पोखरा, टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको अरबिटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय स्कुटरको प्रस्तुत गरेको छ।
कम्पनीका अनुसार अरबिटरमा ३.१ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ, जसले १५८ किलोमिटरको आइडीएस रेन्ज प्रदान गर्छ। स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ तथा इको र पावर मोडजस्ता सुविधा उपलब्ध छन्।अरबिटरको प्रमुख विशेषतामध्ये १४ इन्चको फ्रन्ट ह्विल रहेको छ। कम्पनीले यसलाई उद्योगमै पहिलो १४ इन्च फ्रन्ट ह्विल भएको इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरेको छ। ठूलो अगाडिको पांग्राले विभिन्न सडक अवस्थामा स्थिरता, ग्रिप र ह्यान्डलिङ सुधार गर्ने कम्पनीको दाबी छ।
त्यस्तै, स्कुटरमा ३४ लिटरको अन्डर–सिट स्टोरेज उपलब्ध छ, जसमा दुईवटा हेल्मेटसमेत राख्न सकिने कम्पनीले जनाएको छ। ८४५ मिलिमिटर लामो फ्ल्याटफर्म सिट र २९० मिलिमिटरको स्ट्रेट–लाइन फुटबोर्डले चालक तथा पछाडि बस्ने यात्रुलाई पर्याप्त आराम र लेगरुम उपलब्ध गराउने बताइएको छ। प्रविधितर्फ अरबिटरमा कनेक्टेड मोबाइल एप, कल तथा एसएमएस अलर्टसहितको कलर एलसीडी डिजिटल क्लस्टर, टर्न–बाइ–टर्न नेभिगेसन र ओटीए अपडेटको सुविधा रहेको छ। मोबाइल एपमार्फत ब्याट्री चार्जको अवस्था तथा ओडोमिटरको विवरणसमेत टाढैबाट जाँच गर्न सकिने कम्पनीले जनाएको छ।
सुरक्षालाई पनि प्राथमिकता दिइएको अरबिटरमा दुर्घटना वा स्कुटर ढलेको अवस्थामा अलर्ट, चोरी तथा टोइङ अलर्ट, जियोफेन्सिङ, टाइमफेन्सिङ र लाइभ लोकेसन ट्र्याकिङजस्ता स्मार्ट सुरक्षा सुविधा समावेश छन्। स्कुटरमा १६९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, एलईडी हेडलाइट, एज–टु–एज कम्बिनेसन ल्याम्प र यूएसबी चार्जिङ पोर्टसमेत उपलब्ध छन्।
कार्यक्रममा स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले टीभीएस आईक्युबको सफलतापछि अरबिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज खरिद तथा स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको बताए।
त्यस्तै, जगदम्बा मोटर्सका नेसनल सेल्स हेड सुशान्त आचार्यले नेपाली ग्राहकको आवश्यकता तथा नेपालको विविध सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर अरबिटरको परीक्षण गरिएको बताए। उनका अनुसार स्कुटरमा आकर्षक डिजाइनसँगै प्रविधि, आराम, उपयोगिता र कार्यसम्पादनलाई प्राथमिकता दिइएको छ।
टीभीएस अरबिटर नेपालमा नियोन सनब्रस्ट, कस्मिक टिटानियम र मार्टिन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ। कम्पनीले अरबिटरको शुरुवाती मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। नयाँ मोडलको सार्वजनिकसँगै टीभीएसले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा आफ्नो उत्पादन पोर्टफोलियो थप विस्तार गरेको छ।















