पोखरा, बडादसैँ अन्तर्गत टीकाको तेस्रो दिन आज शुक्रबार पनि आंफ्ना मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका वा छुटेकाहरूले आज आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन् । कतिपयले भने दशैको टिका पुर्णिमासम्म पनि लगाउने परम्परा छ ।
मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको आवागमनका कारण सडक तथा सहर बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । यसैबिच, दसैँ मनाउनका लागि सदरमुकाम तथा सहरबाट बाहिरिएका पुनः आ–आफ्नो गन्तव्यतर्फ फर्कने क्रम पनि सुरु भएको छ ।
नेपाली परम्पराअनुसार विजयादशमीका दिनबाट सुरु भएको टीका र जमरा लगाउने यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म चल्ने गर्दछ । लामो समयदेखि भेटघाट नभएका आफन्त तथा परिवारजनसँग भेट हुने र पुनर्मिलन हुने अवसरका रूपमा समेत दसैँलाई लिइने गरिन्छ ।
आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ । दसैंको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहन्छ।
हिन्दु पात्रोअनुसार आश्विन शुक्ल पक्षको एघारौँ तिथिलाई पापाङ्कुशा एकादशी भनिन्छ । वैष्णव परम्परामा यस एकादशीलाई विशेष महत्त्वका साथ लिइन्छ । यस दिन भगवान् विष्णुको पद्मनाभ स्वरूपको पूजा–आराधना गर्ने धार्मिक मान्यता छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार यस एकादशीको व्रत र भगवान् विष्णुको उपासनाले पापबाट मुक्ति प्राप्त हुने विश्वास गरिन्छ । यस दिन व्रत बस्ने, फलाहार गर्ने, पूजा–पाठ गर्ने तथा एकादशी महात्म्यको कथा श्रवण गर्ने चलन छ ।













