काठमाडौँ, काठमाडौंको त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि उपचारको क्रममा उनको निधन भएलगत्तै अन्य दुईवटा त्यस्तै घटना सार्बजनिक भएका छन । काठमाडौँको बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन भने सर्लाहीको गोडैता नगरपालिकामा शुक्रबार साँझ स्थानीय बिबेक मण्डलले आत्मदाहको प्रयास गरेको छन।
गणेश नेपालीको निधन भैसकेको भएपनी उनको शब त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने राउतको काठमाडौँको बिर अस्पताल र मण्डलको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भैरहेपनि दुबैको अबस्था गम्भीर छ।
काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईका अनुसार शनिबार बिहान अन्दाजी सवा ६ बजे राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेको जानकारी दिए । आगलागी बाट जलेर घाइते भएका राउतलाई प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्याएको छ । चिकित्सकका अनुसार राउतको शरीर ५० प्रतिशत जलेको प्रहरी प्रवक्ता भट्टराईले बताए ।
राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको भट्टराईले बताए । उनले आत्मदाहको प्रयासको कारण भने नखुलेको जानकारी दिए । ‘कारण खुलेको छैन । श्रीमती र छोरासहित बस्नु हुँदो रहेछ । उहाँहरू घरमा भेटिनु भएन,छिमेकीका अनुसार हिजो (शुक्रबार) घाइतेको उनको आंफ्नो छोरासँग डिस्कस भएको बुझिएको एसपी भट्टराईले जानकारी दिए ।
यसैगरी सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था भने चिन्ताजनक रहेको बुझिएको छ । शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । उनलाई शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको थियो ।
मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिए । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ । ‘अवस्था क्रिटिकल छ । आईसीयूमा उपचार हुँदैछ । हिजो साढे ७ बजे ल्याएको हो’, निर्देशक नकर्मीले भने, ‘८५ प्रतिशत जलेको छ । सबै गहिरो छ ।’
२५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।
















