Play

मन्त्री किरांतीको अभिव्यक्तिलाई लिएर पोखरामा नेविसंघ आन्दोलित, प्रहरी आक्रमणमा नेता पुन गम्भीर घाईते

गुरुकुल खबर


पोखरा । नेपाल सरकारका संस्कृति मन्त्री सुदन किरांतीले दिएको बिबादास्पद अभिव्यक्तिलाई लिएर पोखरामा नेपाल विधार्थी संघ आन्दोलित बनेको छ ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्चियन धर्म नमान्नेहरु लाई संबिधान विरोधीको संज्ञा दिंदै तिनलाई जेल हाल्ने जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै कास्कीमा नेविसंघ आन्दोलित बनेको हो ।

नेबिसंघले मन्त्री सुदन किरांतीलाई वर्खास्त नगरे सम्म आन्दोलन जारी रहने जनाएको छ ।

यसक्रममा कास्कीको पोखरामा नेविसंघका कार्यकर्ताले दिनहुं जसो मशाल जुलुश समेत प्रदर्शन गरेका छन ।

आईतबार नेपाली कांग्रेस कास्कीको कार्यालय अगाडीबाट मशाल जुलुश शुरु गरि महेन्द्रपुल तर्फ जांदै गर्दा प्रहरीले हस्तक्षेप गर्नुको साथै लाठीचार्ज समेत गरेको थियो । त्यस क्रममा प्रहरीले विधार्थीहरुले बोकेको टायर र मशाल नियंत्रणमा लिन बल प्रयोग गर्नुको साथै लाठीचार्ज गरेपनि प्रदर्शनकारीहरुलाई गम्भीर चोट लागेन ।

तर सोमवार पोखराको पृथ्वी नारायण क्याम्पस अगाडी आयोजित विरोध कार्यक्रममा भने प्रहरी आक्रामक बनेर कुटपीटमा उत्रिंदा एक जना विधार्थी गम्भीर घाईते बन्न पुगेको छन ।

पृथ्वीनारायण बहुमुखी क्याम्पस अगाडी मन्त्री किरांतीको पुत्ला ल्याएर दहन गर्न खोज्दा किरांतीको मलामीको रुपमा आएका नेविसंघका विधार्थीहरुलाई प्रहरीले हस्तक्षेप गरि भएको झडपमा परि नेविसंघका नेता तथा नेपाल मगर विद्यार्थी संघ गण्डकीका अध्यक्ष डेक पुन गम्भीर घाइते भएका छन् । उनको टाउकोको पछाडि भागमा गम्भीर चोट लागेको छ ।

उनको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा अपरेशन गरि उपचार भइरहेको जानकारी नेविसंघ कास्कीका नेता अशिम सुबेदीले गुरुकुल खवरलाई जानकारी दिए । पुनमाथि प्रहरीले ढुंगा प्रहार गरेर घाइते बनाएको नेविसंघका केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलले बताए।

हाल उनको अवस्था खतरामुक्त रहेको तर उपचारको लागि समेत नेविसंघका साथीहरुले नै सहयोग गर्नुपरेको बताईएको छ । यस विषयमा नेपाली कांग्रेस समेत गम्भीर बन्नुपर्ने विधार्थीहरुको भनाई छ ।

महेन्द्रपुलमा र पृथ्वीनारायण क्याम्पस गेट अगाडी भएको प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्यहरु संजय आले, निर्दोष विक्रम पौडेल, नेविसंघका नेता एवं कास्कीका उपसभापति अशिम सुबेदी, र पृथ्वीनारायण क्याम्पस नेविसंघका नेता शुसिल न्यौपाने लगायतले आआफ्नो भनाई राख्दै सरकारको मन्त्रीले नै जथाभावी बोल्ने र नेपालीहरुबिचको सामाजिक एवं धार्मिक सद्भाव बिगारेर देशलाई द्वन्द्वमा लैजान खोजेको भन्दै आलोचना गरेका थिए ।

यसैबीच नेविसंघले घटनाको निन्दा गरेको छ । नेता पौडेलले जनताको सुरक्षा गर्ने प्रहरीले नै ढुंगा हानेर नेविसंघका नेतालाई घाइते बनाउनु दुःखद् भएको बताए । उनले प्रधानमन्त्रीले मन्त्री सुदन किराँतीलाई पदबाट नहटाएसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए ।

मन्त्री किराँतीले नेपाली जनताको भावनामा ठेस लाग्ने गरि गैरजिम्मेवार अभिव्यक्ति दिएकाले उनलाई एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार नभएको नेविसंघका नेता प्रयास कोइरालाले बताए ।

यस विषयमा कास्की प्रहरीले भने विद्यार्थीहरुकै पक्षबाट प्रहार भएको ढुंगा लागेर पुन घाइते भएको दावी गरेको छ। कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले भने, ‘उहाँहरु राँके जुलुस निकाल्दै हुनुहुन्थ्यो । प्रहरीले उहाँहरुलाई सीमित ठाउँमा मात्रै आन्दोलन गर्न दिन लाग्दा उहाँहरुले ढुंगा हान्न थाल्नुभो । एकै छिन झडपजस्तो भयो ।’

१० पुष २०८०, मंगलवार ०९:४३ मा प्रकाशित
Nabintech