काठमाडौँ, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरको तीनदिने राष्ट्रिय भेला शुक्रबार काठमाडौंमा सुरु भएको छ । भेलामा देउवालगायतका नेताहरूले कांग्रेसलाई एकजुट बनाउने दाबी गरेका छन् । नेताहरूले देउवालाई पार्टी सभापतिकै रूपमा सम्बोधन गरेका छन् । भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र शेखर कोइराला पक्षका नेता–कार्यकर्ताको सहभागिता छ । विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वलाई अस्वीकार गरिएको सन्देश नेता–कार्यकर्तामा पुर्याउन भेला आयोजना गरिएको नेताहरूले बताएको भेलामा सहभागी कास्की कांग्रेसका नेता बिरेन्द्र नारायण बिजुक्छेले गुरुकुल खबरलाई जानकारी दिए ।
पुस अन्तिम साता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई देउवा पक्षले स्वीकार गरेको छैन । नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित देउवा समूहले राष्ट्रिय भेला आयोजना गरेको थियो । तर थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको ४ वैशाखको फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृहकार्य थाती राखिएको छ ।
संस्थापन पक्षले १५ औं महाधिवेशन तयारी गरिरहेका बेला देउवा पक्षले त्यसलाई चुनौती दिन पनि राष्ट्रिय भेला गरेको हो । भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले गगन थापालाई पत्र पठाउँदै १५ औं महाधिवेशनलगायतका संगठनात्मक गतिविधि रोक्न आग्रह गरिसकेका छन् । महाधिवेशनको प्रक्रिया अघि बढाए अदालतमा जानेसम्मको तयारीमा देउवा पक्ष छ ।
करिब पाँच महिनापछि स्वदेश फर्किएका देउवाले भेलालाई प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गरे । उनले कांग्रेस एकताबद्ध हुने बताए । ‘लामो इतिहास भएको कांग्रेसभित्र चरम विवाद, विशेष महाधिवेशनबाट विधि, विधान मिचिएको छ,’ उनले भने, ‘सर्वोच्चबाट न्याय हुनेमा पूर्ण विश्वस्त छु । भावनात्मक रूपमा मेलमिलाप हुनेमा विश्वस्त छु । पार्टीमा विवाद हुँदा राष्ट्रियता र लोकतन्त्र कमजोर हुने खतरा हुन्छ । विवादमा सहमति र सहकार्यबाट मेलमिलाप भएको अनुभव छ ।’देउवाले आफ्नो नेतृत्वमा सबैको न्याय हुने, भावनाको कदर हुने गरी अघि बढ्न आग्रह गरे । ‘पार्टी एकताको पक्षमा दृढ हुन आह्वान गर्न चाहन्छु । आग्रह पूर्वाग्रहभन्दा माथि उठेर राष्ट्रियता र एकतामा जोड दिनुपर्छ ।’
देउवाले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापका लागि बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने पनि बताए । ‘बृहत्तर राष्ट्रिय सहमतिको खोजी गर्न पहल गर्नेछु । राष्ट्रिय सहमतिसाथ अघि बढ्न दृढ संकल्पित छु । साझा उद्देश्य र संकल्प लिएका सबै राजनीतिक शक्ति र व्यक्तिसँग सहकार्य गर्नुपर्छ । बीपीले देखाएको राष्ट्रिय एकता र मेलमिलाप अझ सान्दर्भिक छ,’ उनले भने, ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता मेरो जीवनको मूल्य–मान्यता हो ।’
कांग्रेसका निवर्तमान सभापति देउवाले मुलुक संकटमा परेको उल्लेख गरे । ‘राजनीतिक अवस्था संवेदनशील देखिएको छ । सम्पूर्ण साथीहरूले सजग भएर राष्ट्रियता सुदृढ गर्न भूमिका खेल्नुपर्छ । निराशा आशामा बदल्नुपर्ने हुन्छ । दायित्व सबभन्दा पुरानो कांग्रेसले लिनुपर्छ,’ उनले भने, ‘अग्रजको बलिदान र संघर्षबाट मुलुक यो अवस्थामा आएको हो । इतिहासबाट सिकेर सही बाटो पहिल्याउन सकिन्छ ।’ विगतमा केही पनि भएको थिएन, खराब भयो भन्ने भाष्य फैलाउँदा मुलुक झन् कमजोर हुने जनाउँदै उनले विगतको इतिहासमा गर्व गर्नुपर्ने बताए ।
देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई आफू प्रजातन्त्रविरुद्ध जान नसक्ने बताएको पनि सुनाए । ‘मैले राजा ज्ञानेन्द्रलाई भनेको हो, प्रजातन्त्रको खिलाफमा कुनै हालतमा सहमत छैन । प्रजातन्त्र मेरो आदर्श हो भनेकै हो । राजाले मलाई शाही आयोग गठन गरी जेल हाले । न्यायालयले न्याय दिएको हो,’ उनले भने, ‘राजाले संवैधानिक राजतन्त्र मान्न चाहेनन् ।’

भेलाको संयोजकसमेत रहेका पूर्वमहामन्त्री शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताए । ‘कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो । एकजुट भएको खण्डमा कसैले पनि पराजित गर्न सक्दैन । मुख्य उद्देश्य यही हो,’ उनले भने, ‘सभापति शेरबहादुरको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ ।’ बीपीले देउवालाई पश्चिमको राजकुमार भनेको पनि कोइरालाले बताए । ‘बीपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो,’ उनले भने, ‘शेरबहादुरजीको भाग्य राम्रो छ ।’
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवाको नेतृत्वमा पार्टी र अन्य दल एकताबद्ध हुने बताए । ‘कांग्रेसलाई सभापति (देउवा) को नेतृत्वमा एकताबद्ध गर्न सफल हुनेछौं । राष्ट्रियता खतरामा छ । देउवाको नेतृत्वमा संविधानलाई रक्षा गर्दै चुनौतीपूर्ण जिम्मेवारीमा कांग्रेस उभिएको छ,’ उनले भने, ‘हामीले एकताबद्ध भएर सिंगो राष्ट्रवादी शक्तिलाई एक ठाउँमा उभ्याएर जानुपर्छ । एकताका लागि उत्साह र उमंग छर्ने छौं ।’
नेता शेखर कोइरालाले कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको जनाउँदै अब एकढिक्का हुनुपर्ने बताए । ‘देशका निम्ति एकढिक्का हुन जरुरी छ । अरू दलसँग सहकार्य गरेर अघि जानुपर्छ । देशबाहेक अन्य शक्तिसँग मिलेर राष्ट्रियता मजबुत गर्न सक्यौं भने कांग्रेसको मात्र होइन, देशको अवस्था पनि उज्ज्वल हुन्छ,’ उनले भने ।

अर्का नेता बिमलेन्द्र निधिले राष्ट्रिय राजनीतिको भूमिका बलियो बनाउन भेला आयोजना गरिएको बताए । ‘१५ औं महाधिवेशनलाई एकताबद्ध बनाएर सफल पार्नु भेलाको उद्देश्य हो,’ उनले भने, ‘१४ औं महाधिवेशनबाट निर्वार्चित भएका समितिलाई मात्र १५ औं महाधिवेशन गर्ने अधिकार छ । विशेष महाधिवेशन गरेको समितिलाई १५ औं महाधिवेशन गर्ने अधिकार छैन । सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ ।’
नेता प्रकाशशरण महतले आफूहरूले पार्टी विभाजन गर्न खोजेको नभई कानुनी बाटो अपनाएको बताए । ‘पार्टी तोड्न खोजेको होइन । अब कानुनी रूपमा बाटो खोज्नुपर्यो भनेर शेरबहादुर देउवा स्वयं, कार्यवाहक उपसभापति पूर्णबहादुर खड्कासहितबाट पुनरावलोकनका लागि निवेदन (सर्वोच्चमा) गयो,’ उनले भने, ‘अहिले निस्सा (पुनरावलोकन आदेश) प्राप्त गरेका छौं । चाँडै पूर्ण इजलास बसेर निर्णय हुन्छ, न्याय मिल्छ भन्ने लागेको छ ।’
अर्का नेता कृष्णप्रसाद सिटौलाले गगन थापाले विधान, विधि मिचेका कारण एकता हुन गाह्रो भएको बताए । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएकामा पनि उनले प्रश्न उठाए । ‘विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयुक्तलाई प्रश्न छ– गगनजी जानुभयो, दस्ताबेज लानुभयो, थपक्क दिनुभयो । तर देउवाजीलाई सोध्नुभयो ? कार्यसमितिलाई पत्र लेख्नुभयो ?’ उनले भने ।
अर्का नेता रमेश लेखकले विशेष महाधिवेशनले विभाजनको अवस्थामा पुर्याएको तर्क गरे । ‘विशेष महाधिवेशनका कारणले पार्टी विभाजनको अवस्थामा पुगेको छ । देउवाजीको नेतृत्वमा एकताबद्ध गर्ने प्रयास गर्नुपर्छ,’ उनले भने, ‘नेतृत्व परिवर्तनको प्रश्न थियो भने देउवाजीले वैधानिक रूपमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन । स्वाभाविक जन्मलाई अस्वीकार गरे अप्राकृतिक रूपले जन्म दिए शरीर स्वस्थ हुन सक्दैन । त्रुटि जहाँ भएको छ, त्यहीँबाट सच्याउनुपर्छ । १४ औं महाधिवेशनको समिति र विशेष महाधिवेशनको समितिले एक ठाउँ बसेर निकास निकाल्नुपर्छ ।’
काठमाडौंको सुकेधारामा सुरु भएको भेलामा ४६ सय प्रतिनिधि बोलाइएको नेता मीन विश्वकर्माले बताए । ‘कांग्रेसलाई अघि बढाउन महत्त्वपूर्ण निर्णय हुनेछ । त्यसबारे राजनीतिक, सांगठनिक रूपमा व्यापक छलफल हुनेछ,’ उनले भने ।















