काठमाडौँ, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित क्लस्टरतर्फको जारी मतगणनामा सहमहामन्त्री पदमा प्रकाश रसाइली स्नेहीले आफ्ना प्रतिस्पर्धीभन्दा निकै फराकिलो मतान्तरका साथ अग्रता कायम गरेका छन्। कुल २,४०० मत गणना सम्पन्न हुँदा सहमहामन्त्रीका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १,६५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धीहरू मानबहादुर नेपालीले ४०३ मत र नरेन्द्र पासवानले २७० मत मात्र पाएका छन्।
दलित महिला केन्द्रीय सदस्य (५ पद):
दलित महिलातर्फका ५ केन्द्रीय सदस्य पदका लागि १६ जना प्रतिस्पर्धामा रहेकोमा सीता मिजारले सर्वाधिक १,०४९ मतका साथ अग्रता लिएकी छन्। प्रारम्भिक मतपरिणाम अनुसार शीर्ष पाँच स्थानमा रहेका अन्य उम्मेदवारहरूमा शान्ती परियार (वि.क.) (८५२ मत), रुपा वि.क. (७९८ मत), कमला नेपाली (७६२ मत) र छायाँ सुनार (६३९ मत) रहेका छन्।
दलित खुला केन्द्रीय सदस्य (८ पद):
दलित खुलातर्फका ८ केन्द्रीय सदस्य पदका लागि ३२ जना उम्मेदवार चुनावी मैदानमा रहेकोमा डा. डीबी सुनारले सर्वाधिक १,२९७ मतका साथ अग्रता बनाएका छन्। अग्रस्थानमा रहेका अन्य मुख्य उम्मेदवारहरूमा सागर परियार (८३४ मत), हरिशरण नेपाली (७८१ मत), मन्जित ताम्राकार (६४८ मत), शिव बहादुर सुनार (६४४ मत), अम्मर बहादुर बराईली (५८२ मत), राजु परियार (५६९ मत) र दीपक सोनी (५५७ मत) रहेका छन्।
दलिततर्फका सबै पदहरूको मतगणना सानेपास्थित केन्द्रीय कार्यालयमा निरन्तर जारी रहेकाले अन्तिम नतिजा सार्वजनिक हुन बाँकी नै रहेको निर्वाचन समितिले जनाएको छ।












