पोखरा, पोखरामा झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । कास्की प्रहरीले दिएको जानकारीअनुसार, पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
कास्कीका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले संचारकर्मीलाइ दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भारत, पन्जाबको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर बिक रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ८२ तोला १६ लाल सुनका गरगहना बरामद गरेको छ । ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ बराबरको रहेको उनले बताए ।
बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र र पोते लगायत समावेश छन् । बरामद गरिएका गरगहनाहरु निम्नअनुसार रहेको प्रहरी उपरिक्षक ओलियाले जानकारी दिए।
१ सुनको ढिक्का सानो ठुलो – २ तोला २३ लाल
२ सिक्री– २९ थान (तौल १० तोला ३१ लाल)
३ दानावाला माला – १ थान ( तौल २ तोला ९४ लाल)
४ . पथ्थर जडित र हिरा जडित औंठी – ५७ थान ( तौल गर्दा १० तोला ५४ लाल)
५ . कानमा लगाउने जुली– ३२४ थान (१६२ जोर) ( तौल गर्दा २७ तोला ६३ लाल)
६ मंगलसुत्र – १७ थान ( तौल गर्दा ५ तोला)
७ लकेट- ९९ थान (तौल गर्दा १३ तोला १२ लाल)
८ कालो र रातो माला सहितका पोते– १९ थान (तौल गर्दा ९ तोला ३९ लाल)
९ झुम्का स-साना टुक्राहरु – १ तोला गरि जम्मा ८२ तोला १६ लाल ( ९५७.९८ ग्राम पत्थर सहित)
प्रहरीका अनुसार, कुलदिप सिंह र रामबहादुर बिकबीच सामाजिक सञ्जालमार्फत झण्डै तीन वर्षअघिदेखि सम्पर्कमा रहेको खुलेको छ । भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै हिँड्ने कुलदिपले नेपालमा पनि कारोबार गर्ने योजना बनाएका थिए ।
सोही क्रममा अमृतसरस्थित अमरजित साहु नामक व्यक्तिको सुन पसलबाट गहना ल्याइ नेपालमा बिक्री गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका रामबहादुरले सो कारोबारमा संलग्न भई बिक्रीपश्चात केही पैसा पाउने सर्तमा साथ दिएको बयान दिएका छन् ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।