पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका इकाइबाट ३ सय ६५ दिने कार्ययोजना अनुसार चलाइएको अभियान अन्तर्गत हालसम्म ८९८ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरिएको छ। मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्नेहरु विरुद्ध प्रहरीले कडा कारबाही सुरु गरेको हो।
कास्की जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा स्वरूप परिवर्तन गरी आगोको झिल्का निकाल्ने र होहल्ला मच्चाउने ३६ जना मोटरसाइकल चालकहरू र ८९८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मोडिफाइ गर्ने गराउने ३६ जनामध्ये २९ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको र अन्यलाई सम्झाएर परिवारको जिम्मा लगाइएको छ।
कारबाहीमा परेका ८ सय ९८ वटा मोटरसाइकलमध्ये ३ सय ६७ वटाको पटके कारबाही परेको हुँदा यातायात व्यवस्था कार्यालयमार्फत कारबाही भएको छ। अन्य मोटरसाइकललाई ट्राफिक जरिवाना गरी छाडिएको छ। पक्राउ परेका सबै मोटरसाइकल प्रहरीको रोहबरमा मेकानिक झिकाइ पहिलेको अवस्थामै फर्काइएको छ। अब आइन्दा यस्तो गतिविधि नगर्ने सर्तमा ती सवारीसाधन छाडिएको छ।
यस्तो कार्यले बालबालिका, वृद्धवृद्धा, असहाय, बिरामी तथा अस्पतालमा उपचाररत व्यक्तिहरूलाई मानसिक र शारीरिक असर पार्ने प्रहरीले जनाएको छ। सवारीसाधन धनीले आफ्नो साधन मोडिफाइ नगरिकन असली स्वरूपमा चलाउन आग्रह गरिएको छ। साथै, मोडिफाइ कार्यमा संलग्न ग्यारेज, वर्कसप र रिकन्डिसन हाउस सञ्चालकहरूलाई पनि यस्ता कार्य नगर्न र नगराउन अनुरोध गरिएको छ।
कास्कीका प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र मातहतबाट यो अभियान निरन्तर रूपमा चलाइरहने प्रहरीले जनाएको छ। आगामी दिनमा कास्की प्रहरी थप सक्रिय भई निरन्तर लागि रहने जानकारी गराइएको छ।












