बेनी (म्याग्दी), पछिल्लो मनसुनजन्य विपद् अर्थात असोजको ८ देखि ११ गतेसम्म आएको बर्षा र त्यससंगै आएको बाढी र पहिरोका कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। बाढी र पहिरोले क्षतविक्षत बनाएको उक्त सडकको स्थायी पुनर्निर्माणका लागि थप तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
अविरल वर्षापछि आएको बाढी र पहिरोले कालीगण्डकी करिडोरलाई ठूलो क्षति पुर्याएको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकीको बाढीले १० ठाउँमा सडक भत्काएर बगाएको छ भने ५० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्याएको छ। ‘रु ८० देखि ९० करोड क्षति भएको अनुमान गरिएको सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुरानै अवस्थामा फर्काउन थप रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने देखिएको छ,’ आयोजना प्रमुख शर्माको भनाई छ
पहिरो र नदी नियन्त्रणसँगै यसअघि डिबिएसडी कालोपत्र गरिएको सडकको म्याग्दी खण्डमा अस्फाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने भएको छ। पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर लामो यो सडकमध्ये सबैभन्दा बढी म्याग्दी खण्डको ३३ किलोमिटर दूरीमा क्षति पुगेको छ।
यसअघि सुरक्षित मानिएका क्षेत्रमा समेत नयाँ पहिरो र कटान सुरु भएको छ। सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले विसं २०७३/०७४ मा सुरु भएको यस सडक आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो क्षति भएको बताए। सडकमा क्षति पुगेसँगै यात्रा अवधि पनि बढेको छ। यसअघि करिब एक घण्टा तीस मिनेटमा पार हुने म्याग्दी खण्ड अहिले बाढीपहिरोका कारण तीनदेखि चार घण्टा लाग्न थालेको छ।
पर्वतको फर्से, केराबारी, लामाबगर, म्याग्दीको तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुइठेभिर, खामभित्ता र सुकेबगर क्षेत्रमा बाढी तथा पहिरोले व्यापक क्षति गरेको छ। कालीगण्डकीले पोखरेबगर सडक पुल बगाएपछि हाल अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिएको छ।
पहिरो गएका केही स्थानमा एकतर्फी मात्रै सवारी चलेका कारण गाडी फस्ने र जाम हुने समस्या बढेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए। कोरला नाकाबाट भित्रिने कन्टेनर, मालवाहक सवारीसाधनका साथै मुस्ताङ आवतजावत गर्ने पर्यटक र स्थानीयवासीको अत्यधिक चाप यो सडकमा बढ्न थालेको छ।
चीन र भारतलाई जोड्ने कोरला नाका तथा पर्यटकीय एवं व्यापारिक दृष्टिकोणले अति महत्वपूर्ण मानिएको यस सडकको केही दिनअघि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा मन्त्री पुनले भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले बजेटको कमी हुन नदिने र छिटोभन्दा छिटो काम अघि बढाउन निर्देशन दिएका थिए।













