पोखरा, पोखरा महानगरपालिका वडा नम्बर –५ जिरो किलोमिटरमा भएको एक दुर्घटनामा दुई युवाको ज्यान गएको छ स्कुटरमा सवार दुई युवाहरु सडकमा रोकिराखेको बोलेरो जिपमा ठोक्किएका थिए । आज शुक्रबार दिउँसो भएको दुर्घटनामा स्कुटरका चालक र स्कुटरमा पछाडी बस्ने दुवै युवाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दिउँसो करिब ३ बजेको समयमा लु ३ च ५२७४ नम्बरको रोकिराखेको बोलेरो जिपमा पछाडिबाट आइरहेको ग२३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो । स्कुटर ठोकिएर भएको दुर्घटनामा गम्भीर घाइते भएका दुई युवाहरुलाई तत्काल अस्पताल लागिएको भएपनि उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले गुरुकुल खबरलाई जानकारी दिए ।
टाउको र आँखामा गम्भीर चोट लागेको कारण उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएका २१ बर्षीय विवेक दर्जीलाई दिउँसो ३ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । साँझ ५ बजेतिर मात्र बिबेकका आंफन्तले शबको सनाखत गरेका थिए ।
त्यस्तै टाउकोमा गम्भीर चोट देखिएका २६ बर्षीय मोहन परियारलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लागिएको थियो।अस्पतालमा लागेको केहि समयमा नै अर्थात दिउँसो ३ः१० बजे नै चिकित्सकले मोहनलाई मृत घोषणा गरेका थिएयो । मृतककी आमा रूपा परियारले छोराको शबको सनाखत गरेकी थिईन ।
दुर्घटनामा परेर मृत्यु हुने युवाहरु मध्ये बिबेक दर्जीको घर म्याग्दीको मंगला गाउँपालिका–९ दारुङ र मोहन परियारको घर म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको बुझिएको छ । दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र बोलेरो जीपका चालक पोखरा महानगरपालिका–२८ कालिका निवासी ४८ वर्षीय अमृत बजगाईंलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














