Play

अस्वस्थ अबस्थामा पनि काँग्रेस नेता खेमराज पौडेलको चिन्ता ‘पार्टी संगठन कमजोर हुन दिनुभएन है’

गुरुकुल खबर


पोखरा,  नेपाली काँग्रेसका पुराना नेता खेमराज पौडेल गम्भीर बिरामी परेका छन्  । करिब ८० वर्षको उमेरमा पनि कांग्रेसको राजनीतिमा युवा जस्तै क्रियाशील पौडेललाइ कास्कीमा इमान्दार र निष्ठावान नेताको रुपमा लिने गरिएको छ  ।

गत वर्ष चैत्रमा पौडेलको घाँटीमा समस्या देखिएको थियो त्यसपछी चिकित्सकले घांटीको क्यान्सरको शंका गरेपछि पौडेलको उपचार पोखरा हुँदै चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा गरिएको थियो ।

घांटीको समस्या केहि महिनाको उपचारपछी ठिक भएको स्वयम् पौडेलले पनि बताउदै आउनुभएकोमा केहि साता अगाडी पुन पौडेलको स्वास्थ बिग्रेपछि पुन भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचारार्थ पुगेका थिए ।  चिकित्सकले उनको फोक्सोमा पानी जमेको कारण समस्या आएको बताएका थिए त्यस पछी पौडेल पोखरा फर्किएका थिए ।

उपचारमा संलग्न डाक्टरका अनुसार ८/१० दिन भित्र नै फोक्सोमा पानी जम्ने भएकोले नियमित रुपमा पानी फाल्नुपर्ने हुन्छ। फोक्सोमा पानी जम्दै गएपछि समस्या आउने भएकोले पोखरास्थित घरमा रहेको समयमा केहिदिनको अन्तरालमा अस्पताल पुगेर पानी फाल्ने गरिएको छ ।

अघिल्लो सातापनि आफ्नो घर पोखरा -२२ पुम्दीबाट पोखराको नागढुंगा स्थित फेवासिटी अस्पतालमा तिन दिन राखेर पौडेलको उपचार गरिएको थियो । त्यसक्रममा आबश्यक  स्वास्थ जांच र  उपचार गर्नुको साथै फोक्सोमा जमेको पानी फालिएको थियो पौडेललाई डा. बुद्धिबहादुर थापा लगाएतका चिकित्सकले  पौडेलको उपचार गरेका थिए  ।

फोक्सोबाट पानी फालेपछी आफुलाई हल्का र सहज महशुस भएको पौडेलले गुरुकुल खबरलाई बताए । “मेरो घांटीमा समस्या उत्पन्न भएपछी चितवन पुगेर उपचार गरियो अनि त्यो समस्या ठिक भयो  । तर अहिले फोक्सोमा समस्या उत्पन्न भएको छ यस बारेमा चिकित्सकहरुबाट सल्लाह लिने र उपचार गर्ने प्रक्रिया पनि अगाडी बढिरहेको छ ।”

पौडेलले आफ्नो स्वास्थका बारेमा धेरैले चिन्ता र चासो लिएको आफुले पाएको भन्दै बिज्ञ डाक्टरहरुसंग परामर्श लिने र सोहि अनुरुप उपचार गर्ने क्रम चलिरहेको समेत जानकारी दिए ।

पौडेलको स्वास्थमा समस्या आएको थाहा पाएपछि उनलाई अस्पताल वा घरमा भेट्न जानेहरुको चाप बढेको छ । डाक्टरले पौडेललाई धेरै नबोल्न सल्लाह दिएको भएपनि उनलाई भेट्न जानेहरुसंग कुराकानी गर्न पौडेलले छाडेका छैनन् त्यस माथि भेट्न गएकाहरुले समेत पौडेल सामु विभिन्न प्रश्न र जिज्ञाशा राखेर बिरामी अबस्थामा पनि बोल्न बाध्य पार्ने गरेकोछन ।

आफुलाई भेट्न आउनेहरुमध्ये अधिकांशसंग पौडेलले आफ्नो स्वास्थअवस्था संगै मुलुकको राजनीतिक अवस्था बिग्रदै गएको भन्दै चिन्ता ब्यक्त गर्नेगरेका छन्  । उनले नेपाली काँग्रेसले बिग्रेको राजनीतिलाई समेत मिलाएर नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा त्यस्तो हुन नसकेको र पार्टी संगठन राष्ट्रिय रुपमा मात्र नभएर जिल्लास्तरमा समेत कमजोर बन्दै गएकोले जिम्मेबार बन्न कार्यकर्तालाई सुझाब दिने गरेका छन्  ।

निराशाजनक भन्दा पनि आशा जगाउने खालको कुरा गर्न रुचाउने र सोहि अनुसारको सल्लाह दिने नेताको रुपमा पनि पौडेललाई लिने गरिएको छ  । पंचायतकालमा अर्थात बिद्यार्थी अबस्थादेखि नै नेपाल र भारतमा समेत बसेर कांग्रेसको संगठनमा लागेका पौडेलको नेपाली काँग्रेसका नेताहरु बिपी कोइराला,  गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शैलजा कोइराला, शुशील कोइरालालगायत संग राम्रो सम्बन्ध रहेको थियो भने समकालीन नेताहरु शेरबहादुर देउबा, रामचन्द्र पौडेल सहित अन्यसंग पनि उनि निकट रहेको मानिन्छ ।

लामो समय काँग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहदै आएको र काँग्रेस पटक पटक सरकारमा रहेको भएपनि पौडेल लाभको पदमा भने खासै पुगेनन् । उनलाई  तत्कालिन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछी कास्की – २ मा रिक्त प्रतिनिधिसभा सदस्यको निर्बाचनको बेला मात्र नेपाली काँग्रेसले उमेद्वार बनाएको थियो, तर नेकपा एमालेको तर्फबाट उमेद्वार बनेकी रबिन्द्रकि धर्मपत्नी बिद्या भट्टराईबाट नै पौडेल पराजित हुनुपरेको थियो  ।

उनि पोखराको अस्पतालमा आएर भर्ना भएको बेला अर्थात् अघिल्लो साता नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम सांसद प्रदिप पौडेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे, काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट,काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल, पूर्व मेयर भोला थापा. पूर्व जिल्ला सभापति महादेव गुरुङ, बुद्दिजिबी निलकण्ठ शर्मा, काँग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी, नेता आई बहादुर गुरुङ भेट्न पुगेका थिए भने त्यसपछि पुम्दी स्थित घरमा नै भेट्न जानेहरुको चाप पनि बढेको छ ।

पौडेललाई भेट्न पुगेका कास्की काँग्रेसका नेताहरु गिरिराज गौतम, पोषनाथ शर्मा र बिष्णु बहादुर क्षेत्रीसंग पनि पौडेलले आफ्नो स्वास्थ र पार्टीको अबस्थाका बारेमा चिन्ता प्रकट गर्दै पार्टी संगठनलाइ बलियो बनाउन सबै लाग्नुपर्ने कुरामा जोड दिएको बताइएको छ।

२८ फाल्गुन २०८०, सोमबार १७:५९ मा प्रकाशित
Nabintech