Play

नगेन आर्ट एकेडेमीमा तेस्रो राष्ट्रिय कला प्रदर्शनी सुरु

गुरुकुल खबर


पोखरा, नगेन आर्ट एकेडेमीको आयोजनामा तेस्रो राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ । पोखरा–४, चिप्लेढुङ्गा स्थित घामपानी मार्केटमा रहेको एकेडेमीकै हलमा चित्रकला प्रदर्शनी सुरु भएको हो ।

सो प्रदर्शनी कार्यक्रमको समुद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गण्डकी प्रदेशको नक्साको चित्र कोरेर गरे ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले कलाकार राष्ट्रको गहना भन्दापनि यो मानव शरीको महत्वपूर्ण अंग आखाँको रुपमा आफुले लिएको बताए । उनले शब्दले बयान गर्न नसकेका धेरै कुराहरु चित्रले बोल्ने सुनाए । “शान्ति, पर्यटन र कला प्रर्वद्धन” भन्ने मूल उद्देश्यसहित स्थापित नगेन आर्ट एकेडेमीले आयोजना गरेको यस चित्रकला प्रदर्शनी कार्यक्रम निकै उत्कृष्ट रहेको बताउँदै आसोज २० गतेसम्म सञ्चालन रहने यस प्रदर्शनी कार्यक्रमको लागि शुभकामनासँगै सफलताको कामना समेत गरेका थिए ।

त्यस्तै उद्योग महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले अन्तर्राष्ट्रिय स्तरमा चित्रकलाको महत्व भएको तर नेपाल जस्तो कला–संस्कृतिमा धनी भएको राष्ट्रमा कलाको उजार गर्नको लागि सरकारले अझै पहल गर्न नसक्नु दुःखद भएको बताए । नगेन आर्ट एकेडेमीले राजधानी बाहिर रहेर यस क्षेत्रको विकासका लागि केही गर्ने उद्देश्यसहित स्थापना भई विभिन्न समयमा आयोजना गर्दै आईरहेको यस्ता प्रदर्शनी कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने गरेको उनले बताए ।

प्रदर्शनी कार्यक्रममा नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पुर्व सभासद् नगेन सिँहले कलाकार राष्ट्रका गहना होइन अभिन्न अंगका रुपमा घोषणा गर्नुपर्ने माग राख्दै नेपाल ललितकला विकास बोर्डको आवश्यक भएको बताउँदै प्रत्येक नगरपालिका तथा गाउँपालिकामा कला विभाग हुनुपर्ने लगाएतका मागहरु राखे ।

यस्तै नगेन न्युज पब्लिकेशन प्रा.ली.का अध्यक्ष ज्योती हमालले राज्यले कला तथा कलाकारको सम्मान गर्न नसकेका कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको र पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी सञ्चालनमा ल्याइएको बताइन् ।

उनले विकसित देशहरुमा प्रत्येक वडामा आर्ट सेन्टर हुने गरेको तर नेपालमा न त आर्ट सेन्टर छ न त आर्ट ग्यालरी नै जसका कारण चित्रकला प्रदशनीमा समस्या भएको भन्दै नगेन आर्ट एकेडेमीले कलाकारले सिर्जना गरेका कला अब कहाँ प्रदर्शर्नी गर्ने भनेर भौतारिनु नपर्ने वातावरण सिर्जना गर्ने बताइन् ।

तेस्रो राष्ट्रिय कला प्रदर्शनी आयोजना गर्दासम्म पनि कुनैपनि सरकारी निकाय र यससँग सम्बन्धीत निकायहरुबाट चासो नदिएकोमा उनले दुःख समेत व्यक्त गरिन् ।

सात प्रदेशका १४ वटा जिल्लाका १ सय ४० जना कलाकारहरुले कोरेका चित्रहरु रहेको यस प्रदर्शनी असोज २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीमा रहेको बिशाल कलाकृतिको मुल्य १ हजारदेखि १ करोड ५० लाखसम्म रहेको कार्यक्रम संयोजक प्रमिशा सिलवालले जानकारी दिइन् ।

प्रदर्शनी कार्यक्रमको समुद्घाटनमा स्वागत एकेडेमीका सल्लाहकार कृष्ण रानाभाट र धन्यवाद विद्यार्थी शिला घिमिरेले गरेका थिए । प्रदर्शनी कार्यक्रमको सहयोगी सस्था पोखरा प्रज्ञा प्रतिष्ठान, खल्ती एप र अफिसियल मिडिया परिचय नेटवर्क रहेको छ ।

२१ भाद्र २०८०, बिहीबार १२:५६ मा प्रकाशित
Nabintech