काठमाडौँ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राइड सेयरिङ श्रमिक गणेश नेपालीलाई सरकारले नै आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाएको आरोप लगाएको छ। संगठनका अध्यक्ष भीमज्वाला राईले शुक्रबार विज्ञप्ति जारी गर्दै ट्राफिक जरिवानाको नाममा यातायात श्रमिक तथा सडक प्रयोगकर्तामाथि हुने अभद्र व्यवहार, अत्याचार र चरम अपमानकै परिणामस्वरूप गणेश नेपालीले आत्मदाहको बाटो रोज्नुपरेको दाबी गरेका छन्।
विज्ञप्तिमा गरिखाने श्रमिकलाई आत्मदाहजस्तो पीडादायी कदम चाल्न बाध्य बनाउने अवस्था सिर्जना हुनु सरकारको गम्भीर असफलता भएको उल्लेख गरिएको छ। वर्तमान सरकारी संरचनाहरूले नागरिकप्रति संवेदनशील बन्नुको सट्टा दमनकारी भूमिका निर्वाह गरिरहेको आरोप पनि संगठनले लगाएको छ। ‘ट्राफिक जरिवानाको नाममा सडकमा आतंक सिर्जना गर्ने, श्रमिकलाई अपराधीसरह व्यवहार गर्ने र दण्डात्मक अभ्यासलाई प्राथमिकता दिने प्रवृत्तिले देशभरका करिब १३ लाख यातायात श्रमिक त्रसित बनेका छन्।’ संगठनले जारी गरेको बिज्ञप्तीमा भनिएको छ।

संगठनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा ट्राफिक जरिवाना र दण्डका नाममा हुने दमनकारी अभ्यास तत्काल रोक्न सरकारसँग माग गरेको छ। त्यस्तै, सरकारले ल्याउन लागेको जरिवाना वृद्धि समेटिएको सवारी तथा यातायात ऐन, २०८३ का श्रमिक प्रतिकूल प्रावधानहरू संशोधन गर्न पनि संगठनले आग्रह गरेको छ।
सार्वजनिक यातायात क्षेत्रमा सुरक्षित कार्य वातावरण, श्रमिकमैत्री नीति, सामाजिक सुरक्षाको सुनिश्चितता तथा सडकमा हुने दुर्व्यवहार र अपमानको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउँदै संगठनले बिभिन्न मागसमेत अघि सारेको छ।
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि नगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएर जरिवाना काटेपछि आफू निर्दोष रहेको दाबी गर्दै मोटरसाइकल फुकुवा गर्न आग्रह गरेका थिए। लामो समयसम्म मोटरसाइकल नछाडिएको भन्दै उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए। कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा शुक्रबार उनको निधन भएको थियो।

उच्चस्तरीय समिति गठन, घटनामा संलग्न ३ जना नगर प्रहरीलाई हिरासतमा
यसैबीच आत्मदाहको प्रयास गरी निधन भएका गणेश नेपालीको घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए। मन्त्री गुरुङले समितिलाई घटनाको सम्पूर्ण पाटोको गहिरो अध्ययन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको स्पष्ट पारे।
यसैगरी, घटनामा संलग्न रहेको आशंकामा काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुने भन्दै दोषी ठहरिने जो–कोहीलाई पनि कानुनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन्।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विल लक’ लगाइदिएपछि विवाद उत्पन्न भएको थियो। सोही क्रममा मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो।
















