Play

नेपालमा पांच बर्षमा १ लाख ३० हजार सवारी दुर्घटना: करिब १३ हजारको मृत्यु, १ लाख ८७ हजार घाइते

गुरुकुल खबर


काठमाडौँ, देशभर पछिल्लो पाँच वर्षको अबधिमा भएका सवारी दुर्घटनामा परेर १२ हजार ९९४ जनाले ज्यान गुमाउनुका साथै १ लाख ८७ हजार १९८ जना घाइते भएका छन् । त्यस अबधिमा १ लाख २९ हजार ७४१ वाट सवारी दुर्घटना भएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ। नेपाल प्रहरीको उक्त तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा सवारी दुर्घटनामा परी मृत्यु र घाइते हुनेको कुल सङ्ख्या दुई लाखभन्दा बढी पुगेको छ ।

दुर्घटना न्यूनीकरणका लागि प्रविधिको प्रयोग, ट्राफिक निगरानी, जनचेतना र कानुनी कारबाहीका प्रयास भइरहे पनि सवारी दुर्घटनाको संख्या र मानवीय क्षति बढ्दै गएको देखिएको छ । पछिल्लो दुई बर्षमा देखिएको यस्तो अबस्थाले सडक सुरक्षा व्यवस्थापन, पूर्वाधार सुधार र कानुन कार्यान्वयनमा गम्भीर चुनौती बढेको देखाएको छ ।

पछिल्लो पांच बर्षको तथ्यांकलाई अध्ययन गर्दा अघिल्ला तीन आर्थिक वर्षमा दुर्घटनाको संख्या घट्दो क्रममा देखिए पनि पछिल्ला दुई वर्षमा भने दुर्घटनाको संख्या तीव्र रूपमा बढेको देखिएको छ । आव २०८१/८२ मा २८ हजार ६९२ दुर्घटनामा परेर दुई हजार ५४९ जनाको मृत्यु भएको थियो । आव २०८२/८३ मा दुर्घटनाको सङ्ख्या बढेर २९ हजार ९८८ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या दुई हजार ८०७ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता दीपशमशेर जबरा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि प्रहरी तथा सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने बताउँछन । उनका अनुसार यसमा सम्बन्धित मन्त्रालय, विभाग, यातायात क्षेत्र, स्थानीय तह र आमनागरिकको सामूहिक जिम्मेवारी आवश्यक छ । जबराले दुर्घटनाबाट भइरहेको मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि राष्ट्रियस्तरमै गम्भीर समीक्षा गरी एकीकृत रणनीति बनाउनुपर्ने आबश्यकत्मा जोड दिए ।

सवारी दुर्घटना बढ्नुमा चालकको लापर्बाही, तीव्र गति र ट्राफिक नियमको उल्लङ्घन प्रमुख कारणका रूपमा देखिएका छन् । मादक तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने, असुरक्षित ओभरटेक गर्ने, लेन अनुशासन पालना नगर्ने तथा लामो समयसम्म सवारी चलाउँदा हुने थकान र निद्राले दुर्घटनाको जोखिम बढाएको छ । मोबाइल फोन प्रयोग, क्षमताभन्दा बढी यात्रु राख्ने र जथाभाबी यात्रु चढाउने तथा ओराल्ने प्रवृत्तिले पनि जोखिम थपेको सरोकारवालाको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला चालकको लापर्बाहीसँगै सडकको कमजोर अवस्था र राज्यको नियमन प्रभावकारी नहुनुलाई दुर्घटनाको प्रमुख कारण मान्छन। साँघुरा सडक, जोखिमपूर्ण घुम्ती, खाल्टाखुल्टी, सडक, सङ्केतको अभाव र सडक छेउमा पर्याप्त सुरक्षा बार नहुँदा दुर्घटनाको जोखिम बढेको सिटौलाको भनाइ छ ।

“सवारीसाधन जथाभाबी सञ्चालन गर्न दिने तर नियमन र पूर्वाधार निर्माणमा पर्याप्त ध्यान नदिने प्रवृत्ति छ । विद्युतीय सवारीसाधन सञ्चालनको मापदण्ड, सडक सुरक्षाका बार, कुन सडकमा कुन प्रकारका सवारी चलाउने भन्ने व्यवस्था र दक्ष चालक उत्पादनमा राज्यको ध्यान पुग्नु पर्छ ।” उनले भने ।

सवारीसाधनको नियमित यान्त्रिक परीक्षण, क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोक्ने प्रवृत्ति र चालकको कार्यसमय व्यवस्थापनमा पनि कडाइ हुनुपर्ने उनले बताए । दुर्घटना न्यूनीकरणका लागि सरकारले नीतिगत व्यवस्था र प्रविधिको प्रयोग विस्तार गरेको जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार दुर्घटनाका कारण, न्यूनीकरणका उपाय तथा भावी कार्ययोजनासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ कार्यान्वयनमा ल्याइएको छ । दुर्घटनाग्रस्त क्षेत्र अर्थात् ‘ब्ल्याक स्पट’ पहिचान, नक्साङ्कन र जोखिमका आधारमा वर्गीकरण गरी प्राविधिक सुधारको योजना बनाउने काम भइरहेको छ।

त्यस्तै ट्राफिक सचेतना कार्यक्रम सञ्चालनसम्बन्धी मार्गनिर्देशन, २०८३ कार्यान्वयनमा ल्याइएको छ । लामो दुरीका सार्वजनिक यात्रुवाहक सवारीमा दुई जना चालकको व्यवस्था भए/नभएको अनुगमन गर्न ट्राफिक कम्युनिकेसन एप (टिसिए) अनिवार्य गरिएको छ । देशभरका ७७ जिल्लाका २२८ स्थानमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम लागु गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र सातै प्रदेशका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा लागुपदार्थ सेवन परीक्षण किट वितरण गरी जाँच गर्ने व्यवस्था गरिएको छ । सिसिटिभी, ट्राफिक सिग्नल र राडार गनको प्रयोग तथा तीव्र गति, मादक पदार्थ सेवन र लेन अनुशासन उल्लङ्घन गर्नेमाथि निगरानी र कारबाहीलाई पनि निरन्तरता दिइएको यातायात व्यवस्था विभागले जनाएको मित्र भण्डारीले गोरखापत्रमा लेखेको समाचारमा जनाईएको छ ।

२८ कार्तिक २०८३, शनिबार १३:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा