Play

पोखराको सेदिमा सफ्टवेयर कम्पनीको नाममा अनलाइन सट्टेबाजी (जुवा), करोडौंको कारोबार गर्ने आठजना पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाको वडा न. १८ मा पर्ने फेवातालको किनार नजिक सेदी क्षेत्रमा सफ्टवेयर कम्पनीको नाममा अनलाइन बाजी/ जुवा अर्थात अनलाइन सट्टेबाजी खेलाउने गरेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइन मार्फत सट्टेबाजी गराउँदै आएका उनीहरु भारतीय नेटवर्कमा आबद्ध रहेको र करोडौं रुपैयाँको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको  प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–१८ सेदीस्थित जीवन श्रेष्ठको घरमा अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन हुने गरेको भन्ने सूचनाका आधारमा शुक्रबार बिहान नेपाल प्रहरीको गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले उक्त स्थानमा छापा मारेको थियो । त्यसक्रममा पोखरा -१८ बस्ने दार्चुलाका ३१ वर्षीय दिनेशसिंह बोहराको साथै भारतको मानपुर घर भई पोखरा सेदी बस्दै आएका हर्ष उसरेटे, बिशाल चाउ, जमानसिंह तामार, विक्रान सिंह र अजितेश कुमार मिश्र रहेको प्रहरीले जनाएको छ । यसैगरी भारतीय नागरिक ३४ वर्षीय सत्यमसिंह पनि पक्राउ परेको र उनि खेलाउने मुख्य सञ्चालक रहेको प्रहरीको बुझाई छ।

छापा मारेको स्थानबाट प्रहरीले सात थान ल्यापटप, छ थान मनिटर, ३१ थान मोबाइल, नौ थान किबोर्ड, ३४ थान भारतीय सिमकार्ड, दुई थान राउटर, एक थान यूपीएस, एक थान १२ भोल्ट ब्याट्री, १६ थान चार्जर तथा अन्य विद्युतीय उपकरण बरामद गरेको जानकारी दिंदै कास्कीका प्रहरी प्रमुख एबम प्रहरी उपरिक्षक नबिन कार्कीले ती सामग्री अनलाइन सट्टेबाजी सञ्चालनमा प्रयोग हुँदै आएको बताए।

२०८२ चैत १८ गतेदेखि सात कोठाको घर भाडामा लिएर उक्त कार्य सञ्चालन हुँदै आएको अनुमान गरेको प्रहरीले टेलिग्राम र ह्वाट्सएपमार्फत ‘गुरुभाइ २४७ डट प्रो’ नामक लिंक पठाई ग्राहकलाई रकम जम्मा गराउन लगाउने, त्यसपछि दर्ता गरी क्रिकेट, फुटबल तथा क्यासिनोका खेलमा सट्टेबाजी गराउने गरिएको थियो । हारजितको हिसाबअनुसार जित्ने व्यक्तिलाई अनलाइनबाटै रकम भुक्तानी गर्ने गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेका कम्प्युटरमा हेर्दा फरक फरक हिसाब देखिएको कारण कारोबारको रकम एकिन गर्न नसकेको भएपनि कम्प्युटरमा एक करोड ११ लाख ९९ हजार ११८ रुपैयाँ, नौ करोड दुई लाख २२ हजार २६ रुपैयाँ र १० करोड ५५ लाख ६८ हजार ६९० रुपैयाँ बराबरको क्रेडिट कारोबार देखिएको कास्कीका प्रहरी उपरिक्षक कार्कीले गुरुकुल खबरलाई जानकारी दिए । करोडौंको कारोबार भएको देखिएपछि यसमा संगठित अन्तर्राष्ट्रिय सञ्जालको संलग्नता हुनसक्ने प्रहरीले आशंका गरेर सोहि अनुसारको अनुसन्धान शुरु गरेको छ ।

पक्राउ परेकाहरूको बयानका आधारमा गिरोहले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँ आम्दानी गर्ने गरेको खुलेको छ । उनीहरूले भारतीय बैंक खाता तथा डिजिटल वालेट प्रयोग गरी सम्पूर्ण आर्थिक कारोबार अनलाइनबाट सञ्चालन गर्दै आएका थिए । यो केन्द्र भारतीय नेटवर्कको २७औँ शाखाका रूपमा सञ्चालन भइरहेको र त्यहाँ काम गर्ने प्रत्येक व्यक्तिले मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानका क्रममा एक्सिस बैंक, आइडिएफसी बैंक, कनरा बैंक, तेलङ्गाना ग्रामीण बैंक, २४ पे, पे बजार, गुगल पे र नक्सन पेजस्ता बैंक तथा डिजिटल भुक्तानी प्रणाली प्रयोग भएको विवरणसमेत फेला परेको प्रहरीले जनाएको छ ।

२६ असार २०८३, शुक्रबार १९:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा