Play

मुक्तिनाथ बाबाको संकल्पमा मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा कार्तिक ८ गतेबाट शुरु हुने

गुरुकुल खबर


पोखरा, नेपालीहरुमा आध्यात्मिक चेतनाको विस्तार गर्दै राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देश दिने र वैदिक सनातन धर्मको जगेर्ना गर्ने लक्ष सहित यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा– २०८३ सञ्चालन हुने भएको छ ।

मुक्तिनाथ पीठाधीश समेत रहेका स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्सङ्कल्प अनुसार केहि बर्षदेखि हुँदै आएको रथयात्रालाई यस बर्ष बिस्तार गरि नेपालको पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई एक सूत्रमा जोड्ने किसिमले गर्जन थालिएको हो।

रथयात्रा संचालन गर्नको लागि सार्बजनिक गरिएको कार्यतालिका अनुसार यही कात्तिक ८ गते आइतबारका दिन जोमसोमको मुक्तिनाथ मन्दिर परिसरबाट शुरु गरिने रथायात्रा गलेश्वर हुँदै म्याग्दीको बेनी र त्यसपछि बाग्लुंगको कुंडूले फेदी पुगेर रात्रि विश्राम गर्नेछ ।

कात्तिक ९ गते त्यहाबाट पञ्चकोट–बागलुङ बजार, मालढुङ्गा हुँदै पर्बतको कुश्मा र त्यसपछि कास्कीको नाउडाँडा र हेमजा हुँदै पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सन्त सेवाश्रम, रामघाटमा रात्रि विश्राम गर्ने कार्यक्रम रहेको जानकारी सोही आश्रमको ब्यबस्थापन समितिकी अध्यक्ष उर्मिला बस्नेतले गुरुकुल खबरलाई जानकारी दिईन ।

कात्तिक १० गते पोखराबाट तनहुँको दमौली–डुम्रे– चितवनको मुग्लिंग–धादिङ हुँदै काठमाडौँको थानकोट–कलङ्की–स्वयम्भू–बालाजु र चक्रपथ हुँदै गोल्फुटारस्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रम पुगेर रथयात्रा विश्राम गर्नेछ । कात्तिक ११ गते काठमाडौँ नगर परिक्रमा गरी श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाम, भक्तपुरमा रात्रि विश्राम गर्ने कार्यतालिका रहेको बताइएको छ ।

कात्तिक १२ गते भक्तपुरबाट साँगा–बनेपा–धुलिखेल–भकुण्डेबेँसी र खुर्कोट हुँदै सिन्धुली पुग्ने रथयात्राले कात्तिक १३ गते सिन्धुली– भीमान–कटारी–गाईघाट र बराहक्षेत्र हुँदै श्रीमुक्तिनाथ मन्दिर, चतराधाममा रात्रि विश्राम गर्नेछ । यसैगरी कात्तिक १४ गते चतराबाट धरान–इटहरी–विराटचोक–बेलबारी– लेटाङ–पथरी–ऊर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक १५ गते गोवर्धन गौशाला किलिकले– लालमखोला–माईधार–बिर्तामोड–अर्जुनधारा–बुधबारे–चारआली–भद्रपुर र काँकडभिट्टा हुँदै श्रीयोगीराज कमलनयनाचार्य आश्रम, माइधारमा रात्रि विश्राम गर्नेछ । कात्तिक १६ गते माईधारबाट रङ्गेली हुँदै विराटनगर परिक्रमा गरी श्रीलक्ष्मीनारायण मन्दिर, पाञ्चालीमा विश्राम गरिनेछ । कात्तिक १७ गते विराटनगर–दुहबी–इटहरी–लहान र धनुषा हुँदै जनकपुरधाम पुगेर रथयात्रा रात्रि विश्राम गर्ने कार्यक्रम छ ।

कात्तिक १८ गते जनकपुरधाम परिक्रमा गरी ढल्केवर–बडहरी– लालबन्दी–बर्दिवास–लालबन्दी–नवलपुर–हरिवन–चन्द्रनिगाहपुर–निजगढ र पथलैया हुँदै सिमरामा विश्राम गर्नेछ । कात्तिक १९ गते सिमरा–पथलैया र अमलेखगञ्ज हुँदै हेटौँडा नगर परिक्रमा गरी श्रीकस्तुरी रङ्गनाथ मन्दिर, चिसापानीमा रात्रि विश्राम गर्ने कार्यक्रम तय गरिएको छ ।

कात्तिक २० गते हेटौँडाबाट मनहरी–वसन्तपुर–भण्डारा–पर्सा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा विश्राम गरिनेछ ।कात्तिक २१ गते नारायणगढ–गैँडाकोट–भेडाबारी–फूलबास, रजहर–दलदले–प्रगतिनगर–कावासोती–डण्डा–चोरमारा–अरुणखोला– दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालयमा रात्रि विश्राम गर्ने कार्यतालिका छ ।

कात्तिक २२ गते बर्दघाट–भुताहा–भूमही–सुनवल र बुटवल हुँदै रथयात्रा रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्वेद स्वर्गद्वारी आश्रम पुग्नेछ। कात्तिक २३ गते खरेन्द्रपुर–चन्द्रौटा–मालुवाङ–लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर रात्रि विश्राम गरिनेछ । कात्तिक २४ गते नेपालगञ्जबाट टीकापुर हुँदै लम्कीचुहा क्षेत्रमा विश्राम गर्ने र कात्तिक २५ गते लम्कीचुहाबाट पुनर्वास हुँदै महेन्द्रनगर (महालक्ष्मी) स्थित श्रीराधाकृष्ण मन्दिरमा रात्रि विश्राम गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक २६ गते महेन्द्रनगर–भलारी र अत्तरियाको मार्ग हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा रथयात्रा पुग्नेछ । कात्तिक २७ गते धनगढी–हसुलिया–राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिरमा रात्रि विश्राम गरिनेछ । कात्तिक २८ गते कोहलपुरबाट सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गर्ने कार्यक्रम छ । कात्तिक २९ गते तुलसीपुर–घोराही–लमही–गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुगेर रात्रि विश्राम गरिनेछ ।

रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा यात्रा विश्राम तथा रथयात्राको समापन गरिने कार्यक्रम रहेको छ । रथयात्रा सकिए लगत्तै श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३ आयोजना हुनेछ ।

‘यस धार्मिक रथयात्राले नेपालको मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देशविदेशसम्म पुर्याउंदै समग्र देशको धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै तीर्थस्थलको आपसी सम्बन्ध विस्तार, सनातन संस्कृतिको जगेर्ना र आध्यात्मिक जागरणमा महत्वपूर्ण योगदान दिने मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले बताए । रथयात्राले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावनालाई अझ बलियो बनाउने पनि उनको भनाइ छ । ( फाइल तस्बिरहरु )

२ कार्तिक २०८३, सोमबार २०:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा