरूपमा पुग्नसक्छौं ।

भट्टराई भन्छन – हामी सबैलाई कुन कुरा बोल्दा राम्रो हुन्छ र कुन कुरा बोल्दा नराम्रो हुन्छ भन्ने पनि थाहा छ।  कुन कुरा गर्दा राम्रो र कुन गर्दा नराम्रो वा के खानु राम्रो र के खानु नराम्रो भन्ने सबैकुरा थाहा छ । तर हामी राम्रो हुने कुरा बोलौं, राम्रो हुने कुरा मात्र खाउँ र राम्रो काम मात्र गरौँ भन्ने तिर पुरा लाग्दैनौं । जसका कारण मानिसले भगवानको स्वरूप प्राप्त गर्न नसकेको र सांसारिक दुख, पिडा र समस्यामा मानिस निरन्तर रुमलिनु परेको र अनाबश्यक दुख पाउनु परेको छ ।

मानिसले हरेक समय विभिन्न तनाब र विभिन्न समस्याबाट छुटकारा लिन सक्नुपर्छ भन्ने अभिप्रायले ताओमार्गी हरुले ‘लाफिंग बुद्ध’ वा हाँसिरहेको बुद्दको मुर्तिलाई आफ्नो आदर्शको रुपमा समेत लिने गरेको पाइन्छ ।

यही तथ्यलाई दृष्टिगत गरि अहिले बिश्वका धेरै मुलुकमा ताओ दर्शन बिस्तार भैरहेको ताओ एसोसिएसनका नेपाल च्याप्टरका प्रमुख गुरु छिएन रन (चाओ सिंग स्योंग) ले गुरुकुल खबरलाई जानकारी दिए। उनका अनुसार अहिले संसारका ७५ भन्दा बढी देशमा ताओ शिक्षा बिस्तार भैसकेको छ ।  नेपाल सहित थाइल्याण्ड, मलेसिया, भारत र बर्मामा ताओ शिक्षा बिस्तार गर्ने कामको जिम्मेवारी लिएका गुरु चाओ सिंग स्योंगका अनुसार “संसारमा रहेको अदृश्य शक्ति जसका कारण मानब जगत र संसार अडिएको छ,  त्यो तत्वको ज्ञानलाई नै ‘ताओ’ भानिन्छ ताओको ब्याख्या गर्न कठिन छ तर हामी सबै भित्र ताओ छ र ताओ भित्र सबै छ ।”

ताओ शिक्षा लाई विभिन्न स्थानमा बिस्तार गर्न विभिन्न कार्यक्रम हुनेगरेको ताओगुरु तारा आचार्यले बताइन । ताओ एसोसियसन नेपालकी अध्यक्ष समेत रहेकी ताराकाअनुसार ताओ शिक्षा सम्बन्धि प्रवचन, ताओशिक्षा सम्बन्धि विभिन्न बिषयमा सेमिनार र ओरियन्टेसनसंगै  ताओमा आबद्द समुदायको तर्फबाट आमसर्बसाधारण तथा दुख, समस्यामा परेका बिभिन्न व्यक्ति र संस्थाहरुलाई मानबिय सहयोग गरेर ताओ शिक्षालाई बिस्तार गर्ने प्रयास भैरहेको छ ।

सन १९८९ मा नेपालमा ताओ शिक्षाको शुरुवात भएकोमा अहिले देशका ४७ भन्दा बढी जिल्लामा ताओ सम्बन्धि विभिन्न गतिबिधि भैरहेको ताओगुरु प्रकाश भट्टराईले जानकारी दिए । पोखरामा ताओ शिक्षाको शुरुवात सन २००७ मा जीतबहादुर गुरुङ सहितका केहि अग्रज मिलेर गरेका थिए। अहिले पोखरा सहित आसपासका केहि स्थान र काठमाडौँ, लुम्बिनीको तिकुलगढ, तनहुँको आँबु खैरनी लगायतका विभिन्न स्थानमा ताओ सेन्टर स्थापना भएर ताओ शिक्षाको प्रबर्धन गर्ने काम भैरहेको छ। हाल नेपालमा १ लाखको हाराहारीमा ताओमा आबद्द सदस्यहरु रहेको अनुमान गरिएको छ।

विभिन्न धर्म र सम्प्रदायमा संलग्न व्यक्ति समेत ताओ शिक्षा लिन र यो मार्ग अबलम्बन गर्न सक्ने भएकोले पनि नेपालमा ताओको आकर्षण बढ्न लागेको बताईन्छ ।

पोखरामा ताओ सेन्टरको स्थापना भएको डेढ दशक बितेको भएपनि ताओ सेन्टरको लागि आबश्यक कार्यालय सहित सभाहल र ताओ शिक्षा सम्बन्धि कार्यक्रम संचालन गर्दा चाहिने सबै किसिमको सुबिधा उपलब्ध भएको ५ तल्लाको पक्कि भवनको निर्माण भने हालै सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा न १ हरिचोक नजिक नवनिर्मित ताओ सम्पर्क कार्यालय पोखराको उक्त भवनको उद्घाटन शुक्रबार गरिएको थियो। भवन निर्माणमा ३ करोड रुपैया भन्दा बढी खर्च भएको र ताओमा आबद्ध नेपाली एबम बिदेशीहरुबाट सहयोग जुटाएर भवन निर्माण पुरा गरिएको ताओ संस्थामा क्रियाशील पोखराकी माया बरालले गुरुकुल खबरलाई जानकारी दिईन।

ताओ सेन्टर पोखराका प्रमुख गुरु आनन्द दाहालका अनुसार पोखरा सेन्टरको कार्यालय सहित नयाँ संरचना निर्माणमा यस क्षेत्रका ७ सय ८० जनाले सहयोग गरेका छन। हाल पोखरा सहित गण्डकी प्रदेशमा करिब २० हजार ताओ सदस्यहरु रहेको र करिब ३० वटा ताओ सम्पर्क केन्द्रहरु रहेको समेत दाहालले जानकारी दिए ।

भवन उद्घाटन समारोहमा ताओ सेन्टर नेपालका प्रेसिडेन्ट चाओ सिंग स्योंग, गुरु सन्ध्या र अन्य गुरुहरु दिपक भट्टराइ, तारा आचार्य, प्रकाश भट्टराइ, आनन्द दाहाल, कल्पना दाहाल, जीतबहादुर गुरुङ, मिन बहादुर गुरुङ र अर्जुन बहादुर खत्री लगायतले ताओ शिक्षा र सदस्यहरुले गर्नुपर्ने कामका सम्बन्धमा प्रकाश पारेका थिए ।

भवनको उद्घाटन समारोहमा सहभागी बन्न मलेसिया, थाइल्याण्ड, अमेरिका, जापान, ताइवान र सिंगापुर लगायतका विभिन्न मुलुकका ५० जना जति ताओ सदस्य पोखरा आएका थिए भने नेपालका विभिन्न ताओ सेन्टरबाट करिब ६ सय नेपाली ताओ सदस्यहरु सहभागी थिए।

यसै बीच शनिबार नै पोखरामा विभिन्न मुलुकबाट आएका ताओ सदस्यहरु सहित केहि नेपाली ताओहरु मिलेर पोखरामा रहेको नीलसागर सेवा आश्रममा रहेका मानबहरुको सहयोगका लागि १ लाख ३५ हजार रुपैया सहयोग हस्तान्तरण गरेका छन । ताओ गुरु आनन्द दाहालका अनुसार उक्त सहयोग हस्तान्तरण कार्यक्रममा ताओ सेन्टर नेपालका अध्यक्ष तथा प्रमुख गुरु छिएन रन र नीलसागर आश्रामका संस्थापक अध्यक्ष सरिता नीलसागर लगायातले दुवै संस्थाका गतिविधि बारेमा जानकारी गराएका थिए।

१५ बैशाख २०८१, शनिबार २१:२३ मा प्रकाशित
Nabintech