Play

कांग्रेसको महाधिबेशन प्रतिनिधिमा पराजित कास्की -३ का उमेदवारहरु को को ? (मत विवरण सहित)

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत कास्की क्षेत्र न. ३ को अधिबेशनबाट महाधिबेशन प्रतिनिधिहरु निर्बाचित भएका छन। यस क्षेत्रबाट महाधिबेशन प्रतिनिधि पदमा उमेदवारी दिएकाहरु मध्ये पुर्व केन्द्रीय सदस्य समेत रहेकी महिला नेतृ शारदा पौडेल र नेपाल महिला संघ कास्कीकी सभापति मिना पाण्डे र पुराना नेता रामचन्द्र त्रिपाठी सहित केहि अग्रज नेताहरु पराजित बन्न पुगेका छन।

तत्कालिन सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि देउवा पक्षमा देखिएकी पौडेल केहि दिन अगाडी मात्र गगन थापा नेतृत्वको नेपाली काँग्रेसमा समाहित भएर त्यहाँ पनि केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेकी थिईन। गगन थापा नेतृत्वको कांग्रेसमा जानु अगाडी उनि देउवा नेतृत्वको कांग्रेसको कास्की जिल्लास्तरीय बैठक र छलफलमा पटक पटक सहभागी बनेकी थिईन।

उनि संबिधान सभाको निर्बाचनमा कास्की -२ बाट निर्बाचित भएकी थिईन। नेपाल महिला संघ कास्कीको अध्यक्षको रुपमा लामो समय काम गरेकी पौडेलले संघको केन्द्रीय सचिब समेत बन्ने मौका पाएकी थिईन। निरन्तर  कांग्रेसको राजनीतिमा बिभिन्न जिम्मेवारीमा रहेकी पौडेल निकट रहेकी महिला संघ कास्कीकी सभापति मिना पाण्डे पनि महाधिबेशन प्रतिनिधिमा पराजित भएकी छन। उनलाई तत्कालिन देउवा नेतृत्वको कांग्रेसले महिला संघको कास्की जिल्ला सभापति मनोनित गरेपछि जिल्लामा उनको बिरोध भैरहेको थियो। देउवा समूहका नेता कार्यकर्ताहरु बाहेक अन्यले उनको बिरोध गर्नुको साथै उनलाई जिल्ला सभापति पदबाट हटाउन केन्द्रीय नेतृत्वसमक्ष निकै दवाब दिएका थिए।

यसैक्रममा बिशेष महाधिबेशनबाट गगन थापा नेतृत्वमा आएपछि पनि उनलाई हटाउने प्रयास स्थानियस्तर बाट गगन समुहका नेता कार्यकर्ताहरुले गर्दै आएका थिए। तर जिल्लामा संघका गतिबिधि गर्दै आएकी उनलाई सभापति पदबाट नहटाए पनि उनले गर्ने काममा भने अबरोध सिर्जना गर्ने काम हुँदै आएको थियो। पौडेल र पाण्डे दुबैलाई त्यस क्षेत्रमा देउवा समुहको भनेर चिनिएका तर गत फागुनमा प्रतिनिधिसभाको चुनाब लड्न गगन थापाले टिकट दिएको भन्दै गगनसंग जोडिएका मनोज गुरुंगले आफ्नो प्यानलमा राखेका थिए। गुरुङ बाहेक उनले बनाएको प्यानलका सबैजसो महाधिबेशन प्रतिनिधि पराजित हुने क्रममा पौडेल र पाण्डे पनि पराजित बन्न पुगेका हुन्।

यसपटकको अधिबेशनमा कास्की कांग्रेसको संगठनमा लामो समय प्रभाव जमाएका शुक्रराज शर्माको साथ लिएर कास्की कांग्रेसका उपसभापति युवराज कुँवरले बनाएको प्यानल र मनोज गुरुङले बनाएको प्यानलको बिचमा प्रतिष्पर्धा भएको थियो। प्रतिष्पर्धामा कुँवरको प्यानलले स्विप आउट जस्तै गरेको छ। शर्माको व्यक्तिगत प्रभाव संगठन भित्र बलियो रहँदैआएको भएपनि कास्कीमा कांग्रेसको संगठन भने कमजोर बन्दै गएको छ। यसपटक कास्कीका तिनवटै क्षेत्रमा भएको गुटबन्दीका कारण योग्य र क्षमतावान कार्यकर्ता र नेता पाखा लागेको मात्र नभएर तल्लो तहसम्म पार्टीलाई दुई चिरामा विभाजित गरेर प्यानल बनाउने काम भएकोले संगठना अझ कमजोर बन्ने सम्भावना बढेको छ।

यसपटक कास्की – ३ बाट महाधिबेशन प्रतिनिधिमा उमेदवारी दिएका पौडेल र पाण्डे जस्तै पुराना नेता रामचन्द्र त्रिपाठी पनि पराजित बन्न पुगेका छन। निरन्तर कांग्रेसको राजनीतिमा लागिरहेको भएपनी उनले अपेक्षा गरेको संघिय एबम प्रदेश सभाको उमेदवार बन्न नपाउँदा चिन्तित बन्दै आएका उनि यस पटक भने महाधिबेशन प्रतिनिधिमा समेत पराजित बन्न पुगे। उनलाई भने कुँवरको प्यानलमा राखेर उमेदवार बनाइएको थियो कुँवरको गुटबाट उनेदवार बनेका त्रिपाठी सहित जीवनाथ पौडेल पनि ३ मतको अन्तरले पराजित बन्न पुगेका छन। पौडेल मनोज गुटका बीरेन्द्र गुरुङसंग गोलाप्रथामा पराजित बनेका हुन । उनीहरु दुई जनाको ठाउँमा मनोज गुरुङको प्यानलका १ उमेदवार स्वयम् गुरुङ र गोला प्रथाबाट बिजयी बीरेन्द्रको साथै कुनै प्यानलमा पनि नपरेका कृष्ण पौडेल निर्बाचित भएका छन।

गुरुङको प्यानलमा रहेका कांग्रेसका पुर्व महासमिति सदस्य दिपक गुरुङ, उमेश पराजुली, कांग्रेस गण्डकी प्रदेश सदस्य जिबन बाँस्तोला, पोखरा -२ का वडाध्यक्ष दिवसमान प्रधानांग लगायत पनि पराजित बने। केहि मत नपुगेर पराजित बनेका कांग्रेस गण्डकी प्रदेशका सदस्य बाँस्तोलाले प्यानलमा राखिएको भन्ने तर बिभिन्न वडामा उमेदवारको नामावली पठाउँदा आँफु अनुकुलका नाम मात्र राख्ने र केहीलाई हटाउने प्रवृतिले मतदानको क्रममा बेईमानी गरेको देखिएको  बताए । उनले मतगणनामा खटिएका केहिको बदमासीका कारण प्रतिष्पर्धामा निकट रहेका केहीले जितेर पनि हार्नुपर्ने अबस्था सिर्जना भएको थियो।

चुनाबमा पराजित भएका पोखरा -३ का वडाध्यक्ष प्रकाशमान उदास कुनै पनि प्यानलमा परेको थिएनन भने पोखरा -१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे कुँवरको बलियो टिममा परेर पनि पराजित भएका छन। कांग्रेसका पुराना नेता रामजी प्रसाद अधिकारी पनि पराजित बनेका छन। श्रमिक तर्फबाट उमेदवारी दिएका नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष राजेश पलिखेलाई ट्रेड युनियन कांग्रेसका पुर्व केन्द्रिय सदस्य जीतबहादुर गुरुंगले फराकिलो मतान्तरमा हराएका छन। पालिखेले १४६ मत पाउदा गुरुङले ६६५ मत पाएका छन।

३५ बर्ष मुनिको युवा तर्फ आँफुलाई गगन थापाको अत्यन्त नजिकको दाबी गर्ने ठाकुर बराल पनि फराकिलो मतान्तरले पराजित भए। कुँवर र गुरुङ दुबैजनाले आँफुलाई गगन पक्षको भन्दै दुईवटा प्यानल बनाउंदा समेत दुवै तिरको प्यानलमा नपरेका बरालले प्यानलमा नरहँदा पनि १५१ मत पाएका छन। प्रजातन्त्र सेनानी तर्फको क्लस्टरमा भेषराज पराजुलीले ३ सय मत पाएर चुनाब जित्दा फणिन्द्रराज पराजुली,पुष्पा नापित र डिल्लीराज शर्मा पराजित बनेका छन। बिजयी पराजुली कुँवरको गुटमा परेका थिए भने अर्का पराजुली गुरुङको गुटमा थिए।

जनजाती तर्फको क्लस्टरबाट यस पटक कुँवर गुटमा परेका ललित गुरुङ र गुरुङको गुटमा परेका आशबहादुर गुरुङ बिजयी बनेका छन। ललित अघिल्लो महाधिबेशनमा झिनो मतान्तरमा पराजित बनेका थिए। पत्रकारिता पृष्ठभूमीका राजबहादुर गुरुङ भने बलियो मानिएको कुँवर गुटमा नाम रहेर पनि चुनाबमा पछाडी परे। ‘प्यानलमा बस्नुपर्यो भनेर मेरो नाम समाबेश गरेका साथीहरुले नै राजनीतिक अवसरको लागि अगाडिको यात्रा सम्झेर मलाई अन्तर्घात गरेको कारण मेरो जीतको लागि केहि मत पुग्न सकेन’ पराजित राज बहादुर गुरुङले गुरुकुल खबरसंग भने।

खस आर्य तर्फको दुई सिटमा पनि कुँवर र गुरुङको १/१ सिट बाँडिएको छ। जसअनुसार राजाराम पौडेल कुँवरको गुटबाट बिजयी भए भने गुरुङको गुटमा रहेका पशुपति भट्टराई झिनो मतले बिजयी बनेका छन। यसैगरी खस आर्य तर्फको महिलामा कुँवर गुटमा परेकी बिजयलक्ष्मी कोइराला र गुरुङ गुटमा परेकी सरिता तिमिल्सिना पगेनीले चुन्नाब जितेका छन। तर कांग्रेस जिल्ला सदस्य समेत रहेकी सिता शर्मा भने कुँवर गुटमा रहेर पनि चुनाब जित्न सकिनन।

१७ आश्विन २०८३, शनिबार २०:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा