काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । शुक्रबार दिउँसो राष्ट्रपति भवन, शीतल निवासमा पुगेर भेटवार्ता गरी आफ्नो भारत भ्रमणबारे जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएको राष्ट्रपति कार्यालयले पनि जनाएको छ । उक्त अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको पछिल्लो समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
यसअघि शाहले भारत जाँदा राष्ट्रपतिलाई भेटेर ब्रिफिङ गरेका थिएनन् । बालेनले राष्ट्रपतिलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति कार्यालयले त्यतिबेला असन्तुष्टि पोखेको थियो । प्रधानमन्त्री शाहले पछिल्लो पटक भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा मंसिर ६ र ७ गते भारतको भ्रमण गरेका थिए ।














