पोखरा, नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले पार्टीको महानगरको वडा सभापति सहित प्रदेश निर्बाचन क्षेत्र र संघिय निर्बाचन क्षेत्रका सभापति एबम पोखरा बाट निर्बाचित पार्टीका केन्द्रीय सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ। महानगर समितिले सम्मान गरेकाहरुमा पार्टीका नवनिर्बाचित केन्द्रीय सदस्यहरू तिलक रानाभाट, लक्ष्मी पाण्डे, डा. कृष्णप्रसाद शर्मा पौडेल र किरण केसीसहित प्रतिनिधिसभाका क्षेत्रीय सभापति, प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति तथा पोखरा महानगरपालिकाका ३३ वटै वडाका सभापतिहरू रहेको पार्टीको पोखरा महानगरसमितिका सभापति सुरेन्द्रमान बिजुक्छेले गुरुकुल खबरलाई जानकारी दिए ।
सम्मानित हुने संघिय निर्बाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू सरोज केसी, नवीन बराल र प्रकाश बराल एबम प्रदेशसभा निर्बाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू नरेन्द्र थापा, अर्जुन गुरुङ, भोजराज आचार्य, अमृत तिमिल्सिना, मेखबहादुर तामाङ र विजय गुरुङ रहेको बताइएको छ। उक्त सम्मान कार्यक्रमसंगै नेपाली हरुका चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम समेत आयोजना गरिएको र सोही कार्यक्रममा सामाजिक उत्तरदायित्वलाई जोड्दै कास्कीको अन्नपूर्ण गाउँपालिका–६ का मृगौला पीडित विष्णु कामीलाई उपचारका लागि ३६ हजार ६०५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो।
समाजमा अप्ठ्यारो परिस्थितिमा रहेका नागरिकलाई सहयोग गर्नु राजनीतिक दल तथा सामाजिक संस्थाको समेत दायित्व भएकाले कार्यक्रमकै अवसरमा सहयोग रकम संकलन गरी पीडितलाई हस्तान्तरण गरिएको बिजुक्छेले जानकारी दिए । नेपाली कांग्रेसका सभापति गगन थापाको निर्देशनअनुसार पार्टीका गतिविधि तथा कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै जनताका सुखदुःखमा सहभागी हुने उद्देश्यलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय उपसभापति मधु आचार्यले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारालाई सार्थक पार्ने किसिमले काम गर्न मातहतका समितिलाई आग्रह गरे । उनले कांग्रेसले आफ्नो ऐतिहासिक विरासत र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै समयअनुसार आफूलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए। पार्टीभित्र विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने भए पनि कांग्रेस भएर कांग्रेसकै विरोध गर्ने प्रवृत्ति संगठनका लागि घातक हुने उनको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, पूर्व सह- महामन्त्री जिवन परियार, नवनिर्वाचित केन्द्रीय सदस्य तिलक रानाभाट, डा. कृष्ण प्रसाद पौडेल, लक्ष्मी पाण्डे, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, क्षेत्रीय सभापतिहरू सरोज केसी, नवीन बराल र प्रकाश बराल, क्षेत्र नं.३ का निवर्तमान सभापति मनोज गुरुङ लगायतले वर्तमान चुनौती सामना गर्न आन्तरिक एकता अपरिहार्य रहेको धारणा राखेका थिए।
कार्यक्रमका सभापति एबम पोखरा महानगर कांग्रेसका सभापति सुरेन्द्रमान बिजुक्छेले पार्टीको संगठन निर्माण र विस्तार तथा पार्टीका बिभिन्न गतिविधिलाई निरन्तरता दिन योगदान पुर्याएका नेता तथा कार्यकर्तालाई सम्मान गर्दा संगठनभित्र आपसी सद्भाव र एकता बलियो हुने विश्वास व्यक्त गरे। त्यस अबसरमा पार्टीको पोखरा महानगर कार्यसमितिका सचिव धनञ्जय पौडेल, महानगर समितिका उपसभापति कीर्तिबल्लभ त्रिपाठी, महिला उपसभापति सुचिता तामाङ र वडा नं. १७ का सभापति डीआर भट्टराई लगायतले आआफ्नो भनाई राखेका थिए।













