पोखरा । पोखरास्थित रेडियो सराङकोटले विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाउने भएको छ । वार्षिकोत्सवको अवसरमा रेडियोले तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
भदौ ७ गते सञ्चारकर्मीबीच तीज विशेष कार्यक्रम र असोज ७ र ८ गते अन्तरमिडिया फुटसल प्रतियोगिता आयोजना गरिएको रेडियोका कार्यकारी निर्देशक कृष्णबहादुर थापाले जानकारी दिए ।
फुटसल प्रतियोगितामा करिब २५ टिम सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिता विजेताले ४० हजार र उपविजेताले २५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत पुरस्कारसमेत व्यवस्था गरिएको संयोजक युवराज भण्डारीले जानकारी दिए ।
प्रतियोगिता संयोजक भण्डारीले प्रतियोगितामा भाग लिने खेलाडी विशुद्ध पत्रकार तथा सञ्चारकर्मी हुनुपर्ने बताए । उनले गैरपत्रकार एवं संचारकर्मीलाई प्रवेशमा कडाइ गर्न कुनै कसर बाँकी नराख्ने बताए । त्यसका लागि सरोकारवालासँग बसेर थप प्रावधान बनाइने उनको भनाइ छ ।
‘एकताबद्ध सहकार्य, आर्थिक उन्नतिका लागि सहकारी’ मूल मन्त्रका स्थानीय समुदायको पहलमा २०६३ सालको असोजमा सराङकोट बहुउद्देश्यीय सहकारी संस्था स्थापित भएको हो । सोही सहकारीद्वारा रेडियो सराङकोट संचालन भइरहेको स्टेशन म्यानेजर योगेन्द्र श्रेष्ठले जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक अर्जुनबहादुर बस्नेतले सो अवसरमा सम्मान, प्रोत्साहन कार्यक्रम, रक्तदान एवं सरसफाइ कार्यक्रम समेत हुने जानकारी दिए ।
कार्यक्रममा स्वागत रेडियोका निर्देशक रमेशबहादुर थापा र संचालन स्टेशन म्यानेजर योगेन्द्र श्रेष्ठले गरेका थिए । पोखराको न्युरोडिस्थित रेडियो सराङकोटले समयसमयमा सामाजिक उत्तरदायित्वका कार्यक्रम संचालन गर्दै आएको छ ।