पोखरा, कास्कीको पोखरा महानगरपालिका वडा नं. १८ का दिपेन्द्र तिमिल्सिनालाई अद्भुत र बहुमुल्य अर्थात अरबौं पर्ने क्रिष्टल भनेर १० लाख ठगि गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गत २०८२ फागुन २८ गतेको दिन उनीहरुले ‘अन्धकारमा प्रकाश दिएर उज्यालो बनाउने, पानीलाई जमाएरा डल्लो बनाउने तथा फुलको कोपिलालाई ढकमक्क फुलमा परिणत गर्ने अदभुत शक्तिशाली बहुमुल्य क्रिस्टल’ भनेर तिमिल्सिनालाई झुक्याएर १० लाख रुपैया लगेका थिए।
त्यसपछि फेरी यहि असार २८ गते तिमिल्सिनालाई सम्पर्क गरि उक्त क्रिस्टल बापत थप २० लाख रुपैया दिनुपर्ने र नदिएमा जे पनि हुनसक्ने भन्दै डरत्रास र धम्कि दिएपछि तिमिल्सिनाकै सुचनाको आधारमा प्रहरीले उक्त सामान बिक्रि गर्नेहरुलाई पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले गएराति करिब १ बजे पोखरा महानगरपालिका वडा नं. २६ कालिकास्थान छहारीबाट उक्त घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा म्यादीको मालिका गाउँपालिका- ४ स्थायी ठेगाना भई हाल कास्की जिल्ला पोखरा- २६ कालिकाचोक बस्ने बर्ष ५१ का डिल बहादुर बुढाथोकी, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २९ को दिपक गोतामेको साथै पोखरा – २८ बस्ने वर्ष ४५ का प्रेमचन्द बिश्वकर्मा, पर्वतको फलेवास नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३५ का राजन विश्वकर्मा, सोहि ठाउँ बस्ने २९ बर्षीय रोशनी सुनार र ७२ बर्षीय खैसरा सुनार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले लाम्चो आकारको टल्किने बस्तु १ थान, काठको फोल्डिङ बट्टा १ थान, चार्जर १ थान र मोबाइल ६ थान बरामद गरेको बुझिएको छ। उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा तीन दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ।
















