पोखरा, नेपाली कांग्रेसको १५ औं महाधिबेशनबाट केन्द्रीय सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) जीवनबहादुर शाही निर्वाचित भएका छन्। कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीसंगको प्रतिष्पर्धामा जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट उम्मेदवार बनेका थिए। नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पनि पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्रीको उम्मेदवार रहेका शाही त्यसबेला बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए।
यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही पदको मतगणना भइरहेको छ । हालसम्म सहमहामन्त्री खुलातर्फ पाँच हजार ३८८ मतगणना गरिएको छ । सहमहामन्त्री खुलातर्फ दुई पदका निम्ति ९ जना उमेदवार प्रतिस्पर्धामा छन् । जसअनुसार रामहरि खतिवडा २ हजार २७९ मतका साथ सुरुदेखि नै अगाडि छन् । १ हजार ६६८ मतसहित अजयबाबु शिवाकोटी दोस्रो स्थानमा रहेका छन ।

सहमहामन्त्रीका अन्य उमेदवारहरु अमृत कुमार अर्यालले ८३०, देवेन्द्रराज कडेलले १०९९, डिल्लिराम सुवेदीले १४५१, विकास कोइरालाले ९०६, विमलराज क्षेत्रीले २२५, रमेश प्रसाद धमलाले ६३३ र राजिव ढुंगानाले ९५८ मत पाएका छन उनीहरुको मतगणना जारी छ
यसैगरी कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य महिलातर्फको मतगणना पनि जारी छ। मंगलबार बिहानसम्म आएको मतपरिणाम अनुसार पहिलो स्थानमा सांसद समेत रहेकी बासना थापा छिन्। उनले ३ हजार ४८४ मत प्राप्त गर्दै पहिलो स्थानमा छिन्। केन्द्रीय सदस्य महिला खुलातर्फ १५ पदका लागि प्रतिस्पर्धा हुँदैछ।
दोस्रोमा उर्मिला थपलियाले २ हजार ६४७, तेस्रोमा निमा गिरीले २ हजार ६२०, चौथोमा कुसुमदेवी थापाले २ हजार १२९, पाँचौंमा धना कुमारी खतिवडाले २ हजार १२५ मत प्राप्त गरेका छन्।
त्यस्तै, अनिता देवकोटा १,९३० मत, विनिता खड्काले १,८९२ मत, पोखराकी लक्ष्मी पाण्डेले १,७७२, सृजना अधिकारीले १,७६२, मुना भुसालले १,६३२, चिनी पोखरेल (चिनु)ले १,५६४ मत, रिता थापा मगरले १,५१०, कान्तिका सेजुवालले १,४८१, उमा दाहालले १,४५८ र निर्मला तामाङ बस्नेत (नीरु)ले १,४२४ मत प्राप्त गरेका छन्।

अहिले खुलातर्फको केन्द्रीय सदस्यको मतगणना पनि सुरु भएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खुलातर्फको केन्द्रीय सदस्य सहित अन्य क्लस्टरहरूको मतगणना अहिल पनि जारी छ । समितिका अनुसार पदाधिकारीहरूको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।













