काठमाडौँ, आफ्नै शरीरमा आगो लगाएर शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैताका युवकको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। गोडैता नगरपालिका-१० सिसौटिया निवासी ३५ वर्षीय विवेक मण्डल शुक्रबार दिउँसो पौने ४ बजे आत्मदाहको प्रयास गरेका थिए।
उनलाई शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत् उपचारका लागि कीर्तिपुर, काठमाडौँ ल्याइएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले काठमाडौँमा भएको कुराकानी उधृत गर्दै भने, ‘आईसीयूमा राखेर उहाँको उपचार भइरहेको छ। अवस्था गम्भीर छ।’
विज्ञान विषयमा मास्टर्स (एमएस्सी) गरेका मण्डलको मानसिक अवस्था ठिक नभएको जानकारी परिवारका सदस्यले गराएका गौतमले बताए। उनलाई सुरुमा प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार गरिएको थियो। मलंगवामा उपचार सम्भव नभएपछि शुक्रबार साँझ थप उपचारका लागि काठमाडौँ ल्याइएको हो।
उनको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाका अनुसार एमएस्सी गरेका विवेक एक वर्षदेखि बेरोजगार थिए। आर्थिक अभावले केही समयदेखि उनी मानसिक समस्यामासमेत थिए।
एमएस्सीको पढाई पूरा गरेपछि उनले केही सयम मलंगवास्थित एक कलेजमासमेत पढाएका थिए। एक वर्षअघि नै कलेजबाट उनको जागिर छुटेको थियो। त्यस यता उनी बेरोजगार रहेको परिवारका सदस्यले बताएका छन्। आर्थिक अभावले उनमा मानसिक समस्या सुरु भएको वडाध्यक्ष वैद्यनाथ मण्डलले बताए।
















