Play

हेम्जा आलु महोत्सबमा स्टल राख्ने ब्यापारीको पिडा : स्टल भाडा पचास हजार, व्यापार दैनिक दुई हजार

हावाहुरीसंगै आलु महोत्सबमा पुगेका दर्शकको पिडा- न सांगीतिक मनोरंजन , न आलुका परिकार...


गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२५  हेम्जामा संचालन भैरहेको हेम्जा आलु महोत्सब जारी छ। राष्ट्रिय हेम्जा आलु महोत्सब नाम दिएर हरेक बर्ष यसैसमयमा महोत्सब संचालन हुँदैआएको छ । एकदशक अगाडी महोत्सब शुरु गर्दा स्थानीय हेम्जावासी मात्र नभएर पोखरा र आसपासका बासिन्दा समेत आलुका परिकार खान, आलु किन्न र त्यस क्षेत्रको भ्रमण गर्नुका साथै गीतसंगीतको माध्यमबाट मनोरंजन लिन हेमजामा पुग्नेहरुको संख्या उल्लेखनीय हुने गर्थ्यो  ।

कतिपय स्थानीय एबम पोखरा बजारबाट जाने दर्शकहरुका अनुसार पहिले हेम्जामा उत्पादन हुने आलुलाई अर्गानिक आलु मानिन्थ्यो । तर पछिल्लो समय आलुमा लाग्ने किरा नस्ट गर्न तथा उत्पादन बढाउनको लागि केहि मल र विषादीको समेत प्रयोग गरिन थालेकोले आलुको ब्यापारमा समेत कमि आएको छ उपभोक्ताहरु भन्छन – “पहिले हेम्जाको आलुलाई अर्गानिक भनिन्थ्यो तर आजकल त्यहाँ पनि अर्गानिक आलु पाउन मुश्किल छ, त्यसैले आलु किन्न हेमजाको आलु महोत्सबमा आउनुपर्छ भन्ने जरुरी छैन”।

हेटौडाबाट आएर महोत्सबमा स्टल राखी रेस्टुरेन्टको व्यापार गरिरहेका बिमलले हेम्जा आलु महोत्सब देशमा चलेका मेला महोत्सब  मध्येको सबैभन्दा खतम महोत्सब बनेको भन्दै पिडा पोखे । “म सहित ५ जनाको टिम आएर रेस्टुरेन्ट ब्यबसाय संचालन गरिरहेको छौं । तर  दिनमा दुई हजार जतिको व्यापार समेत हुन सकेको छैन। अनि अब कसरि महोत्सवका आयोजकलाई स्टल भाडा तिर्ने भन्ने चिन्ताले सताएको छ “।

उनले भने आलु महोत्सबमा व्यापार गर्न आएको तर आलु खाए जस्तो गरि फर्किनुपर्नेभयो ।, उनि सहितको टिम १/२ दिनमा नै महोत्सब छोडेर जाने तरखरमा छ । पचास हजार रुपैया भाडा बुझाउने त भनेको हो, तर व्यापार नभएपछी सडकमा सुतेर मेरो किड्नी बेचेर पैसा लिनुस, भन्नुपर्ने जस्तो भएको छ ।

महोत्सबमा बालबालिकाको खेलौनाको व्यापार गर्ने स्टल राखेका मुन्ना भन्छन व्यापार निकै कम छ, पचास हजार स्टल भाडा तिर्ने कुरा भएको थियो तर अब आयोजकले पुनर्विचार नगरिदिए तिर्न गारो हुन्छ ।

यसैगरि महोत्सब स्थलमा किराना सामानको व्यापार गर्ने स्टल राखेका इश्वर ढुंगाना हेम्जाको महोत्सबमा अन्य महोत्सबब जस्तो व्यापार नहुने बताउछन । “यो महोत्सब अरु ठाउँको जस्तो हुन्न, महोत्सब गर्ने समय पनि अलि मिलेन, सिजन पनि वर्षा शुरु हुने बेला र हावाहुरी लाग्ने समय भयो । त्यसैले आयोजकहरुले यो बिषयमा सोच्नुपर्छ। ” उनले आफ्नो स्टल भाडा भने १५ हजार रुपैयामात्र रहेको जानकारी दिए ।

महोत्सब आयोजक मध्येकी अतिथि सत्कार समितिका सदस्य सिर्जना सापकोटाका अनुसार पहिले पहिले पोखरामा १/२ वटा महोत्सब हुने बेला हेम्जाको महोत्सबमा दर्शकको उपस्थिति राम्रो हुने गरेको भएपनि आजकल सबै तिर महोत्सब चल्ने भएकोले महोत्सबको महत्वसंगै दर्शकको संख्या पनि कम हुन गएको छ।

सापकोटाले हावाहुरी चल्ने समयमा महोत्सब संचालन गर्नु कमजोरी भएको स्पष्ट पार्दै मंगलबार ५ बजे अगाडि नै आएको हावाहुरीका कारण स्टल, मंच र अतिथि सहित अरुकुरा जोगाउन समेत धौ धौ परेको सुनाइन। कलाकारहरुले समेत आफ्नो प्रस्तुती दिन नपाएको जानकारी  उनले दिईन ।

सापकोटाले भनिन- “महोत्सबलाइ कृषि महोत्सबको रुप समेत दिइएको छ तर  हेम्जामा उत्पादित तरकारी बिहान सबेरै ८/१० वटा गाडीमा पोखरा बजारमा पुग्छ, तर महोत्सबमा ताजा तरकारी नराख्ने स्थिति कायम छ” उनका अनुसार कृषकले आफ्नो उत्पादनको मूल्य नपाउने वा बिक्रि नहुने चिन्ताले गर्दा महोत्सबस्थलमा बिक्रीको लागि नराखी गाडीमा बजार पठाउने गरेको हुन ।

महोत्सब सफल पार्न हेम्जाका स्थानीय बासिन्दाको समेत उल्लेखनीय सहयोग र सहभागीता रहेको छ । सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक, परिकार अनेक’ भन्ने मूल नारका साथ महोत्सवको आयोजना गरिएको हो । हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्य पनि आयोजकको छ। महोत्सब आयोजकले विभिन्न उद्देश्य राखेको भएपनि बिभिन्न कारणले महोत्सब प्रभाबकारी बन्न नसकेको गुनासो बढेको छ।

पोखराबाट महोत्सब हेर्ने, मनोरंजन लिने र आलुका परिकार खाने भनेर साथिहरु सहित हेम्जा महोत्सबमा पुगेका पुष्पराज पराजुलीले महोत्सबमा केहि कुरा खान र मनोरंजन लिन समेत पाएनन। करिब साढे चार बजेतिर त्यहाँ पुगेका पराजुलीले भने – आज बबिता जेरी सहितका कलाकारको गीत सुन्ने, आलुका परिकार खाने र मनोरंजन लिने योजना बनाएर आएको तर हावाहुरीका कारण न त सांगीतिक कार्यक्रम सुचारु भयो, न त कुनै रेस्टुरेन्टमा खानाका परिकार नै पाइयो”।

महोत्सब स्थल हावाहुरीको कारण लथालिङ्ग जस्तै भएपछी हेम्जाको अर्को  रेस्टुरेन्टमा गएर खाजा खाएर पोखरा फर्किएको पराजुलीले सुनाए। पराजुली पोखराका युवा ब्यबसायी तथा सामाजिक कार्यकर्ता समेत हुन ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तरक्रिया , विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहने भनिएपनि हावाहुरी चलेको वा मौसम बिग्रेको कारणले मात्र नभएर अन्य बिबिध कारणले आकर्षक र प्रभावकारी बन्न नसकेको अनुभूति दर्शकले गरेका छन ।

आइतबार देखि शुरु भएर आगामी बैशाख ५ गते सम्म चल्ने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए  । महोत्सबको दोश्रो दिन सोमवारसम्म करिव रु.३ लाखको आलुको कारोवार भएको आयोजकको भनाइ छ  । प्रतिकेजी रु.४० मा आलु बिक्रीवितरण भइरहेकोमा आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण गाउँपालिका, माछापुच्छे गाउँपालिका सहित छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु आएको महोत्सव मुल आयोजक समितिका संयोजक सुबिन श्रेष्ठले जानकारी  दिएका छन ।

स्थानीय बिष्णुपादुका स्कुलको खेलमैदानमा संचालित महोत्सबमा  प्रवेशका लागि ८० रुपैया शुल्क निर्धारण गरिएको छ।  विद्यार्थीलाई भने ५० रुपैयामात्र तिरे पुग्छ। महोत्सब आयोजक बिष्णुपादुका युवा क्लबले महोत्सब सम्पन्न गर्न ४८ लाख १० हजार खर्च लाग्ने र ४९ लाख ४० हजार आम्दानी हुने लक्ष राखेको छ । जसअनुसार महोत्सब संचालन गरेर कुल १ लाख ३० हजार मात्र बचत हुने आयोजकको अनुमान रहेकोमा हावाहुरी एबम अन्य कारणले गर्दा खर्च रकम अझ बढ्ने र बचत रकम अत्यन्त न्युन हुने कतिपयको भनाई छ ।

हेमजामा कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती हुने गरेको छ । हेम्जाका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् ।यस पटकको महोत्सबमा करिव ८० टन आलुको कारोवार हुने आयोजकको अनुमान छ ।

२८ चैत्र २०८०, बुधबार ००:४७ मा प्रकाशित
Nabintech