पोखरा ।आसन्न स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा नेपाली कांग्रेस लगायत गठबन्धनका दलका शिर्ष नेताहरु पोखरा आउने भएका छन । यही बैशाख २५ गते पोखराको अमरसिंह चौरमा आयोजना गरिने चुनावी सभामा सहभागी बन्न केन्द्रीय नेताहरु पोखरा आउने भएका हुन ।
गठबन्धनका दलहरुको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले चुनावी सभामा आम मतदाताको उल्लेखनीय सहभागिता जुटाउनका लागि विभिन्न तयारी समेत गरिएको जनाएको छ । चुनावी सभामा विशेष गरि पोखरा महानगरपालिका क्षेत्रका मतदाताहरुलाई सहभागी बन्न आग्रह गरिएपनि कास्की जिल्लाका विभिन्न पालिकाबाट समेत पार्टी कार्यकर्ताहरु सहित समर्थक र शुभचिन्तक हरु सहभागी हुने विश्वास चुनावी सभाका आयोजक कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले बताउनुभयो ।
पोखरा महानगर पालिकामा गठबन्धनका दलहरुको तर्फबाट नेकपा एसका नेता धनराज आचार्य मेयर र नेपाली कांग्रेसको तर्फबाट कोपिला रानाभाट उममेयरको उमेदवार हुनुहुन्छ ।
यस बाहेक पोखरा महानगरका विभिन्न वार्डहरुमा समेत गठबन्धनका तर्फबाट साझा उमेदवारी दिने भनिएपनि कतिपय वार्ड र गाउंपालिकामा गठबन्धनका दलहरुकै बिचमा चुनावी प्रतिस्पर्धा हुंदैछ । यसलाई मित्रवत् प्रतिस्पर्धाको रुपमा समेत लिईएपनि गठबन्धनका दलहरुबिचमा केही शंका र अन्योल समेत बढेपछि त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ नेताहरु पोखरा आउन लागेका हुन । चुनावी सभामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमंत्री शेर बहादुर देउवा, पूर्व प्रधानमंत्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल , नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओबादी केन्द्रका नेता नारायण क़ाज़ी श्रेष्ठ , नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङ, सह महामन्त्री जिवन परियार समेतका नेतासंगै पोखरा महानगरका मेयरका उमेदवार धनराज आचार्य र उपमेयरका उमेदवार कोपिला रानाभाट लगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चुनावी सभामा आउन चाहाने सर्वसाधारणको लागि यातायात व्यवस्थापन देखि प्रचार प्रसार , कार्यक्रम स्थल र मन्च व्यवस्थापन गर्ने काम अगाडी बढाईएको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस कास्कीले चुनावी सभा सफल पार्न आवश्यक तयारी अगाडी बढाउने सम्बन्धि छलफल गर्न जिल्ला , क्षेत्र र महानगर समितिको संयुक्त बैठक समेत आयोजना गर्यो ।
बैठकमा पार्टीका जिल्ला सभापति किशोरदत्त बरालले चुनावी सभालाई व्यवस्थित बनाउन र उल्लेखनीय संख्यामा सर्वसाधारणको उपस्थिति गराउन प्रचार प्रसार गर्ने र सबै तहका कार्यसमितिलाई जानकारी गराउने काम भैरहेको भन्दै तयारीका बारेमा जानकारी दिनुभयो ।
बैठकमा क्षेत्रीय सभापतिहरु केशर निर्दोषी र राजेन्द्रमणी लामिछाने सहित पार्टीका जिल्ला उपसभापति राम बावु भण्डारी, सचिव देवेन्द्र रानाभाट , सहसचिव नविन सिग्देल र शंकर ढुंगाना सहित सदस्यहरु विश्वशंकर पालिखे, वर्षा केशव पराजुली, विजयालक्ष्मी कोईराला, चौ बहादुर गुरुडं , खेम बहादुर गुरुडं, सिता शर्मा , प्रजातन्त्र सेनानी संघका देवदत्त कोईराला, सांस्कृतिक संघका कृष्ण कुमार गुरुडं, नेपाल ट्रेड युनियन कांग्रेसका जित बहादुर गुरुडं , प्रदेश सभापति दिनेश आचार्य लगायतले आआफ्नो भनाई सहित ज़िम्मेवारी अनुरुप भैरहेको कामका बारेमा जानकारी गराउनुभएको कास्की कांग्रेसका जिल्ला सदस्य एवं संचार संस्था समन्वय उपसमितिका संयोजक गंगाधर पराजुलीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकार राधिका हमाल र राम्जी खांण लगायत सहभागी बन्ने बताइएको छ ।