जनकपुर, बिश्वासको मत पाउने सम्भावना नदेखेपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन । विश्वासको मत लिन भनेर बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामाको घोषणा गरेका थिए ।सत्ता साझेदार दल नेकपा एमालेले सरकार छोडेपछि गत कात्तिक २० गते नेकपाकाले पनि यादव नेतृत्वको सरकारको साथ छाडेको थियो ।
त्यसयता मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा रहेको भएपनि १ महिना भित्र बिश्वासको मत लिए हुने कानुनी सुविधा भएका कारण उनले तत्काल राजीनामा भने दिएका थिएनन । तर एक महिनाको समय पश्चात उनले विश्वासको मत नपाउने देखेपछि राजीनामा दिएका हुन् ।
मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष उनले राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । प्रदेश प्रमुखलाई सम्बोधन गरी पठाइएको राजीनामा पत्रमा उनले वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताएका छन् ।
उनले २०८२ मङ्सिर १९ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई कार्यभार सम्हालेको स्मरण गराउँदै शनिबार (कात्तिक २८ गते) देखि लागू हुनेगरी राजीनामा पेस गरेको आंफ्नो राजीनाम पत्रमा उल्लेख गरेका छन् ।
केहि दिन अगाडी नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा रहेको सरकार टिकाउन भन्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग समेत भेटघाट गरेको बताएका थिए । तर, थापाले ओलीसंग गरेको भेटघाटलाई एमालेले बेवास्ता गरिदिएको कारण यादव नेतृत्वको सरकारले बिश्वासको मत पाउने अबस्था देखिएको थिएन । सोही कारण मुख्यमन्त्री यादवले पदबाट राजिनामा दिन बाध्य भएका हुन ।
राजिनामा घोषणा गर्ने बेला उनले पद भन्दा ठूलो जनताको सेवा र विश्वास रहेकाले आंफुले मुख्यमन्त्री पदबाट राजीनामा गरेको बताए । मधेश प्रदेशमा हाल कायम १ सय २ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न उनलाई कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो ।
प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा (एमाले)का २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
गत कात्तिक २० गते जसपा, एमाले र नेकपाको समिकरण बनेको दाबी एमालेले गरेको थियो । जसपा नेपालको नेतृत्वमा सरकार बनाउने तयारी स्वरुप त्यसै दिन नेकपा पनि सरकारबाट बाहिरियो । तर, जसपा भित्र पनि मुख्यमन्त्री बन्ने विषयमा कलह रहेका कारण सत्ता समीकरण बन्न सकेको छैन । एमाले र नेकपा भने जसपा नेपालकै नेतृत्वमा सरकार बनाउन लचक छन् ।
जनमत पार्टी भने अब बन्ने सरकारमा सहभागी नहुने जनमत अध्यक्ष डा. सिके राउतले घोषणा नै गरिसेका छन् । त्यसैले मधेशमा अन्योल कायम छ। अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि संविधानको धारा १६८ को २ बमोजिम दाबी पेश गर्न आह्वान गर्ने छन् ।














