पोखरा, पोखराको पुरानो एअरपोर्ट नजिकै सडकको नालीमा आएको बर्षातको पानीको भेलले बगाउँदा एकै परिवारका आमा र छोरीको ज्यान गएको छ । शुक्रबार दिउँसोको बर्षापछि सडकमा आएको भेलले बगाएर पोखराको बिरौटा चोक नजिकबाट उद्वार गरिएका दुबैजनाको राति करिब १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ उक्त घटनामा परि मृत्यु हुनेमा २६ वर्षकी सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीका दाहाल रहेको छन। उनीहरु पोखरा महानगरपालिका वडा नम्बर ३० ढुंगेपाटनमा बस्दै आएको बुझिएको छ ।
सुष्माका श्रीमान कमल दाहालले शुक्रबार दिउँसो ग १३ प २८५९ नम्बरको स्कुटर चलाएर बिरौटाबाट पृथ्वीचोक तर्फ आउंदै गर्दा पुरानो एयरपोर्ट नजिक सडक किनारमा स्कुटररोकेर ओर्लने क्रममा छोरीलाई पानीले बगाएपछि छोरीलाई समात्न खोज्दा आमासमेत सोही भेलामा परेर बगेकी थिईन त्यसपछि दुवै जनालाई सडकको नालामा बगेको पानीले बगाउँदै बिरौटाचोक तल पुर्याएको थियो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सक्रियतामा उनीहरुलाई दिउँसो करिब साढे चारबजे बिरौटास्थित नहरको कुलोबाट उद्धार गरेर तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा सुष्माको शुक्रबार राति करिब साढे ९ बजे र उनकी छोरी रानीकाको शनिबार बिहान सवा १ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ।
उक्त घटनामा परि मृत्यु हुने दुबैको शरीरमा बाहिरी चोट नदेखिए पनि अस्पताल ल्याउँदा नै उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका थिए । उनीहरुले धेरै नै पानी खाइसकेका कारण अवस्था गम्भीर रहेको बताइएको छ । ‘सडकको नालीमा पानीको बहाव निकै ठूलो थियो, स्कुटरबाट झर्न खोज्दा उनीहरुलाई भेलले सन्तुलन गुमाउन पुग्यो र नालीमा खसालेर बगायो,’ उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भने।
यसअघि पनि पोखराका विभिन्न स्थानमा नालीले बगाएर मानिसहरुको ज्यान जाने गरेको छ । प्रहरी नायब उपरीक्षक सूर्य बहादुर बोगटीको टोलीले स्थानीयको सहयोगमा समयमै उद्धार गरी अस्पताल पुर्याए पनि आमा र छोरी दुवैलाई बचाउन सकिएन । । प्रहरीले वर्षाको समयमा सडकमा हिँड्दा र सवारी साधन रोक्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।














