पोखरा, नेपाली बजारमा सुनको मूल्यमा एक्कासी भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा करिब १६ हजार रुपैयाँ घटेको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रति तोला १५ हजार ९ सय घटेर प्रति तोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । जबकि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।
सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा सुनको मुल्यमा भारी गिरावट आएको हो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।
यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेट मार्फत बढाएका थिए । जुन निर्णय पुनरावलोकन गरेर आज सोमबारदेखि कार्यान्वयनमा गएको हो ।
सुनचाँदीको मूल्य घटेसँगै देशभरका व्यवसायीसँग भएको सुनको स्टक मूल्य समेत त्यही अनुसार घटेको छ । यसले व्यवसायीहरूमा ठुलो नोक्सान भएको देखिन्छ ।
तर, सरकारको यो निर्णयको सुनचाँदी व्यवसायीहरूले भने स्वागत गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य सुनमा भन्सार घटाउने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँछन् । आफूहरूले लामो समयदेखि भन्सार दर समायोजन गर्न माग गर्दै आएकोमा सरकारले यो माग पूरा गरेको उनको भनाइ छ ।