पोखरा, नेपाली काँग्रेसको नियमित १५ औं महाधिबेशनको पक्षमा रहेको समुह अर्थात पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा समुहको कास्की जिल्ला समितिले नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय रहेर बिभिन्न किसिमबाट योगदान पुर्याएका अग्रज नेताहरुलाई सम्मान गरेको छ। पार्टीको जिल्ला अधिबेशनको उद्घाटन समारोहमा नेपाली काँग्रेसको १५ औं नियमित महाधिबेशन तयारी समितिका संयोजक एबम पार्टीका पुर्व महामन्त्री डा. शशांक कोइराला, नेपाली काँग्रेसका केन्द्रीय प्रबक्ता एबम पुर्व मन्त्री डा. प्रकाशशरण महत र नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरि अग्रज नेताहरुलाई सम्मान गरेका थिए।
सम्मानित हुनेहरुमा निलकण्ठ शर्मा, सुन्दरबिजय कोइराला, पुलेंद्रमान श्रेष्ठ, राजेंद्रनिधि कोइराला, बिन्दुदेबी सुबेदी, शंकर देवकोटा र राजबहादुर गुरुङ (पुम्दी) रहेका छन। उनीहरु बिगत लामो समयदेखि नेपाली काँग्रेसमा रहेर प्रजातन्त्र वा लोकतन्त्रको पक्षमा भएका हरेक आन्दोलनमा सक्रिय रहेका र जेलनेल भोगेका व्यक्तित्वहरु हुन। सम्मान कार्यक्रममा गुरुङ भने व्यक्तिगत कारण देखाउंदै अनुपस्थित रहेका थिए ।
नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील निलकण्ठ शर्मा प्रतिबन्धित काल अर्थात पंचायती ब्यबस्था रहेको अबस्थामा कास्की जिल्लामा शिक्षण पेशामा संलग्न रहंदा पनि नेविसंघ र नेपाली काँग्रेसको संगठन बिस्तार गर्ने काममा सक्रिय थिए। बुद्दिजिबी एबम अभिभावक तथा अधिकांशको ‘गुरु बा’ को रुपमा चिनिएका शर्माले कांग्रेसमा लागे बापत पटक पटक पक्राउ, जेल जिबन र यातना भोग्नुपरेको थियो। शर्माको जन्म तनहुँमा भएपनि उनि लामो समयदेखि पोखरामा रहेर राजनीतिक गतिविधिमा आएका छन।

यसैगरी सम्मानित अर्का व्यक्तित्व सुन्दरबिजय कोइराला पनि कास्की कांग्रेसका पुराना नेता हुन। उनि पार्टीको महासमिति सदस्य सहित बिभिन्न जिम्मेवारीमा समेत रहेका थिए । कोइराला २०४६ देखि २०६० सालसम्म कास्की कांग्रेसको जिल्ला समितिको बिभिन्न पदीय जिम्मेवारीमा समेत रहेर काम गरेका थिए कांग्रेसको बिचार बोकेको कारण उनले पनि पटक पटक जेल र हिरासत भोगेका थिए ।

उक्त समारोहमा सम्मानित अर्का व्यक्तित्व पुलेन्द्रमान श्रेष्ठ पनि पारिवारिक रुपमा कांग्रेस बनेका हुन। २००७ सालको आन्दोलनमा उनको परिवारका अग्रजहरु आन्दोलनमा होमिएको र त्यसको प्रभावमा कांग्रेसमा लगेर निरन्तर सक्रिय श्रेष्ठले २०४६ सालमा लामो समय जेल जिबन बिताएका थिए। त्यसबेला उनि आंफ्नो काका सनकमान श्रेष्ठ (हाल स्वर्गीय) सहित जेलमा बसेका थिए श्रेष्ठले पार्टीको क्षेत्रिय सभापति लगायतका जिम्मेवारी लिईसकेका छन।

यसैगरी सोही समारोहमा सम्मानित अर्का व्यक्तित्व राजेन्द्रनिधि कोइराला पनि कास्कीका पुराना नेता हुन। पोखरा -४ गैरापाटन घर भएका कोइराला राणा शाशनको बिरुद्ध पोखरामा आन्दोलनको अगुवाई गर्नेहरु मध्येका एक करुणानिधि कोइरालाको परिवारका सदस्य हुन। कोइरालाको निबासमा प्रतिबन्धित कालमा नै कांग्रेसका धेरै नेताहरुले आश्रय लिएका थिए। २०४६ सालको जनआन्दोलन अन्तर्गत पोखरा क्षेत्रको आन्दोलनको घोषणा पनि उनकै घरमा आयोजित भेलाबाट गरिएको थियो। कोइरालाले कास्की कांग्रेसको जिल्ला कोषाध्यक्ष सहित अन्य जिम्मेवारी पनि लिएका थिए उनि कास्कीमा नेविसंघको स्थापनाकालका सचिब पनि हुन।

यसैगरि पोखराको लेखनाथ घर भएकी बिन्दुदेबी सुबेदीलाई पनि उक्त समारोहमा सम्मान गरिएको थियो। महिलाहरु सार्बजनिक रुपमा संघ संस्थामा लाग्न समेत नसक्ने अबस्थामा नेपाली काँग्रेसमा सक्रिय रहेर बिभिन्न जिम्मेवारी लिएकी सुबेदी कांग्रेसले आव्हान गरेका हरेक आन्दोंलनमा सक्रिय रहँदै आएकी थिईन। पार्टीको महासमिति सदस्य सहित नेपाल महिला संघको बिभिन्न जिम्मेवारीमा रहेकी सुबेदीको परिवार पंचायती शाशन कालदेखि नै कांग्रेसमा जोडिएर बिभिन्न आन्दोलनमा सक्रिय रहँदै आएको छ ।

कार्यक्रममा सम्मानित अर्को व्यक्तित्व पोखराका शंकर देबकोटा पनि हुन । नेविसंघ र नेपाली काँग्रेसमा सानो उमेरदेखि जोडिएको र बिगतका कठिन दिनमा कांग्रेसको अग्रमोर्चामा रहेर सक्रिय रहँदै आएका देबकोटा पनि पटक पटक जेल जिबन र हिरासत भोग्नेहरु मध्येका नेता हुन।साहशी र हकी स्वभावका देबकोटाले कास्की कांग्रेसको जिल्ला समितिमा रहेर समेत काम गरेको थिए पछिल्लो समय उनि शैक्षिक क्षेत्रमा अलि बढी सक्रिय छन ।

त्यस अबसरमा सम्मानित व्यक्तित्वहरुको तर्फबाट बोल्दै राजेन्द्रनिधि कोइरालाले आंफ्नो परिवारले कांग्रेसले आव्हान गरेका हरेक आन्दोलनमा साथ दिएको भन्दै कांग्रेसले पुरानो इतिहास र नयाँ उर्जालाइ मिलाएर लैजानुपर्नेमा जोड दिए।
अग्रजहरुलाई सम्मान गर्दै नेपाली काँग्रेसको १५ औं नियमित महाधिबेशन तयारी समितिका संयोजक एबम पार्टीका पुर्व महामन्त्री डा. शशांक कोइरालाले विगतमा कांग्रेसले हतियार उठाएर संघर्ष गर्दा कैयौँ नेता–कार्यकर्ताले सहादत प्राप्त गरेको स्मरण गरे। उनले हालको अवस्थालाई संकटपूर्ण भन्न नमिल्ने भन्दै आजको लोकतन्त्र जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको बताए। उनले भने, ‘हामी एकताबद्ध अगाडि बढ्नुपर्यो, नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन। तर, कसैले पनि एकता तोड्यो भने कांग्रेसको स्थिति राम्रो हुँदैन।

डा. कोइरालाले पार्टी सञ्चालनलाई चुस्त र अनुशासित बनाउन सभापतिको संरचनालाई थप शक्तिशाली बनाउनुपर्नेमा जोड दिए। उनले पार्टीभित्र नेतृत्वको अवज्ञा गर्ने र सबैले आफूलाई प्रमुख ठान्ने प्रवृत्ति हाबी भएको भन्दै सभापति पदका लागि मात्रै प्रत्यक्ष निर्वाचन हुने गरी विधानमा सुधार गर्नुपर्नेमा जोड दिए । कोइरालाले सभापति चयन भइसकेपछि पार्टीलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेर काम गर्न पाउने अधिकार दिनुपर्ने स्पष्ट पारे ।
उनले भने, ‘अहिले कस्तो छ भने सबै चुनाव हुन्छ, सबैले आफूलाई नै सभापति ठान्छन् । गगनजीलाई हेर्नुस् त, पार्टी नै फोरेर हिँड्नुभएको छ, महामन्त्री भएको मान्छे ।’ उनले भने, ‘सभापति भइसकेपछि उसले ७५ प्रतिशत आफ्नो मान्छेहरू राख्छ र २५ प्रतिशत मात्रै चुनाव गराउनुपर्छ, किनभने सभापति भइसकेपछि पार्टी आफ्नो हातमा हुनुपर्यो नि, भनेको मान्नुपर्यो नि।’
कार्यक्रममा बोल्दै पार्टीका पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र विचार, सिद्धान्त र संस्कारभन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । पछिल्लो समय राजनीति ’मैले के पाउँछु’ भन्ने लेनदेनको विषय बनेको उल्लेख गर्दै उनले विधिको शासन र राष्ट्रहितविपरीत आफूले कुनै पनि पदका लागि सम्झौता नगर्ने स्पष्ट पारे ।

डा. महतले बिगतमा शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचनमा जान नसकिने भन्दै नयाँ र युवा अनुहारको नारा दिनेहरुले अपेक्षित नतिजा दिन नसकेको भन्दै निर्वाचनअघि नेतृत्व परिवर्तनको माग गरेर कम्तीमा १०० सिट कटाउने र आफ्नै सरकार बनाउने दाबी गर्नेहरु प्रत्यक्षतर्फ २१ र जम्माजम्मी ३८ सिटमा सीमित हुनुपरेको बताए ।
पार्टीभित्र ’म’ केन्द्रित सोच हाबी हुँदा सिद्धान्त र विचार ओझेलमा परेको उल्लेख गर्दै नेता महतले पद प्राप्तिका लागि जे पनि गर्ने प्रवृत्तिको आलोचना गरे । आफ्नो एउटा निश्चित ’लक्ष्मण रेखा’ रहेको र त्यसलाई कहिल्यै ननाघ्ने बताउँदै उनले सम्पूर्ण संसारको नेतृत्व दिन्छु भने पनि लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र देशको हितविरुद्ध कहिल्यै सम्झौता नगर्ने धारणा राखे ।
सम्मानित व्यक्तित्वहरुको चिनारी दिने क्रममा नेपाली काँग्रेसका युवा नेता गंगाधर पराजुलीले नेपालको लोकतन्त्र, स्वतन्त्रता र जनअधिकारको लागि लामो संघर्षबाट निर्मित एतिहासिक पार्टी नेपाली काँग्रेस रहेको र थुप्रै अग्रजहरुले कांग्रेसमा रहेर त्याग संघर्ष र बलिदान गरेको स्मरण गरे। उनले पार्टीमा अनुभव र उर्जाको संयोजन गर्न, पार्टी भित्र एकता कायम गर्न र कांग्रेसलाई जनताको भरोसायोग्य लोकतान्त्रिक शक्ति बनाउन फेरी एकपटक मेहनत आबश्यक रहेकोमा जोड दिए।

लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहेर बिभिन्न जिम्मेवारी लिएका पराजुलीले अग्रजहरुको इतिहास र अनुभवलाइ बुझेर पार्टीको नेतृत्व र भबिष्यको बारेमा चिन्ता लिनुपर्ने कुरामा जोड दिए। उनले २०४६ सालमा भएको जनआन्दोलनमा समेत उल्लिखित सम्मानित व्यक्तित्वहरुले जेल जिबन भोग्नुपरेको र आँफु पनि करिब दुई महिना वहाँहरु सहित अन्य धेरैजना संग जेल बस्दा कांग्रेस र प्रजातन्त्र अनि संघर्षको बारेमा वहाँहरुबाट धेरै कुरा सिक्न र बुझ्न पाएको स्मरण गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम पुर्व मन्त्री शंकर भण्डारीले कुनै पनि राजनीतिक दलको नाममा देश एक हुन नसक्ने भन्दै राजसंस्थालाई साझा संस्थाका रूपमा स्वीकार गर्नुपर्ने बताए । वर्तमान राजनीतिक परिवेश र सत्ता समीकरणबारे टिप्पणी गर्दै भण्डारीले वर्तमान नेतृत्वको सरकारले आबद्ध पार्टीकै सभापतिलाई कुनै पनि बेला जेल हाले पनि अनौठो मान्नुनपर्ने उनले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल र कुन्दन काफ्लेले पार्टीमा युवाको नाममा नेतृत्व हत्याउने प्रवृतिले कांग्रेसलाइ कम्जोर बनाएको भन्दै अन्य शक्तिको प्रभावमा परेर बिशेष महाधिबेशनको नामबाट कांग्रेसलाई कमजोर बनाउने काम तत्कालिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतले गरेको बताए ।

नेपाली काँग्रेस कास्की जिल्ला अधिबेशन तयारी समितिका संयोजक ऋषिराम काफ्लेको अध्यक्षतामा भएको उक्त समारोहमा कांग्रेस नेता एबम पुर्व राज्य मन्त्री महादेव गुरुङ, कास्की कांग्रेसका पुर्व सभापति शोभियत बहादुर अधिकारी, पर्वत कांग्रेसका पुर्व सभापति नवराज गुरुङ, स्यांग्जा कांग्रेसका पुर्व सभापति कुमार राना, कास्की कांग्रेसका नेताहरु आइबहादुर गुरुङ, दुर्गाप्रसाद तिमिल्सिना, पोषनाथ शर्मा , बिकास लामा गुरुङ, क्षेत्रिय सभापतिहरु आनन्द सुबेदी, राजेन्द्र बराल र पदम बस्ताकोटी, नेविसंघकी नेतृ श्रीजना मल्ल, पोखरा महानगर सभापति मिलन प्रसाद तिवारी, रुपा गाउँपालिकाका सभापति ढकबहादुर थापा, वडा सभापतिहरु मध्ये केमबहादुर गुरुङ लगायतले आआफ्नो भनाई राखेका थिए ।
कांग्रेसका पुराना नेताहरुलाई बोलाएर सम्मान गरेको कुराले सम्मानित भएका व्यक्तित्वमात्र नभएर उनीहरुको परिवारका सदस्य र उनीहरुले कांग्रेसमा रहेर प्रजातन्त्र प्राप्तीको लागि गरेको संघर्ष र त्याग बुझ्नेहरु समेत खुसि बनेको जिल्ला अधिबेशन तयारी समितिका सचिब एबम कार्यक्रम संचालक सुरेन्द्रनाथ शर्माले बताए।














