पोखरा, २३ औं आहा ! रारा पोखरा गोल्डकपमा १२ टिम भिड्ने भएका छन् । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ देखि २० सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा १२ टिम भिड्ने टुङ्गो लागेको हो ।
बिहिबार क्लवले एक पत्रकार सम्मेलन गरी उक्त जानकारी दिंदै भारतिय घरेलु फुटबल लिग आइलिगको सन २०२३/२०२४ मा सातौं स्थानमा रहेको दिल्ली एफसी र भुटानको लिग च्याम्पियन क्लव पारो भुटान एफसीको सहभागिता रहने क्लवले जनाएको छ ।
दिल्ली एफसी र भुटान एफसी पहिलो पटक नेपाल आउन लागेका हुन् । उनीहरुको सहभागिताले आहा ! रारा पोखरा गोल्डकपको उचाई थपिएको क्लवले जनाएको छ ।
यसै गरी आयोजक सहारा क्लवसहित नेपालका ‘ए’ डिभिजनका क्लवहरु संकटा यूथ क्लव, चर्च ब्वाइज क्लव, मछिन्द्र एफसी, पोखरामा लोकप्रिय क्लवको रुपमा रहेको मनाङ मर्स्याङदी क्लव, जावलाखेल यूथ क्लव र थ्रि स्टारको सहभागिता हुने छ भने विभागिय क्लव नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र एपिएफ क्लवसमेतको सहभागिता रहनेछ । त्यसै गरी सुनवलको राइजिङ स्टार क्लवको समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ ।
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ उक्त प्रतियोगिता नेपालकै इतिहास बोकेको प्रतियोगिता समेत हो । प्रतियोगितामा विजेतालाई नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद रहेको छ ।
२३ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लवले जनाएको छ । विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७, दोविल्लामा स्थापित छ। । हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ।
एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यो प्रतियोगिता रहेको हुँदा सम्पुण खेलप्रेमीहरुबाट विगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा राखेको क्लवले जनाएको छ ।