पोखरा, कास्की प्रहरीले सुन ओसारपसारको आरोपमा एक महिलालाई पोखरामा पक्राउ गरेको छ । आज बिहान ती महिलाको ब्रा भित्र लुकाएको २८० ग्राम २९ मिलिग्रामको सुनको बिस्कुट र औंठी बरामद गरेको छ ।
बैदाम प्रहरी प्रमुख डीएसपी वेदप्रकाश जोशीका अनुसार प्रहरीले काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा यात्रारत काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङबाट सो सुन बरामद गरेको हो । विशेष सूचनाका आधारमा पोखरा बसपार्क पुगेर बसबाट झर्नासाथ ती महिलाको शरीर खानतलासी गर्दा ‘सुनजस्तो देखिने’ धातु भेटिएको उनले बताए।
डीएपी जोशीका अनुसार महिलाले प्रारम्भिक बयानका क्रममा काठमाडौंको एक व्यक्तिले निश्चित रकम दिएर सुन पोखरा लैजान भनेको र सोहीअनुसार आफू सुन बोकेर पोखरा आएको बताएकी छन्।
‘पोखरा पुगेपछि एउटा फोन आउँछ, उसैलाई सुन दिनू भनेका थिए,’ती महिलालाई उधृत गर्दै डीएसपी जोशीले भने,‘हामीले फोन कु¥यौंँ तर ती महिलाको मोबाइलमा फोनचाहिँ आएको छैन। अब हामी यो धातु राजश्व अनुसन्धान विभागलाई सुम्पन्छौँ।’
ती महिलाबाट बरामद सुन पोखराको कुनै सुनचाँदी व्यवसायीका लागि कसैले पठाएको र यो उपक्रम लामो समयदेखि चलिरहेको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ। पोखरामा सुनको माग अत्यधिक छ। तर, नेपाल राष्ट्र बैंकले दैनिक १० किलोग्राम सुनमात्र बजार पठाउँछ। त्यसको थोरै मात्रा मात्र पोखरा आइपुग्छ।













