काठमाडौँ, नेपाली कांग्रेसको भातृसंस्थाको रुपमा रहेको नेपाल बिधार्थी संघको केन्द्रीय अध्यक्षमा धनकुटाकी करूणा कटुवाललाई मनोनित गरिएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाले कटुवाललाई नेविसंघको अध्यक्षमा नियुक्त गरेको कांग्रेस केन्द्रिय कार्यालयले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।
नवनियुक्त अध्यक्षलाई पनि तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ । यस अगाडी बिशेष महाधिबेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको बर्तामन केन्द्रीय समितिले १४ औं महाधिबेशन बाट निर्बाचित सभापति शेरबहादुर देउवाको कार्यकालमा नियुक्त भातृसंस्थाको केन्द्रीय समितिलाई बिघटन गरेको थियो ।
जसअनुसार नेपाल महिला संघको केन्द्रीय समिति बिघटन गरेर मिना खरेललाई महिला संघको केन्द्रिय अध्यक्ष बनाइएको छ । कांग्रेसको अर्को भातृसंस्था नेपाल तरुण दलमा विद्वान गुरुङको समिति बिघटन गरेर मनिष कोइरालालाई तरुण दलको अध्यक्ष र दुजांग शेर्पा अध्यक्ष रहेको नेपाल बिधार्थी संघको केन्द्रीय समितिलाई बिघटन गरेर करुणा कटुवाललाई अध्यक्ष बनाइएको छ।
नेविसंघको लामो इतिहासमा करुणा कटुवाल पहिलो महिला अध्यक्ष बनेकी छन् । विद्यार्थी राजनीतिमा पुरुष नेतृत्वको वर्चस्व रहँदै आएको अवस्थामा उनको उदयलाई काँग्रेसभित्र पुस्तान्तरण र महिला नेतृत्व विस्तारको सङ्केतका रूपमा हेरिएको छ । २०५७ सालमा जन्मिएकी कटुवाल १४ वर्षको उमेरमै एसएलसी परीक्षा दिएपछि नेविसंघको राजनीतिमा सक्रिय बनेकी थिइन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअघि नै उनले पार्टीको क्रियाशील सदस्यता लिएकी थिइन् । १४औँ महाधिवेशन प्रतिनिधिसमेत रहेकी कटुवाल नेपाली काँग्रेसभित्र सभापति गगन थापा निकट नेतृका रूपमा चिनिन्छिन् ।
उनलाई गत बैशाखको अन्तिमतिर नेविसंघको अध्यक्ष मनोनित गरिने भन्ने समाचार सार्बजनिक भएको भएपनि उनको मनोनयन अहिलेसम्म रोकिन पुगेको थियो। करुणा मिना र मनीषको नियुक्ति हुने समाचार सार्बजनिक भएलगत्तै सभापति थापाको सचिबालयले भातृसंस्थामा उनीहरुलाई नियुक्ति गरिने भन्ने बिषयमा अनभिज्ञता प्रकट गर्दै एकै पटक तदर्थ समिति घोषणा गरेर महाधिबेशनको तयारी गरिने भन्दै बिज्ञप्ती सार्बजनिक गरेको थियो।
सम्बन्धित समाचार .














