पोखरा, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट र राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच पोखरामा भेटबार्ता भएको छ ।
प्रदेश प्रमुखको निवासमा भएको भेटबार्ताका क्रममा प्रदेश प्रमुख भट्टले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएको भन्दै उपाध्यक्ष भण्डारीलाई बधाई ज्ञापन गर्नुको साथै कार्यकालको सफलताको कामना गरेका थिए ।
प्रदेश प्रमुख र राष्ट्रिय सभाका उपाध्यक्षको बिचमा संघ र प्रदेशबीचको समन्वय तथा सहकार्यको साथै प्रदेशमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयन र बिभिन्न नीति निर्माणसँग सम्बन्धित विषयहरू कुराकानी भएको प्रदेश प्रमुख भट्टका प्रेस संयोजक रन्जन अधिकारी क्षेत्रीले गुरुकुल खबरलाई जानकारी दिए ।
प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हुने भएकोले आआफ्नो ठाउँबाट प्रदेशको अधिकार र कर्तब्य प्रभावकारी बनाउन लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।














