पोखरा, पोखरामा रहेर पत्रकारिता गरिरहेका हरि पन्तलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी मीरा पन्तको ४० वर्षको उमेरमा क्यान्सर रोगका कारण बिहिबार निधन भएको हो । ५ वर्षदेखि क्यासर रोगबाट पीडित मीरालाई पछिल्लो समय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा भर्ना गरिएको थियो । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६, आगिञ्चोक, गोल्याङका पन्त परिवार हाल पोखराको मालेपाटन बस्दै आएको छ।
विभिन्न मिडियामा रहेर सक्रिय पत्रकारिता गरिरहेका हरि पन्त नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमितिका पुर्व सदस्य एबम नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न. ५ का कार्यसमिति सचिव समेत हुन् । धादिङ-पोखरा सम्पर्क समाजका पूर्व महासचिव रहेका उनि समाजको सल्लाहकार छन् ।
यसैबीच, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बरालले पत्रकार पन्तलाई पत्नीशोक परेकामा गहिरो दुःख व्यक्त गर्दैै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाट समेतका उनका शुभेच्छुक तथा साथीभाइहरुले मीराप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित हार्दिक समवेदना अर्पण गरेका छन् । स्व. मीरा पन्तको बिहीबार नै पोखराको सेती नदी किनार रामघाट (गीता मन्दिरदेखि तल) मा अन्त्येष्टि गरिँदैछ । पत्रकार पन्तका बुवा रोहिणी प्रसाद पन्तको पनि दुई वर्षअघि निधन भएको थियो ।














