Play

बिशेष महाधिबेशनको कांग्रेस नेतृत्वलाई अस्विकार गर्दै राष्ट्रिय भेला काठमाडौँमा, कांग्रेस एकढिक्का बनाउने दाबी

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरको तीनदिने राष्ट्रिय भेला शुक्रबार काठमाडौंमा सुरु भएको छ । भेलामा देउवालगायतका नेताहरूले कांग्रेसलाई एकजुट बनाउने दाबी गरेका छन् । नेताहरूले देउवालाई पार्टी सभापतिकै रूपमा सम्बोधन गरेका छन् । भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र शेखर कोइराला पक्षका नेता–कार्यकर्ताको सहभागिता छ । विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वलाई अस्वीकार गरिएको सन्देश नेता–कार्यकर्तामा पुर्‍याउन भेला आयोजना गरिएको नेताहरूले बताएको भेलामा सहभागी कास्की कांग्रेसका नेता बिरेन्द्र नारायण बिजुक्छेले गुरुकुल खबरलाई जानकारी दिए ।

पुस अन्तिम साता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई देउवा पक्षले स्वीकार गरेको छैन । नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित देउवा समूहले राष्ट्रिय भेला आयोजना गरेको थियो । तर थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको ४ वैशाखको फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृहकार्य थाती राखिएको छ ।

संस्थापन पक्षले १५ औं महाधिवेशन तयारी गरिरहेका बेला देउवा पक्षले त्यसलाई चुनौती दिन पनि राष्ट्रिय भेला गरेको हो । भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले गगन थापालाई पत्र पठाउँदै १५ औं महाधिवेशनलगायतका संगठनात्मक गतिविधि रोक्न आग्रह गरिसकेका छन् । महाधिवेशनको प्रक्रिया अघि बढाए अदालतमा जानेसम्मको तयारीमा देउवा पक्ष छ ।

करिब पाँच महिनापछि स्वदेश फर्किएका देउवाले भेलालाई प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गरे । उनले कांग्रेस एकताबद्ध हुने बताए । ‘लामो इतिहास भएको कांग्रेसभित्र चरम विवाद, विशेष महाधिवेशनबाट विधि, विधान मिचिएको छ,’ उनले भने, ‘सर्वोच्चबाट न्याय हुनेमा पूर्ण विश्वस्त छु । भावनात्मक रूपमा मेलमिलाप हुनेमा विश्वस्त छु । पार्टीमा विवाद हुँदा राष्ट्रियता र लोकतन्त्र कमजोर हुने खतरा हुन्छ । विवादमा सहमति र सहकार्यबाट मेलमिलाप भएको अनुभव छ ।’देउवाले आफ्नो नेतृत्वमा सबैको न्याय हुने, भावनाको कदर हुने गरी अघि बढ्न आग्रह गरे । ‘पार्टी एकताको पक्षमा दृढ हुन आह्वान गर्न चाहन्छु । आग्रह पूर्वाग्रहभन्दा माथि उठेर राष्ट्रियता र एकतामा जोड दिनुपर्छ ।’

देउवाले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापका लागि बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने पनि बताए । ‘बृहत्तर राष्ट्रिय सहमतिको खोजी गर्न पहल गर्नेछु । राष्ट्रिय सहमतिसाथ अघि बढ्न दृढ संकल्पित छु । साझा उद्देश्य र संकल्प लिएका सबै राजनीतिक शक्ति र व्यक्तिसँग सहकार्य गर्नुपर्छ । बीपीले देखाएको राष्ट्रिय एकता र मेलमिलाप अझ सान्दर्भिक छ,’ उनले भने, ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता मेरो जीवनको मूल्य–मान्यता हो ।’

कांग्रेसका निवर्तमान सभापति देउवाले मुलुक संकटमा परेको उल्लेख गरे । ‘राजनीतिक अवस्था संवेदनशील देखिएको छ । सम्पूर्ण साथीहरूले सजग भएर राष्ट्रियता सुदृढ गर्न भूमिका खेल्नुपर्छ । निराशा आशामा बदल्नुपर्ने हुन्छ । दायित्व सबभन्दा पुरानो कांग्रेसले लिनुपर्छ,’ उनले भने, ‘अग्रजको बलिदान र संघर्षबाट मुलुक यो अवस्थामा आएको हो । इतिहासबाट सिकेर सही बाटो पहिल्याउन सकिन्छ ।’ विगतमा केही पनि भएको थिएन, खराब भयो भन्ने भाष्य फैलाउँदा मुलुक झन् कमजोर हुने जनाउँदै उनले विगतको इतिहासमा गर्व गर्नुपर्ने बताए ।

देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई आफू प्रजातन्त्रविरुद्ध जान नसक्ने बताएको पनि सुनाए । ‘मैले राजा ज्ञानेन्द्रलाई भनेको हो, प्रजातन्त्रको खिलाफमा कुनै हालतमा सहमत छैन । प्रजातन्त्र मेरो आदर्श हो भनेकै हो । राजाले मलाई शाही आयोग गठन गरी जेल हाले । न्यायालयले न्याय दिएको हो,’ उनले भने, ‘राजाले संवैधानिक राजतन्त्र मान्न चाहेनन् ।’

भेलाको संयोजकसमेत रहेका पूर्वमहामन्त्री शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताए । ‘कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो । एकजुट भएको खण्डमा कसैले पनि पराजित गर्न सक्दैन । मुख्य उद्देश्य यही हो,’ उनले भने, ‘सभापति शेरबहादुरको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ ।’ बीपीले देउवालाई पश्चिमको राजकुमार भनेको पनि कोइरालाले बताए । ‘बीपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो,’ उनले भने, ‘शेरबहादुरजीको भाग्य राम्रो छ ।’

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवाको नेतृत्वमा पार्टी र अन्य दल एकताबद्ध हुने बताए । ‘कांग्रेसलाई सभापति (देउवा) को नेतृत्वमा एकताबद्ध गर्न सफल हुनेछौं । राष्ट्रियता खतरामा छ । देउवाको नेतृत्वमा संविधानलाई रक्षा गर्दै चुनौतीपूर्ण जिम्मेवारीमा कांग्रेस उभिएको छ,’ उनले भने, ‘हामीले एकताबद्ध भएर सिंगो राष्ट्रवादी शक्तिलाई एक ठाउँमा उभ्याएर जानुपर्छ । एकताका लागि उत्साह र उमंग छर्ने छौं ।’

नेता शेखर कोइरालाले कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको जनाउँदै अब एकढिक्का हुनुपर्ने बताए । ‘देशका निम्ति एकढिक्का हुन जरुरी छ । अरू दलसँग सहकार्य गरेर अघि जानुपर्छ । देशबाहेक अन्य शक्तिसँग मिलेर राष्ट्रियता मजबुत गर्न सक्यौं भने कांग्रेसको मात्र होइन, देशको अवस्था पनि उज्ज्वल हुन्छ,’ उनले भने ।

अर्का नेता बिमलेन्द्र निधिले राष्ट्रिय राजनीतिको भूमिका बलियो बनाउन भेला आयोजना गरिएको बताए । ‘१५ औं महाधिवेशनलाई एकताबद्ध बनाएर सफल पार्नु भेलाको उद्देश्य हो,’ उनले भने, ‘१४ औं महाधिवेशनबाट निर्वार्चित भएका समितिलाई मात्र १५ औं महाधिवेशन गर्ने अधिकार छ । विशेष महाधिवेशन गरेको समितिलाई १५ औं महाधिवेशन गर्ने अधिकार छैन । सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ ।’

नेता प्रकाशशरण महतले आफूहरूले पार्टी विभाजन गर्न खोजेको नभई कानुनी बाटो अपनाएको बताए । ‘पार्टी तोड्न खोजेको होइन । अब कानुनी रूपमा बाटो खोज्नुपर्‍यो भनेर शेरबहादुर देउवा स्वयं, कार्यवाहक उपसभापति पूर्णबहादुर खड्कासहितबाट पुनरावलोकनका लागि निवेदन (सर्वोच्चमा) गयो,’ उनले भने, ‘अहिले निस्सा (पुनरावलोकन आदेश) प्राप्त गरेका छौं । चाँडै पूर्ण इजलास बसेर निर्णय हुन्छ, न्याय मिल्छ भन्ने लागेको छ ।’

अर्का नेता कृष्णप्रसाद सिटौलाले गगन थापाले विधान, विधि मिचेका कारण एकता हुन गाह्रो भएको बताए । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएकामा पनि उनले प्रश्न उठाए । ‘विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयुक्तलाई प्रश्न छ– गगनजी जानुभयो, दस्ताबेज लानुभयो, थपक्क दिनुभयो । तर देउवाजीलाई सोध्नुभयो ? कार्यसमितिलाई पत्र लेख्नुभयो ?’ उनले भने ।

अर्का नेता रमेश लेखकले विशेष महाधिवेशनले विभाजनको अवस्थामा पुर्‍याएको तर्क गरे । ‘विशेष महाधिवेशनका कारणले पार्टी विभाजनको अवस्थामा पुगेको छ । देउवाजीको नेतृत्वमा एकताबद्ध गर्ने प्रयास गर्नुपर्छ,’ उनले भने, ‘नेतृत्व परिवर्तनको प्रश्न थियो भने देउवाजीले वैधानिक रूपमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन । स्वाभाविक जन्मलाई अस्वीकार गरे अप्राकृतिक रूपले जन्म दिए शरीर स्वस्थ हुन सक्दैन । त्रुटि जहाँ भएको छ, त्यहीँबाट सच्याउनुपर्छ । १४ औं महाधिवेशनको समिति र विशेष महाधिवेशनको समितिले एक ठाउँ बसेर निकास निकाल्नुपर्छ ।’

काठमाडौंको सुकेधारामा सुरु भएको भेलामा ४६ सय प्रतिनिधि बोलाइएको नेता मीन विश्वकर्माले बताए । ‘कांग्रेसलाई अघि बढाउन महत्त्वपूर्ण निर्णय हुनेछ । त्यसबारे राजनीतिक, सांगठनिक रूपमा व्यापक छलफल हुनेछ,’ उनले भने ।

३० श्रावण २०८३, शनिबार ११:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा