पोखरा, पोखराका अग्रज पत्रकार नारायण कार्कीले पृथ्वीराजमार्गको घोप्टेभिरस्थित सडकमा खसेको सुक्खा पहिरोलाई ब्यबस्थित गरेर सवारीसाधनको आवागमन सुचारु गर्ने र नागढुंगामा निर्मित सुरुंग मार्गबाट सवारी साधनको आवागमन गराउने बिषयमा सरकारको उपस्थिति अत्यन्त चिन्ताजनक र निराशाजनक देखिएको भन्दै टिप्पणी गरेका छन। सडकमा सवारी जामका कारण आँफुहरु छ घन्टा ४० मिनेटको जाम छिचोलेर रातबिरात पोखरा पुग्नसकेको भन्दै कार्कीले यसलाई ‘काठमाण्डौंबाट पोखरा आउॅदा यात्राको नमिठो अनुभव’ को रुपमा लिएको उल्लेख गरेका छन ।
सडकमा हजारौं यात्रु र सवारीसाधन अस्तव्यस्त हुँदा सरकारको कुनै पनि निकायको उपस्थिति नदेखिनुले ‘नियम मान्नेहरु घन्टौंसम्म जाममा बस्नुपर्ने र दादागिरी गर्नेहरुले जाम छिचोल्ने’ अबस्था देखिएको कार्कीले उल्लेख गरेका छन। सानातिना समस्यामा पनि सरकारको उपस्थिति नदेखिने हो भने नागरिकले आँफुहरु माथि अन्याय भएको महशुश गर्ने भएकोले सरकार र मातहतका अंगलाई पनि विधिमा चल्न र चलाउन उनले आग्रह गरेका छन।

काठमाडौँबाट हिजो मंगलवार सडकमार्गबाट पोखरा आउंदै गर्दा आंफुले नमिठो अनुभव गर्नुपरेको भन्दै अग्रज पत्रकार कार्कीले आंफ्नो सामाजिक संजाल फेसबुकमा उल्लिखित कुराहरु लेखेका छन। उनले तिहार जस्तो नेपालीको महत्वपुर्ण चाडको समयमा आंफ्नो गन्तव्यमा पुग्न चाहेका हजारौं यात्रुहरु घन्टौंसम्म सडकमा सवारीसाधनको जाममा परेको भन्दै दुख समेत प्रकट गरेका छन।
राजमार्गको यातायात ब्यबस्थापनमा सरकारले जवाफदेहिता देखाउन नसकेको टिप्पणी गर्दै पत्रकार कार्कीले अहिलेको युवाहरुको भनिएको सरकार पुराना भनिएका दलको सरकार भन्दा कुन मानेमा फरक भयो त ? भन्ने प्रश्न समेत गरेका छन।
कार्कीले लेखेका छन ‘चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको घोप्टेभीरको सुख्खा पहिरोको कारण तिहारको समयमा हजारौ यात्रु घण्टौं जाममा पर्दैआएका छन । पहिरो पन्छाउने र खस्ने क्रम जारी छ। प्रहरी र प्रशासनको अर्थात सरकारको पूर्ण अनुपस्थितिका कारण लेन अनुशासनमा बस्नेहरु घण्टौं जाममा बस्नुपर्ने र लेन मिचेर दादागिरी देखाउनेहरु सिधा अगाडि बढेको देखिन्थ्यो ।’

कार्कीले नागढुंगास्थित सुरुंगमार्गमा अब्यबस्था बढेको र त्यहाँ रहेका प्रहरी सुरक्षाकर्मी समेत निरिह देखिएको भन्दै फेसबुकमा लेखेका छन ‘नागढुंगा सिस्ने मार्ग अन्तर्गतको सुरुडं मार्गको चर्चा गरौं । त्यहाॅ पनि टोल दस्तुर तिर्ने क्रममा अनुशासन मिचिएको थियो । एकजना महिला प्रहरी त्यहाॅ देखिए पनि दादागिरी गर्ने चालकका सामू उनी निरीह देखिन्थिन ।’
घोप्टेभिरको पहिरो र सुरुंगमार्गको बारेमा उनले सरकारको ध्यानाकर्षण गराउंदै भनेका छन ‘यी दुबै ठाउॅको घटनाले नागरिकप्रति सरकारको जबाफदेहिताको सर्बथा अभाव छ भन्ने पुष्टि हुन्छ। सुरुडं मार्ग स्थायी संरचना हो । यसको प्रयोग बढ्दै जान्छ । तर सिस्टम नबसाल्ने हो भने भविष्यमा अनेकन समस्या आउन सक्छन । घोप्टेभिरको धुले पहिरो पनि हिजो मात्र गएको होइन । सरकारले अनुशानसन पालना गर्नेलाई निरीह र मिच्नेलाई विजयी बनाउने हो भने युवाहरुको सरकार पुरानो भन्दा कुन मानेमा फरक भयो ? नागरिकहरुलाई छुट्याउन कठीन हुनेछ।’

उनले यस्ता सानातिना समस्यामा पनि सरकारको सकारात्मक र प्रभावकारी उपस्थिति देखिन सकेमात्र नागरिकले आफूमाथि अन्याय नभएको महसुस गर्ने भएकोले सरकार र सरोकारवालालाई विधिमा चल्न र विधिमा चलाउन खबरदारी गरेका छन।
स्थलमार्ग हुँदै मंगलवार नै पोखराबाट काठमाडौँ गएका नेपाली काँग्रेसका नेता पोषनाथ शर्माले समेत पोखरा- काठमाडौँको यात्रामा सडकमा १३ घण्टाभन्दा बढी समय बिताउनुपरेको भन्दै दुख प्रकट गरे। उनले भने ‘बिहान साढे सातबजे पोखराबाट बसमा हिंडेको भएपनि सडकमा घन्टौंसम्मको जामको कारण १३ घण्टा पछि राति करिब ९ बजेतिर मात्र काठमाडौँ पुग्न सफल भईयो।’
राजमार्गमा राज्यको उपस्थिति प्रभावकारी देखिएको भए सवारी साधनको लामो जाम नहुने र हजारौं यात्रुले सडकमा अलपत्र बन्नुपर्ने अबस्था सिर्जना हुने थिएन भन्दै शर्माले राजमार्गमा देखिएका हजारौं यात्रुको पिडालाई सरकारमा बस्नेहरुले बुझ्न नसकेको बताए।

काम बिशेषले काठमाडौँ पुगेर आंफ्नो निजि गाडीमा पोखरा फर्किंदै गरेका पोखरा -१५ का युवा ब्यबसायी एबम सामाजिक व्यक्तित्व पुष्पराज पराजुलीले पनि तिहार जस्तो चाडको बेलामा पनि सरकारमा बस्नेहरुको कार्यशैली नागरिकको पक्षमा नदेखिएको भन्दै पिडा पोखे। परिवारका साना सदस्यहरु समेत लिएर पोखरा आउंदै गरेका पराजुलीले गुरुकुल खबरसंग कुरा गर्दै भने, घोप्टेभीरको सुक्खा पहिरोको समस्या केहि दिनदेखि निरन्तर देखिएकोले त्यसका लागि आबश्यक उपकरण र जनशक्तिको प्रभावकारी परिचालन गर्नुपर्नेमा त्यसमा सरकारको तदारुकतामा कमी देखियो।’

यसबाहेक सवारी साधनलाई सडक लेन र ट्राफिक नियम पालना गर्नको लागि आबश्यक अनुगमन गर्ने संयन्त्र अर्थात ट्राफिक प्रहरी एबम सुरक्षाकर्मीहरु समेत पर्याप्त नदेखिंदा राजमार्गमा जथाभावी सवारी चलाएर सडक जाम गर्ने प्रवृति बढेको देखिएको पराजुलीले गुरुकुल खबरलाई बताए। उनले भने ‘मुग्लिंगदेखि पोखरा आउने सडकमा समेत घोप्टेभीरको कारण सवारी साधन जाम हुनपुग्दा पोखराबाट काठमाडौँ सहित पूर्वी नेपाल र नारायणगध हुँदै पश्चिम नेपालतर्फ जाने सयौं सवारी साधन र हजारौं यात्रुले पनि समस्या भोग्नुपरेको थियो।’
सुख्खा पहिरो पन्छ्याएर सडक खुलाइए पनि नारायणगढ–मुग्लिङ सडकखण्डमा सवारी जाम हट्न नसक्दा यात्रुहरु अलपत्र पर्नुपरेको छ । मंगलबार दिउँसो पहिरो खसेपछि अवरुद्ध भएको सडक खुलाइए पनि साँघुरो सडक, पुल र सवारीसाधनको अत्यधिक चापका कारण घोप्टेभीरको दुवैतर्फ लामो जाम लागेको छ। तिहार मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुहरू जाममा फसेका छन्। लामो समय लगाएर पहिरो पन्छ्याई आवागमन खुलाइए पनि सवारीसाधनको जाम र चापका कारण यात्रुहरूले लामो समय राजमार्गमै बिताउनुपरेको गुनासो गरेका छन।

यसैगरी पोखराका अग्रज होटल एबम पर्यटन ब्यबसायी बच्चुराम तिवारीले पनि त्यस्तै समस्या भोगेको बताएका छन। उनले फेसबुकमा लेखेका छन ‘मेरो पनि यस्तै अनुभब रह्यो। हामीले अरु सवारीसाधानलाई ओभरटेक नगरी सडकको लेन र लाइन बस्यौं, तर कैयौं साना गाडी र माईक्रो अनि ठुला बसले समेत लाईन मिचेको कारण ४ घण्टा भन्दा बढी जाममा परियो। यदि ट्रफिक प्रहरीले लाईन मिचेर आउनेलाई कारबाही गरेको भए सरकारलाई राजश्व पनि बढ्ने, त्यस्ता चालकले त्यसपछि नियम मिचेर ओभरटेक पनि गर्न डराउने र अरु धेरै सवारीसाधन घन्टौंसम्म जाममा पर्नुपर्ने पनि थिएन। तसर्थ सरकारको ध्यान पुगोस।’

पोखराका ब्यबसायी पृथ्वीराज तिमिल्सिना भन्छन, सर्वसाधारण नागरिकले परिवर्तन चाहेका थिए। विगतदेखि भोग्दै आएका प्रशासनिक झन्झट, ढिलासुस्ती, अनावश्यक खर्च र सास्तीबाट मुक्ति मिलोस् भन्ने अपेक्षा गरेका थिए। तर यस किसिमका थुप्रै समस्या नागरिकले दैनिक रूपमा भोगिरहेका छन्। सरकारले ठूला योजनासँगै नागरिकका दैनिक जीवनसँग जोडिएका साना बिषयलाई पनि प्राथमिकतामा राख्नुपर्छ। तिमिल्सिनाले परिवर्तनको अनुभूति भाषणमा होइन, नागरिकको दैनिक जीवनमा देखिनुपर्ने, सामान्य कामका लागि पनि दुःख र झन्झट बेहोर्नुपर्ने अवस्था अन्त्य गरी सेवा प्रवाह सहज, सरल र नागरिकमैत्री बनाउन सरकारको ध्यान जानुपर्ने कुरामा जोड दिएका छन।













