कतार, कास्की आदर्श समाज कतारको आयोजना तथा फेवा सांस्कृतिक परिवार कतारको सहकार्यमा नेपाली कला, संस्कृति, परम्परा तथा मौलिकताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको अवसरमा आयोजित देउसी–भैलो सांस्कृतिक कार्यक्रम–सम्पन्न भएको छ। उक्त कार्यक्रममा बिभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, कलाकार, पत्रकार तथा कस्केली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाली मौलिक कला, संस्कृति र परम्परालाई प्रवासको भूमिमा जीवन्त राख्दै नेपालीहरूबीच आपसी एकता, सद्भाव, भाइचारा तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रमको अध्यक्षता कास्की आदर्श समाज कतारका अध्यक्ष अमृत विश्वकर्माले गरेका थिए भने भने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थी प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यस अबसरमा बोल्दै उनले दोहामा क्रियाशील विभिन्न संस्थाहरूमध्ये कास्की आदर्श समाज कतारले आयोजना गर्ने कार्यक्रमहरू सकारात्मक सन्देश दिने र फरक पहिचान बोकेको हुने गरेको भन्दै खुसी व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका संरक्षकहरु विमल सुवेदी, आसबहादुर गुरुङ, मनप्रसाद रानामगर, रेशम बस्नेत, हेमबहादुर बिक (बिक्की) लगायत सहभागी थिए। यसैगरी संस्थाका प्रमुख सल्लाहकार तथा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव अग्निधर देवकोटा, अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व संयोजक प्रकाश विश्वकर्मा, सल्लाहकार सुरज रानाभाट तथा गण्डकी प्रदेश समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष कल्याण थापालगायत गण्डकी प्रदेश मातहतका जिल्ला तथा इकाई संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो संस्थाका मानार्थ सदस्य मोहम्मद अजिज अली, महेश तामाङ, समाजसेवी भेषराज पराजुली, रमेश पौडेल, तुलसीराम पाण्डेलगायतको पनि कार्यक्रममा सहभागिता रहेको बताइएको छ
कार्यक्रममा संस्थाका सचिव विष्णु तिमिल्सिना, कार्यक्रम संयोजक नयन शर्मा, संस्थाका प्रथम उपाध्यक्ष कृष्ण भण्डारीले कास्की समाजका बिबिध गतिबिधिबारेमा जानकारी गराएका थिए। कार्यक्रममा फेवा सांस्कृतिक परिवारका कार्यकम संयोजक नयन शर्माको संयोजनमा विविध नेपाली लोकगीत, लोकनृत्य, तथा तिहार विशेष देउसी–भैलो प्रस्तुत गरिएको थियो। कार्यक्रममा चर्चित गायिका रेश्मी सेञ्चुरी, रेशम बस्नेत, महेश तामाङ, देवी कँडेललगायत भरपूर मनोरञ्जन दिलाएका थिए। कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष अमृत विश्वकर्माले कार्यक्रममा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सबैमा आभार प्रकट गर्दै संकलित रकम संस्थाको उद्देश्य र प्रतिबद्धताअनुरूप सामाजिक सेवाका कार्यहरूमा पारदर्शी ढङ्गले सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।














